PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​हिरासतबाट बाहिरिएको २४ घन्टामै गयो ज्यान, टिकबहादुरको मृत्यु भयो कसरी?



सविन ढकाल

​हिरासतबाट बाहिरिएको २४ घन्टामै गयो ज्यान, टिकबहादुरको मृत्यु भयो कसरी?

काठमाडौं : गत वैशाख २७ गते महानगरीय प्रहरी वृत्त वौद्धको फोन बज्यो। फोन चुच्चेपाटीका एक ग्यास व्यापारीको थियो।
'एकजना रक्सी खाएर झगडा गर्न आयो, समात्नुपर्‍यो।'

प्रहरी तत्काल घटना स्थलमा पुग्यो। ३९ वर्षीय टिकबहादुर राई अरुलाई दु:ख दिएको विषयमा पक्राउ परे। त्यसै साँझ वृत्तको कारागारमा रहेको शौचालयमा राई लडे।

'मुखबाट फिज निस्कन थाल्यो, हात खुट्टा कसिलो भयो,' बृतका प्रहरी नायब उपरीक्षक विपिन रेग्मीले सुनाए।

राईको हालत देखेपछि प्रहरी नै आत्तिए। प्रहरीले उनका आफन्त, परिवारको खोजी थाल्यो तर पत्त्तो लागेन। एकैछिनमा राई एकाएक आफै व्युतिए। जिम्मा लिन कोही नआएपछि राईले रात हिरासतको चिसो छिँडीमै बिताए।

राईकी पत्नी वैदेशिक रोजगारीमा गएकी रहिछिन्। एउटी छोरी सानिमासित बन्दै आएकाले राई एक अर्का साथीसँत कोठा लिएर बसेका रहेछन्।

साँझ ट्वाइलेटमा लडेका उनी फेरि २८ गते बिहान त्यस्तै गरी मुर्छित भए। केहीबेरमा पहिले जस्तै होस पनि आयो। २८ गते दिउँसो उनका साथी राहुल मगर उनलाई लिन आए। हिरासतभित्र एक जना थुनुवा कम भयो प्रहरीका लागि।

टिकबहादुर राईको कथा रक्सीको झोकमा ग्यास व्यापारीसँग झगडा, प्रहरीको चिसो भुईँमा रात बिताएपछि साथीसँगै लागेर कोठा पुगेपछि सकियो।

तर होइन। यो त सुरुवात थियो। घटनामा ट्विस्ट त्यतिखेर आयो जतिखेर उनको अप्रत्यासित मृत्यु भयो। प्रहरी वृत्तबाट फर्केको २४ घण्टा बित्न नपाउँदै उनले यो संसारबाट सधैंका लागि आँखा चिम्लिए।

टिकबहादुरका दाजु बलबहादुर प्रहरी चौकीमा पुगे। 'प्रहरीले कुटेर भाइ मार्‍यो' भन्दै उजुरी दिए बलबहादुरले। आफैँमाथिको उजुरी प्रहरीले दर्ता गरेन। भाइलाई प्रहरीले समातेर लगेको र छुटेको २४ घन्टा नबित्दै ज्यान गएको विषय शंकाको घेरामा हुनु स्वभाविक बन्यो बलबहादुरलाई। 
त्यसपछि बलबहादुर राईले वैशाख ३० गते मानव अधिकार आयोगको ढोका ढक्ढक्याए। 'प्रहरीले कुटपिट गरेर भाइ मारेको' भन्दै उजुरी दिए। रक्सीको होहल्लाबाट सुरु भएको घटना मृत्यु र हत्याका रुपमा तात्न थाल्यो।

राष्ट्रिय मानव अधिकार आयोगले घटनामा चासो देखाएपछि प्रहरीले छानविन टोली गठन गर्‍यो। प्रहरीले थु्नुवा र सेन्ट्रीसित बयान लिन थाल्यो। बयानका क्रममा सार्वजनिक मुद्दामा थुनिएका दावा शेर्पा, प्रकाश सुव्वा र केशव पुलामी मगरले राईलाई प्रहरीले कुटपिट गरेको बयान दिए।

राईले सेन्ट्रीलाई खबर नगरेकाले प्रहरीले जानकारी नभएको दावी गरेको छ। साथीलाई जिम्मा लगाएर पठाएको दावी गर्ने प्रहरीले कुटपिट गरेर उनको मृत्यु नभएको दलिल पेश गरेको छ।

कसरी भयो मृत्यु ?

राईलाई जिम्मा लिन पुगेका थिए उनका 'रुम मेट' राहुल मगर। 'चौकीबाट कोठामा गएपछि खाना बनाएर खायौं,' उनले भने, 'साँझतिर ढलेको आवाज आयो। हेर्न जाँदा त उनै रहेछन्।'

मगरले हत्त पत्त उनलाई ओम अस्पताल पुर्‍याए। ओमले काठमाडौं मेडिकल कलेज सिनामंगल रिफर गर्‍यो। अस्पतालको प्रयास असफल भयो र उनको मृत्यु भयो।

प्रहरी कुटपिटबाट उनको मृत्यु भएको मान्न तयार छैन। तर उनका दाजु प्रहरीको लापरवाही र कुटपिटले भाइको ज्यान गएको बताउँदैछन् र न्याय खोज्दैछन्।

घटनाको मानव अधिकार आयोग र महानगरीय प्रहरी परिसर काठमाडौंले घटनाको छानविन गरिरहेको छ। दुई निकायले निकाल्ने अनुसन्धान रिपोर्टले नै टिकबहादुरको मृत्यु कसरी भयो खुलाउनेछ। त्यतिन्जेल उनको मृत्यु कसरी भयो भन्ने प्रश्न अनुत्तरित नै रहनेछ। 
(प्रतीकात्मक फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell