
काठमाडौं : देशका बिभिन्न ठाउँमा भएका आगलागीबाट गएको मंसिरयता ७६ जनाको मृत्यु भएको छ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार मंसिरदेखि हालसम्म आगलागीबाट गुल्मीमा ९, हुम्लामा ५, मकवानपुरमा ४, बर्दियामा ४, सल्यान, रामेछाप, बाग्लुङ, कञ्चनपुर, प्युठानमा ३/३ जनाको मृत्यु भएको छ। त्यस्तै कपिलवस्तु, धादिङ, ताप्लेजुङ, झापा, कास्की, काठमाडौं, मोरङ, सिन्धुली, दाङ, दोलखा, रौतहट, चितवनमा २/२ जनाको मृत्यु भएको छ।
आगलागीबाट अछाम, अर्घाखाँची, बझाङ, जाजरकोट, सुर्खेत, पाँचथर, सुनसरी, कैलाली, सुर्खेत, तेह्रथुम, रोल्पा, डोटी, भक्तपुर, बारा र पर्सामा १ जनाको मृत्यु भएको गृहमन्त्री बस्नेतले मंगलबार संसदमा जानकारी दिएका छन्।
त्यस्तै आगलागीबाट १ सय १५ जना घाइते भएका छन्। भने ३ हजार ३४ वटा घर पूर्ण रुपमा क्षति भएको र २ हजार ६ सय १० परिवार घरबारबिहीन भएको गृहमन्त्री बस्नेतले जानकारी दिए।
सरकारले आगलागीबाट मृत्यु भएकाको परिवारलाई ४० हजार रुपैयाँ राहत दिएको छ भने घर पूर्ण क्षति भएकालाई ५ हजार रुपैयाँ दिएको छ। घाइते भएकाहरुको निशुल्क उपचार गरिएको गृहमन्त्री बस्नेतले जानकारी दिए। उनका अनुसार आगलागीबाट घरबार बिहीन भएका ३ हजार ३२ परिवारलाई २६ गेजको दुई वण्डल जस्तापाता किन्न ३ करोड ९१ लाख ५० हजार रुपैयाँ निकासा गरेको पनि बताए।
गृहमन्त्री बस्नेतले भौगोलिक विकटता र र उद्दार तथा नियन्त्रणको निम्ति आवश्यक सामग्री तथा जनशकित उपलब्ध हुनु अगावै आगलागी भएका कारण धेरै क्षति भएको दावी गरे।
त्यस्तै बाढीपहिरोबाट गएको वैशाखदेखि यताको डेढ महिनामा १७ जनाको मृत्यु भएको छ, ७ जना वेपत्ता भएका छन् भने २८ जना घाइते भएका छन्। गृहमन्त्री बस्नेतका अनुसार कालिकोटमा ५, बाजुरा, मकवानपुर र चितवनमा २/२ तथा रोल्पा, दैलेख, गुल्मी, सिन्धुली र संखुवासभामा पनि १/१ जनाको मृत्यु भएको छ। वैशाखदेखि यताको चट्याङ लागेर २८ जनाको मृत्यु भएको छ।
मनसुन सुरु भएसँगै बाढी पहिरोको प्रकोप बढ्न सक्ने भएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाको हेभी इक्वीपमेन्टहरु तयारी अवस्थामा राखेको मन्त्री बस्नेतले जानकारी दिए। उनले तत्काल उद्दार र राहतका लागि जिल्ला दैवीप्रकोप उद्दार समितिमा रकम पठाएको पनि बताए।