PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

चिया उद्योगी र किसानबीच बल्झियो विवाद, किसान भन्छन्- 'चियापत्तीको मूल्य तत्काल खोल'



पहिलोपोस्ट

चिया उद्योगी र किसानबीच बल्झियो विवाद, किसान भन्छन्- 'चियापत्तीको मूल्य तत्काल खोल'

बिर्तामोड : हरियो चियापत्तीको मूल्यको विषयलाई लिएर चिया उद्योगी र किसानबीचको विवाद बल्झिएको छ।
 
किसानहरुले २०७२ असोज, कात्तिक र मंसिरको हरियो चियापत्तीको मूल्य नेपाल चिया तथा कफी विकास बोर्डको निर्णयअनुसार पाउनुपर्ने र ०७२ फागुन महिनादेखि नखोलिएको चियापत्तीको मूल्य तत्काल खोल्नुपर्ने माग राखेका छन्।
 
बोर्डले गत वर्षको उक्त तीन महिनाको मूल्य क्रमशः रु. १२.८७, रु. ११.६५ र रु. १२.४७ निर्धारण गरेको थियो। बोर्डले १६ प्रतिशत गुणस्तर अर्थात् दुई पात एक सुइरोलाई आधार मानी हरियो चियापत्तीको मूल्य निर्धारण गरेको हो। बोर्डले निर्धारण गरेको मूल्य बिना आधारको रहेको भन्दै चिया उत्पादक संघले आपत्ति जनाउँदै आफूखुसी मूल्य निर्धारण गरेको बताइएको छ।
 
विवाद बढ्दै गएपछि मंगलबार झापाको बिर्तामोडमा राजनीतिक दलका प्रमुख र साना किसान झापाली चिया व्यवसायी संघका पदाधिकारीबीच छलफल भएको छ।

छलफलले हरियो चियापत्तीको मूल्य विवाद समाधानका लागि राजनीतिक दलका प्रमुखहरुको सुझावलाई मनन गर्दै सबै सरोकारवाला पक्षहरुबीच एक पक्षीय र बहुपक्षीय संवादमार्फत तत्काल निकास खोज्ने निर्णय गरेको छ। जसअनुसार उद्योगी, जिल्ला प्रशासन, चिया तथा कफी विकास बोर्ड, किसानका प्रतिनिधिसँग छलफल गरी समस्याको समाधान खोजिने बताइएको छ।
 
नेपाल चिया उत्पादक संघसँग भएको पूर्व सहमतिअनुसार आफूहरुले चियापत्तीको मूल्य नपाएको साना किसान झापाली चिया व्यवसायी संघको गुनासो छ। समस्या समाधानका लागि दुवै पक्षले तोकिएको मापदण्ड पूरा गर्दै सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।
 
स्थानीय शान्ति समिति झापाका संयोजक एवं सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेश, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजु आचार्य अग्निले पूर्वसहमति कार्यान्वयनमा दुवै पक्षलाई प्रतिबद्ध हुन आग्रह गरे। उनीहरुले नेपाल चिया तथा कफी विकास बोर्डको निर्णयअनुसार सहमति कार्यान्वयनमा अग्रसर हुन पनि उद्योगी तथा कृषकलाई आग्रह गरेका छन्। यद्यपि उद्योगी पक्षसँग पनि कुरा गरेर समतिको बिन्दु पहिल्याउनुपर्ने उनीहरुको सुझाव छ।
 
चिया कृषकको तर्फबाट संघका अध्यक्ष पूर्ण कार्की तथा प्रतिनिधिहरु भरत विमली, ईश्वरी दाहाल र सुदीप श्रेष्ठले कृषकका समस्या र माग राखेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell