PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

संसदमा पूर्व अर्थमन्त्री महतले दिए आफ्नै बजेटमाथि प्रष्टीकरण



पहिलोपोस्ट

संसदमा पूर्व अर्थमन्त्री महतले दिए आफ्नै बजेटमाथि प्रष्टीकरण

काठमाडौं : मंगलबारदेखि संसदमा सुरु भएको आर्थिक वर्ष २०७३/७४ को बजेटमाथिको छलफलमा पहिले बोल्ने पालो थियो  नेपाली कांग्रेसका सांसद एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतको।

अर्थमन्त्री विष्णु पौडेलले गत १५ गते संसदमा पेश गरेको बजेटबारे बोल्न २५ मिनेट समय पाएका महतले अधिकांश समय अघिल्लो वर्ष आफुले ल्याएको बजेटको बचाउमा खर्चिए।

हालका अर्थमन्त्री पौडेलले बजेट पेश गरेको भोलिपल्ट बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले यसवर्ष र अघिल्लो वर्षको बजेटसँग तुलना गर्दै महतको आलोचना गरेका थिए। महतको बजेटका विषयमा प्रश्न उठेपछि उनले रोष्टमबाट आफ्नै सांसदहरुलाई सम्झाउन समय खर्च गरे।

के भने महतले?

'तेरो बजेटमा किन हुन सकेन तर एमालेले ल्यायो भनेर संसदीय दलमा सोधियो', महतले आफूले स्पष्टिकरण दिनु पर्नाको कारणबारे खुलाए।
उनले अहिलेको सरकारले ल्याएका कार्यक्रमहरु विगतमा आफ्नो बजेटको निरन्तरता भएको दावी गरे। उनले यसवर्षको बजेटको कतिपय कार्यक्रममा आफ्नो पनि सहमति रहेको समेत खुलाए।

'सरकारले एमडी पढ्न छात्रवृत्ति दिने भन्यो, त्यो त पोहोरदेखि सुरु भएको हो', उनले आफ्नो बजेट हेर्न सांसदहरुलाई आग्रह गरे। उनले स्वास्थ्य बिमाको विषयमा पनि आफुलाई संसदीय दलमा प्रश्न गरिएको तर्क गर्दै आफ्नो बजेटबारे ध्यानाकर्षण गराए।

'अहिले बजेटमा २ बर्षमा स्वास्थ्य बिमा भनिएको छ। जबकी पोहोरको बजेट अनुसार ३ जिल्लामा सुरु नै भयो। आफ्नै साथीहरु भ्रममा पर्नुभयो', महतले हाँस्दै भने, 'मुटु, कलेजो, क्यान्सरलाई मात्र सहायता होइन, विगतमा अल्जाइमर र स्पाइनल इन्जुरीमा समेत सहयता दिने उल्लेख छ।'

उनले वर्तमान सरकारले २ बर्षमा लोडसेडिङ अन्त्य भनेको उल्लेख गर्दै आफ्नो बजेटमा तय गरिएको आयोजनाको प्राथमिकिकरणलाई यसपटक बजेटमा समेटिएको उल्लेख गरे।

त्यस्तै गत बर्ष पनि वृद्धभत्ता दोब्बर गरिएको उदाहरण दिए। 'वृद्धभत्ताको दुरुपयोग रोक्नुपर्‍यो, भ्रष्टाचार भएको छ, बरु त्यसमा संस्थागत रुपमा बलियो बनाएर जानुपर्छ। गाविस सचिवले ३ वटा गाविस हेर्ने अवस्था छ त्यो अन्त्य गर्नुपर्छ', महतले भने।

बजेटको आलोचना

पूर्व अर्थमन्त्री महतले राष्ट्रिय योजना आयोगले ८ सय ९ अर्बको सिलिङ तोकेकमा १ सय ४० अर्ब बढाएर बजेट ल्याएको प्रति आपत्ति प्रकट गरे। उनले मुलुकको प्रक्षेपण गरेको राजश्व आय भन्दा पनि साधारण खर्च ठूलो बनाइएकोमा पनि आलोचना गरे।

'६ सय १७ अर्ब साधारण खर्च छ। जबकी ५ सय ६५ अर्ब राजस्वको आय अनुमानित छ। राजस्व उठ्ने भन्दा साधारण खर्च नै ६०/६५ अर्ब बढी छ', महतले बजेटको आलोचना गर्दै भने, 'विकास खर्च कि त ऋणबाट कि त वैदेशिक सहयताबाट ल्याउनुपर्ने छ। यो बजेट आर्टिफिसियल्ली ठूलो छ। बजेटको ओरियन्टेसन उत्पादन र विकास तर्फ छैन।'

उनले बजेट अनुशासन हिन भएको तर्क गर्दै फिस्कल फ्रड गरिएको बताए। 'अहिले सरकारी ढुकुटीमा २ सय ९ अर्ब छ। तर बजेट खर्च नगरेर डेढ खर्ब बाँकी रहन सक्छ। यो बर्ष बाँकी राखेर अर्को बर्ष लैजान खोजिएको छ', महतको आरोप थियो।

हचुवा र रमाइलो

महतले बजेटमा कतिपय हचुवाका भरमा रमाइलोका लागि विषयहरु समेटिएको उल्लेख गर्दै 'सुनेको र जानेका' कुरा राखिएको बताए। 'अब सिपिङ कम्पनी खोल्ने भनेको छ। प्रशान्त महासागरमा झण्डाकै लागि मात्र हो कि व्यापारका लागि', उनले प्रश्न गरे, 'अध्ययन नै नगरी कानुन बनाउने कुरा छ। सुनेको भरमा गर्न भएन।'

उनले रसुवागढी काठमाडौं ट्रेन २ बर्षमा निर्माण सुरु हुन नसक्ने बताए। 'अध्ययन नै गर्न ३ बर्ष लाग्न सक्छ, चीन सरकारले डिपिआर गर्छु भनेको छ, सुरु २ बर्षमा गर्छु भन्दिएको छ', उनले बजेटमा तोकिएको समयमा प्रश्न गरे।

उनले बजेटमा १ बर्षमा तरकारीमा, २ बर्षमा चामल र मासुमा आत्मनिर्भर हुने भनेर राखिएको 'एम्बिसन' प्रति आश्चर्य प्रकट गरे।
'यो भयो भने म एक पटक, दुई पटक, दश पटक स्यालुट गर्छु', उनले अर्थमन्त्री पौडेललाई च्यालेन्ज दिए।

बजेटमा लुम्बिनीमा ५ हजार जना अट्ने सभा हल निर्माण गर्ने प्रस्तावमा समेत प्रश्न उठाए। 'प्रधानमन्त्रीले लुम्बिनी गएर भन्दिनुभयो। अर्थमन्त्री उतैको, बजेटमा राख्नुभयो', अब एक हजार जना अट्ने अन्तर्राष्ट्रिय हलमा हामी संसद बसेका छौं। संसद भवन छैन। सार्क कुन हालतमा सम्पन्न भयो', महतले सभाहलको विषय बजेटमा राख्नकै लागि मात्र राखिएको बताए। 'बनोस् शुभकामना छ, विरोध छैन तर काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खोई?', उनले प्रश्न गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell