PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘एक्लो नायक’पछि ‘प्रतिनायक’ पुस्तक निकालेका हरि अधिकारी भन्छन्- अब ‘खलनायक’!



फणीन्द्र संगम

‘एक्लो नायक’पछि ‘प्रतिनायक’ पुस्तक निकालेका हरि अधिकारी भन्छन्- अब ‘खलनायक’!

काठमाडौं : ‘खरा समीक्षक’का रुपमा चिनिएका हरि अधिकारीले दुई महिनाअघि उपन्यास निकाले- एक्लो नायक। कैयौं कृति पर्गेलेर निर्मम समीक्षा लेख्दै आएका अधिकारीको उपन्यासमा धेरैको चासो थियो- निरन्तर चर्चामा आएका समीक्षककै पुस्तकचाहिँ कस्तो होला!
 
तर प्रकाशनको हप्तादिन नबित्दै भाइ पुस्ताका समीक्षकले नै दपेट्न थालेपछि उनको समीक्षक व्यक्तित्वमाथि नै प्रश्न उठ्यो। नेपाली कांग्रेसका नेता अझ ‘सन्त नेता’का रुपमा चिनिएका कृष्णप्रसाद भट्टराईको जीवनीलाई केन्द्रमा राखिएको पुस्तकको ‘कन्टेन्ट’ सही भए पनि प्रस्तुतिमा चुकेको समीक्षकले ठहर गरे। तथ्यगत त्रुटिले पनि उपन्यास कमसल बनेको तिनको तर्क थियो। समीक्षक राजकुमार बानियाँले त ‘एक चर्चित लेखकको मामुली उपन्यास’भनेरै ठोकिदिए।
 
पछिल्लो समय समीक्षा लेखनबाट टाढिएका उनै हरि अधिकारीको कथा संग्रह ‘प्रतिनायक’ मंगलबार सार्वजनिक भएको छ।
 
‘नायक’ शब्दप्रति कस्तो मोह होला उनको? दुई महिनाअघि एक्लो नायक, अहिले प्रतिनायक!
 
भृकुटीमण्डपमा भइरहेको अन्तर्राष्ट्रिय पुस्तक मेलाका गरिएको विमोचन कार्यक्रममा अधिकारीले ठट्टा गरे, ‘नायकप्रति मेरो रुचि किन जाग्यो कुन्नि, के थाहा दुई-चार महिनापछि ‘खलनायक’ पो विमोचन हुने हो कि!’
 
सहभागीबीच हाँसो गुन्जियो।
 
तर, तिनै सहभागीहरुलाई केही बेरअघि लेखक/पत्रकार नारायण वाग्लेले गम्भीर बनाएका थिए। पुस्तकको टिप्पणीकारको भूमिकामा उभिएका उनले भनेका थिए, ‘बिना मोलाहिजा अरुको सातो टिप्न खप्पिस उहाँले आफ्नै पुस्तकमा चाहिँ मोलाहिजा गर्नुभयो कि जस्तो लागेको छ।’ एक्लो नायकलाई त उनले ‘अति भावुकतापूर्ण गाथा’को ट्याग नै झुन्ड्याइदिए।
 
कुनै समय सरकारी सेवाका क्रममा पुगेको मुस्ताङको चित्र सुन्दर तरिकारले आए पनि कथामा पात्रहरुलाई जीवन दिन नसकेको वाग्लेले बताए। ‘संवादमा खास चित्त बुझेन, यहाँ जीवनको फलक पनि साँघुरो छ,’ उनले भने, ‘उहाँले जसरी सिर्जनशील लेखन गरिरहनुभएको छ, तिनले शिल्प र धैर्यको अपेक्षा गरेका छन्।’
 

अधिकारीसँगको सान्निध्य र पत्रकारितामा प्रवेश


अधिकारीले केही महिनाअघि एक अनलाइनलाई दिएको अन्तर्वार्तामा वाग्लेलाई सुरुमा आफैंले काम दिएर ‘जनमञ्च’को रिपोर्टर बनाएको बताएका थिए।
 
झन्डै तीन दशकअघिको सम्झना जोड्दै वाग्लेले पनि आफू पत्रकारितामा आउनुमा अधिकारीसँगको सान्निध्य रहेको खुलासा गरे। अधिकारीको भनाइलाई उनैले पुष्टि गरे।
 
त्यस बेला फाट्टफुट्ट लेख्न थालेका वाग्ले र युयुत्सु आरडी शर्माबीच चिया गफकै बीचमा अधिकारीलाई भेट्न जाने कुरा भयो। ‘मलाई ठ्याक्कै सम्झना छ, १३ रुपैयाँ तिरेर ट्याक्सीमा गएका थियौं,’ वाग्ले २०४८ सालको कुनै दिनमा फर्किए, ‘साप्ताहिक जनमञ्चको अफिसमा पुग्यौं। हरि दाइ त कार्यकारी सम्पादकको कुर्सीमा हुनुहुँदो रहेछ।’
 
कुरैकुरामा उनले अधिकारीलाई सोधिहाले, ‘म अलिअलि लेख्छु, अब जनमञ्चमा पनि लेख्नुपर्‍यो। छाप्नुहुन्छ?’
 
‘हुन्छ, लेख्नुस्,’ तत्काल उनको प्रस्ताव पास भइहाल्यो। त्यसपछि वाग्लेले जे लेखेर बुझाए पनि जस्ताको तस्तै छापिन थाल्यो। उनको लेखन शैलीबाट प्रभावित भएका प्रधान सम्पादक मुकुन्द पराजुलीले जागिर नै दिने प्रस्ताव गरेपछि त वाग्ले खुसीसाथ तलबी पत्रकारको रुपमा नियुक्त भए। ‘त्यस बेला त महिना मर्नेबित्तिकै तलब पाइन्थ्यो- दुई हजार,’ उनले सम्झिए, ‘हरि दाइसँगको संक्षिप्त सान्निध्यले नै म पत्रकार बन्न पुगेँ।’
 
जनमञ्च छाडेपछि लामो समय यी दुईबीच ग्याप रह्यो। अर्कै मिडियामा आबद्ध भएपछि वाग्ले संसदीय मामिलासम्बन्धी रिपोर्टिङ गर्न थाले। संयोग पनि कस्तो- त्यही बेला अधिकारीको ‘संसदमा एक दिन’ नामको कविता संग्रह निस्कियो। ‘हाम्रो भेटघाट पातलो नै थियो,’ वाग्लेले पछिल्लो समय सम्झिए, ‘त्यस बेला समीक्षाको नांगो तरबार लिएर आउनुभएको थियो उहाँ, ‘मयुर टाइम्स’मा पनि तरबारको प्रहार नपर्ने कुरै भएन।’
 

प्रतिनायकका तीन कालखण्ड 


प्रतिनायकमा विभिन्न समयमा लेखिएका १५ वटा कथा छन्। सरसर्ती समीक्षा गर्दै अर्का वक्ता मोहनराज शर्माले यसभित्रका तीन कालखण्डबारे चर्चा गरे।
 
‘पञ्चायतकालमा लेख्नु सहज थिएन। तिब्बती शरणार्थीबारे उहाँले ‘शरणार्थी’ कथा लेखेर ठूलो साहस गर्नुभयो,’ शर्माले भने, ‘रामलाललको कथा’ र ‘विकुलाल’ त्यही समयको कथा हो।’ द्वन्द्वकालको आतंक, विस्फोट र सन्त्रासको अवस्थालाई पनि कथामा अटाएको भन्दै शर्माले लोकतन्त्र स्थापनापछिको विसंगतिलाई पनि मिहिन ढंगले लेखेको भन्दै पुस्तकको गहनताको प्रशंसा गरे।
 
पुस्तकमाथि बोल्दै अधिकारीका समकालीन लेखक ध्रुव सापकोटाले विषय, परिवेश र चरित्रचित्रणका हिसाबले कथामा नयाँ स्वाद पाइने बताए। ‘सामाजिक बेथिति र विसंगतिमाथि उहाँको कलम बढी चल्ने गरेको छ,’ उनले भने, ‘यी कथाले अन्धकारबाट उज्यालोतिर यात्राको संकेत गर्छन्।’
 
कहिले ‘मदन पुरस्कार पाउने किताब ८० प्रतिशत झुर हुन्छन्’ भनेर त कहिले ‘९५ प्रतिशत किताब घाँस-पराल हुन्छन्’ भनेर तर्क गर्ने अधिकारीको ‘प्रतिनायक’लाई शिखा बुक्सले पाठकको अदालतमा पठाइसकेको छ।

साहित्य शास्त्रको म्याथम्याटिक्समा माहिर यी खरा समीक्षकको नयाँ पुस्तकले कति अंक ल्याउला?

पाठक-समीक्षकले परख गर्ने नै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell