PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

नेविसंघका नेतालाई देउवाले भने, 'हाम्रो आलोचना नगर्नुस्, अधिवेशन जसरी पनि हुन्छ'



पहिलोपोस्ट

नेविसंघका नेतालाई देउवाले भने, 'हाम्रो आलोचना नगर्नुस्, अधिवेशन जसरी पनि हुन्छ'

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी  संघका नेता कार्यकर्तालाई पार्टी नेताको आलोचना छोडेर संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन्।

नेवि संघले ११औ महाधिवेशनका लागि  नीति तथा कार्यक्रम र विधानका विषयमा सुझावका लिन राखेको प्रशिक्षण कार्यक्रममा उनले नेताहरुलाई गाली गरेर केही नहुने भन्दै पहिले आफू नै बन्न सुझाव दिए। 

'म पनि नेविसंघको अध्यक्ष थिएँ, तीनपटकसम्म प्रधानमन्त्री बनिसकेँ,' देउवाले भने, 'अब हाम्रो आलोचना गरेर केही पनि हुँदैन तपाईंहरु बन्नुस्।'

उनले भोलिको देशको नेतृत्व भनेकै आजको नेविसंघ भएको भन्दै जिम्मेवार भएर संगठन गर्न सुझाव दिए।

'विद्यार्थीलाई जति आकर्षित गर्न सक्नुहुन्छ त्यति नै तपाईको भविष्य बलियो हुन्छ', देउवाले भने, 'नेपाललाई हाँक्न सक्ने नेतृत्व विकास गर्नुस्।'

उनले युवाका आवश्यकता  के हुन् भनेर बुझ्न प्रयत्न गर्न पनि सुझाव दिए। 'आजका युवाहरु के चाहन्छन् त्यो मैले भन्दा तपाईंलाई नै थाहा हुने कुरा हो त्यसलाई बुझेर अघि बढ्नुस्,' उनले भने।

 

नेविसंघ अधिवेशन कुनै हालतमा रोकिँदैन

सभापति शेरबहादुर देउवाले नेविसंघको अधिवेशन कुनै हालतमा नरोकिने बताए। अधिवेशन नहुँदा धेरै नेतृत्व जाममा परेको उनको भनाइ छ।

'अब नेविसंघको अधिवेशन कुनै हालतमा रोकिँदैन तपाई‌ंहरु तयारीमा लाग्नुहोस्,' देउवाले भने, 'आज नेविसंघमा ५० वर्षसम्म बस्ने अवस्था छ त्यसलाई चाँडो अन्त्य गर्नुपर्छ।'

कार्यक्रममा नेपालको संविधान र नेविसंघको झण्डा सगरमाथाको चुचुरोमा पुर्‍याएका अनिश लुइटेललाई सम्मान गरेका देउवाले नेविसंघलाई पनि राजनीतिक सगरमाथाको चुचुरोमा पुर्‍याउन सुझाव दिए।

'यत्रो सानो उमेरमा अनिश भाइले सगरमाथा चढे, हेर्दा उकालो पनि चढ्न नसक्लान् जस्ता देखिन्छन्,' उनले भने, 'अब नेविसंघलाई यस्तै सगरमाथा चढ्ने बनाउनुस् राजनीतिक सगरमाथाको चुचुरोमा पुर्‍याउनुस्।'

संसदमा जानु अघि बजेट 'लिक' भएको विरोधमा संसद अवरोधको नेतृत्व गरेर छानविन समिति गठन भएलगत्तै कार्यक्रममा पुगेका देउवा समसामयिक राजनीतिक विषयमा भने प्रवेश नै गरेनन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell