
काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा व्यापारिक अनि समीक्षाका आधारमा पनि टर्निङ पोइन्ट ल्याएको भनिएको चलचित्र 'लुट' को सिक्वेल 'लुट-२'को टिजर आज सार्वजनिक भएको छ।
फ्लोरमा जानुअघि नै फिल्म निर्माण टोलीले टिजर सार्वजनिक गरेको हो।
'टिजरले नै लुट-२ को फिल्मको 'थिम' प्रष्ट पार्छ,' निर्देशक निश्चल बस्नेतले भने, 'मेरो लागि लुटको सिक्वेल भनेको चुनौती हो। मैले लुटको लेभल र दर्शकहरुको अपेक्षा मिट गर्ने गरी काम गर्नुपर्छ।'
लुट-२मा लुटकै पात्रहरुको जीवन, अवस्था र त्यसपछिको उनीहरुको कथालाई निरन्तरता दिने निर्देशक बस्नेतले जानकारी दिए। उनले भने, 'दमदार कथा भेटेँ त्यसैले लुटकै सिक्वेल आँटे। फिल्ममा भूकम्प र नाकाबन्दीपछि नेपालीको अवस्था देखाउने प्रयास गरेको छु। अब सबैको आशा र आफ्नो जिम्मेवारी पूरा गर्न मेहनत गर्नुपर्छ।'
फिल्म यो हप्ता नै फ्लोरमा जाने र यो फागुनमा रिलिज हुने जानकारी दिइएको छ।
लुटको निर्माणमा भने एकपटक टुटेको टिम पुन: जुट्ने भएको छ। निर्माता माधव वाग्ले र नरेन्द्र महर्जनबीचको मनमुटावको हल्ला एकताका मिडियामा व्याप्त थियो। दुई जनासँगै काम नगर्ने घोषणानै गरे पनि लुट-२ लाई दुवै मिलेर निर्माण गर्दै छन्।
दुईबीचको झगडा र फेरि हुन लागेको युनियनबारे सोध्दा निर्माता माधव वाग्लेले भने, 'नरेन्द्र र म बच्चादेखिका साथी हौं। पहिले सानामा पनि झगडा हुन्थ्यो फेरि मिल्थ्यौं। अहिले पनि त्यही भएको हो। विचार मिलेन दुस्मन भयौं। मिलेर फेरी साथी भयौं र सँगै काम गर्न लागेका हौं।'
उनले यति भनिरहँदा नरेन्द्र भने फोनको बहानामा कार्यक्रम हलबाहिर निस्किएका थिए।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, कर्मा, विपीन कार्की, सुशीलराज पाण्डे लगायतको अभिनय रहनेछ।
कलाकार दयाहाङ राईले पनि फिल्मलाई आफ्नो जिम्मेवारीको रुपमा लिएका छन्। उनले भने, 'भूकम्प र नाकाबन्दीपछिको नयाँ माहोलले लुटका पुरानै पात्रहरुको सोच र अवस्थामा ल्याएको परिवर्तनलाई कथाले बोक्छ। पात्र र आम मान्छेको सोचमा फरक होला तर पनि जे घटना साँच्चै घट्छ त्यसैलाई फिल्ममा उतार्ने प्रयास हो।'