काठमाडौँ : विलियम सेक्सपियरको रोमियो एण्ड जुलियटमा आफ्नो प्रेमी रोमियोलाई जुलियट सोध्छिन् - नाममा के छ? के हामीले गुलाफलाई अरु नै नाम दियौँ भने त्यसको सुगन्धमा केही फरक पर्छ?
सेक्सपियरले नामले पहिचानमा फरक नपार्ने तर्क उपन्यासमा गरेका छन्।
तर नेपालको संसदमा मंगलबार बजेट छलफलका क्रममा नामको विषयलाई लिएर खुबै चर्चा भयो। सरकारले बजेटमा विभिन्न २२ जना नेताको नाममा स्थापित प्रतिष्ठानलाई ५० करोड बजेट छुट्याएसँगै यसको चर्चा सुरु भएको हो।
संसदमा पूर्व अर्थमन्त्री रामशरण महतले गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको नाम छुटाइएकोमा आपत्ति जनाए।
'कृष्णप्रसाद भट्टराईको नाममा विगतको बजेटमा नै आम सञ्चार प्रतिष्ठान निर्माणको व्यवस्था यसपटक हटाइएको छ', उनले आपत्ति प्रकट गरे।
तर उनले सरकारको आलोचना पनि गरे। 'नाम हेर्दा पार्टीको दस्तावेज कि राष्ट्रिय दस्तावेज जस्तो लाग्छ। तर यसरी नेताको नाम राख्दा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नाम छैन', उनले प्रश्न गरे, 'विश्वेश्वरप्रसाद कोइरालाको नाम दोश्रो नम्बरमा छ। पुष्पलाल र मदन भण्डारीको नाम हुनु उचित छ तर विपीलाई पुष्पलालले समेत वरिष्ठ मान्नु हुन्थ्यो, डिमोसन गरिएको छ।'
त्यसो त एक जना पूर्वमन्त्रीको नाम आफूले समेत विगतमा नसम्झिएकोमा महतले माफी मागे।
'म गल्ती स्वीकार गर्छु। तर हामीले स्मरण गर्नुपर्ने नाम सुवर्ण शमशेरको हो। उनी बजेट संसदमा पेश गर्ने पहिलो अर्थमन्त्री हुन्', महतले भने।
महतले जस्तै राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले पनि नेताको नाममा बजेट छुट्याइएको विषय संसदमा उठाए।
'जुन ढंगले नेताको नाममा ५० करोड दिइएको छ। यसले बाँडी खाने प्रणालीको सन्देश जान्छ। २२ नेताको व्यवस्थापन गर्न प्रतिष्ठानको नाममा ५० करोड दिनु उपयुक्त छैन, यसलाई खारेज गर्नुपर्छ', गिरीको भनाई थियो।
तर गिरी यो विषयको चर्चामा यहीँ रोकिएनन्। उनले पनि राख्नुपर्ने नेताहरुको नामको सूची नै सुनाए-'चन्द्रबहादुर गुरुङ जो यही संसदमा हुनुहुन्थ्यो, नाम छुटेको छ। २०४५ सालको नाकाबन्दी सामना गरेका मरिचमान सिंहको नाम छुटेको छ, पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको नाम छुटेको छ। त्यस्तै जनजातिमा पद्मसुन्दर लावती जस्ता विशिष्टलाई स्थान दिइएको छैन। उपयुक्त हो भने यसमा नाम समावेश गर्नुपर्छ। हैन भने यसको औचित्य र आवश्यकता छैन।'
त्यसो त एमाओवादी सांसद धनिराम पौडेलले पनि प्रधानमन्त्री कृषि कार्यक्रम नाम राखिएकोमा आपत्ति जनाए। उनले बरु यस्तो कार्यक्रमको नाम भिमदत्त पन्तको नाममा भएको भए उचित हुने तर्क गरे।
'कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो', भन्दै पन्तले किसान आन्दोलन सञ्चालन गरेका थिए।