PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सरकारी कर्मचारीको ट्रेड युनियन नेतृत्व चुन्न आज मतदान, सबै सरकारी कार्यालय बन्द



रासस

काठमाडौँ : निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि बुधबार बिहानदेखि मतदान हुँदैछ। प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाका अनुसार निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्र रहनेछ।

निर्वाचनमा एक हजार ६०३ कर्मचारी र एक हजार २१५ सुरक्षाकर्मी खटिनेछन्। कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन्। 

निर्वाचनमा माओवादी केन्द्रलाई समर्थन गर्ने नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाली का‍ंग्रेसलाई समर्थन गर्ने नेपाल निजामती कर्मचारी युनियन (मञ्च), एमालेलाई समर्थन गर्ने नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले उम्मेदवारी दिएका छन्। 

कांग्रेस समर्थित नेपाल निजामती कर्मचारी युनियन (मञ्च)का अध्यक्ष सुबोध घिमिरेले राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका अधिकांश पदाधिकारीसमेत आफ्नो पक्षमा आएकाले निर्वाचनपछि सबैभन्दा ठूलो सङ्गठन आफ्नो हुने जिकिर गरे। 

एमाले समर्थित नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष पुण्य ढकालले विश्वमै पहिलोपटक हुन लागेको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनबाट आफ्नो सङ्गठन एक नम्बर हुनेमा आश्वस्त रहेको धारणा राखे। 

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका अध्यक्ष हरि रावलले राष्ट्रिय कर्मचारी सङ्गठनले समेत आफ्नो सङ्गठनलाई समर्थन गरेकाले आफूहरुको पक्षमा लहर आएको टिप्पणी गरे। 

सरकारले निजामती कर्मचारीलाई बुधबार सार्वजनिक बिदा दिएकोले देशभरका सरकारी कार्यालयहरुमा काम हुने छैनन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell