PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या सात पुग्यो, १० जनाको उपचार हुँदै



रासस

पाँचथर :  जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा पाँचथरमा थप दुई जनाको मृत्यु भएको छ। एक जना सिकिस्त बिरामी भएका छन्। योसहित च्याउ खाएरै मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ।
 
पछिल्लोपटक मृत्यु हुनेमा थर्पु–६ बस्ने पुष्पलता माबो र फिदिम–३ जैसीडाँडा बस्ने ३५ वर्षका वसन्त राई छन्। माबोको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपरचारको क्रममा र राईको आज बिहान घरमै मृत्यु भएको हो। फिदिम–३ बस्ने निषेश राई भने सिकिस्त बिरामी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उनको थप उपचारका लागि धरान पठाइएको छ।
 
जेठ १० गतेदेखि हालसम्ममा सात जनाको मृत्यु भइसकेको छ भने १० जना बिरामी भएका छन्। यसअघि मृत्यु हुनेमा आङ्ना–१ बस्ने वीरेन्द्र माङ्लाककी छोरी पाँच वर्षीया सोनिका, १३ वर्षीया कविता, श्रीमती पदममाया, सोही ठाउँकै मनकुमारी माङ्लाक छन्। यसैगरी थर्पु–६ बस्ने धनबहादुर माबोकी छोरी ११ वर्षीया एलिजाको पनि मृत्यु भएको छ।
 
च्याउ खाएर बिरामी हुनेमा याङ्नाम–२ बस्ने टीकाराम मगर, राजेश मगर र गणेश मगर, थर्पु–६ का ५ वर्षीय प्रशन्त माबो, ८ वर्षीय सुरजना माबो, कुरुम्बा–४ बस्ने देवीकुमार लावती, कल्पना लावती, राजेन्द्र लावती, दीपेश लावती र दिनेश लावती रहेका छन्।

बिरामी हुनेको धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, झापाको आम्दा अस्पताल र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell