PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रधानमन्त्री कार्यालयको समेत गेट बन्द गरेर सरकारी कर्मचारी मतदानमा व्यस्त, हेर्नुस‍् १५ फोटो



रमेश वाग्ले

प्रधानमन्त्री कार्यालयको समेत गेट बन्द गरेर सरकारी कर्मचारी मतदानमा व्यस्त, हेर्नुस‍् १५ फोटो

काठमाडौँ : निजामति कर्मचारीहरु आज आफ्नो आधिकारिक कर्मचारी ट्रेड युनियनको नेतृत्व छान्नका लागि मतदानमा व्यस्त छन्। हिजो ढिला गरी गृह मन्त्रालयले सबै निजामति कर्मचारीहरुलाई सार्वजनिक विदा हुने घोषणा गरेको थियो। त्यो सूचना नपाई सरकारी कार्यालय जानेहरु आज रनभुल्लमा पर्नसक्छन् किनभने सिं‌हदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूलढोकासमेत आज बन्द छ।

गत चैत २८ का लागि घोषणा भएर दुई पटक सम्म सरेको चुनाव तेस्रो पटक घोषित मितिमै हुन लागेको हो।

काठमाडौमा उपत्यकामा मात्र ४५ वटा केन्द्रमा मतदान हुँदैछ भने हरेक जिल्लामा एक-एक मतदान केन्द्रमा मतदान हुँदैछ। काठमाडौ, भक्तपुर र ललितपुरमा एक-एक केन्द्रमा चुनाव हुँदैछ।

काठमाडौमा नेपाल औषधि लिमिटेडमा केन्द्र तोकिएको छ भने ललितपुरमा जिल्ला प्रशासनमा केन्द्र तोकिएको छ। भक्तपुरमा भने दुधपाटी केन्द्र तोकिएको छ। त्यसबाहेक हरेक मन्त्रालयमा र संवैधानिक निकायमा छुट्टै केन्द्र तोकिएका छन्।

समानुपातिक प्रणालीमा हुन लागेको चुनावमा बिना उम्मेद्वार छ वटा संगठन प्रतिस्पर्धामा छन्। निर्वाचनमा माओवादी केन्द्रलाई समर्थन गर्ने नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाली का‍ंग्रेसलाई समर्थन गर्ने नेपाल निजामती कर्मचारी युनियन (मञ्च), एमालेलाई समर्थन गर्ने नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले उम्मेदवारी दिएका छन्। 

सिंहदरबारभित्रका केही फोटो-























बिना उम्मेदवारको चुनाव

संगठनहरुले प्राप्त गर्ने मतका आधारमा पदहरु पनि प्राप्त हुने हुनाले समानुपातिक निर्वाचनमा बिना उम्मेद्वार संगठनहरु प्रतिस्पर्धामा छन्। पहिलो हुनेले अध्यक्ष र कोषाध्यक्ष,  दोस्रो हुने संगठनले महासचिव र तेस्रो हुने संगठनले उपाध्यक्ष र  चौथो हुनेलेसचिव पाउँछन्। पद पाउनका लागि कम्तिमा १० प्रतिशत मत भने ल्याउनै पर्छ। 

मत परिणामपछि निर्वाचन आयोगले 'तपाईले फलानो पद जित्नुभएको छ उम्मेद्वार दिनुस भनेर पत्र लेख्छ' र संगठनले कार्यसमितिको स्पस्ट बहुमतबाट निर्णय गरेर उम्मेद्वार दिन्छन्। तिनै संगठनले दिएका उम्मेद्वारलाई आयोगले विजयी घोषणा गर्दै प्रमाणपत्र वितरण गर्ने प्रमुख निर्वाचन आयुक्त गीताप्रसाद तिमिल्सिनाले बताए।

केन्द्रदेखि जिल्लासम्म ११ सदस्यीय कार्य समिति चयन हुन्छन्। केन्द्रमा संगठनहरुका केन्द्रीय समितिले र जिल्लामा जिल्लास्तरीय कार्यसमितिहरुले आफ्नो उम्मेद्वारको टुंगो लगाउँछन्।

यसअघि नामावलीमा रहेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीलाई समर्थन गर्ने नेपाल राष्ट्रसेवक कर्मचारी संगठनले भने नेकपा (माओवादी केन्द्र) लाई समर्थन गर्ने नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिलाई समर्थन दिएको छ।

रोचक पक्ष त के भएको छ भने कांग्रेसलाई समर्थन गर्ने नेपाल निजामति कर्मचारी युनियन(संघ)लाई एमाओवादीबाट अलग भएर नयाँ शक्ति गठन गरेका डाक्टर बाबुराम भट्टराईलाई समर्थन गर्ने कर्मचारीहरुले समर्थन गरेका छन्। उनीहरु औपचारिक रुपमा संगठित नभएपनि अनौपचारिक फोरमबाटै कांग्रेस निकटको युनियनलाई समर्थन गरेको हो।

राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र भने व्यक्तिगत आस्था र निकटताका आधारमा धेरैतिर बाँडिएको छ भने बाँकी रहेका कर्मचारीका तर्फबाट संगठन चुनावमा गएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell