PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

आफैँले खेलेको बंगलादेशी ए डिभिजन क्लबमा बालगोपाल प्रशिक्षक नियुक्त



पहिलोपोस्ट

आफैँले खेलेको बंगलादेशी ए डिभिजन क्लबमा बालगोपाल प्रशिक्षक नियुक्त

काठमाडौँ : नेपाली प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशी क्लबको प्रशिक्षण सम्हाल्ने भएका छन्। पूर्व राष्ट्रिय खेलाडी र प्रशिक्षकसमेत रहेका महर्जनलाई बंगलादेशी ए डिभिजन क्लब ब्रदर्स युनियनले आगामी एक सिजनका लागि प्रशिक्षकमा नियुक्त गरेको हो। 

महर्जनलाई युनियनले सुरुमा तीन महिनाको लागि सम्झौता गरेको छ। त्यसवापत उनले प्रत्येक महिना १५ सय डलर प्राप्त गर्नेछन्। 
ब्रदर्स युनियन महर्जनको पूर्व क्लब समेत हो, जहाँ उनले तीन सिजन बिताएका थिए। खेलाडी छँदा पनि महर्जनले बंगलादेशी क्लब ब्रदर्स युनियनमा सन् २००१ देखि २००३ सम्म व्यवसायिक फुटबल खेलेका थिए। 

महर्जनकै प्रशिक्षण कालमा नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि स्वरुप बंगलादेशमै बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो।
 
भर्खरै मात्र एएफसी ए लाइसेन्स कोर्स पूरा गरेका महर्जनले यसअघि सन् २०११ मा आई लिग चौथो डिभिजन छनोटका लागि भारतीय डेङजोङ ब्वाइज सम्हालेका थिए । 

ब्रदर्स युनियन बंगलादेशको ए डिभिजन फुटबल क्लब हो। महर्जन विदेशी ए डिभिजन क्लबको प्रशिक्षक बन्ने पहिलो नेपाली प्रशिक्षक समेत बनेका छन्।

पहिलो पटक नेपाली प्रशिक्षकले विदेशको उच्च लिगमा सम्हाल्ने जिम्मेवारी पाउँदा अवसरका साथै चुनौती पनि रहेको महर्जनले पहिलोपोस्टलाई बताए।

‘मैले राम्रो गरेको खण्डमा आगामी दिनमा अरुले पनि अवसर पाउँछन्, नेपाली प्रशिक्षकहरुले पनि मेहनत गर्नछ भन्ने मेरो विश्वास छ। यसले अन्य देशमा पनि नेपाली प्रशिक्षकको बारे जानकारी बढ्ने छ,’ उनले भने। 

ब्रदर्स युनियनमा रहँदा खाने, बस्ने लगायत सम्पूर्ण खर्च क्लबले नै बेहोर्ने महर्जनले जानकारी दिए। 

सन् १९४९ मा स्थापना भएको ब्रदर्स युनियनले १९७३ देखि फुटबलमा संलग्न भएको हो। १९७३ र ७४ मा थर्ड डिभिजन लिग खेलेको युनियन १९७५ मा सेकेण्ड डिभिजनमा बढुवा भयो र त्यही बेला सिजन च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा भएको हो। 

युनियनले २००४ मा पहिलो मुख्य उपाधि जितेको थियो भने अहिले बंगलादेशको व्यावसायिक फुटबल लिग बंगलादेशी प्रिमियर लिगमा खेलिरहेको छ। पछिल्लो पटक ब्रदर्स युनियन लिगमा पाँचौ भएको थियो।

फोटो : गिभमीगोल डट कमबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell