
काठमाडौँ : पूर्व अर्थमन्त्री एवम् कांग्रेस सांसद महेश आचार्यले अर्थतन्त्रमा नन परफर्मेन्सको अजिङ्गर देखा परेको टिप्पणी गरेका छन्।
बुधबार संसदमा आचार्यले बजेटको आकार बढे विकास हुने भ्रममा नेपालका अर्थमन्त्रीहरु पर्ने गरेको बताए।
‘१५ वर्षकै कम ० दशमलव ७७ प्रतिशत आर्थिक वृद्धिदर छ, उद्योग क्षेत्रमा वृद्धिदर ६ दशमलव ४ प्रतिशतले घटेको छ, मूल्य वृद्धिदर १० प्रतिशतले बढेको छ, निर्यात २५ प्रतिशतले घटेको छ, पुँजिगत खर्च गर्ने क्षमता घटेको छ। अर्थतन्त्रमा नन परफरमेन्सको अवस्था छ’, आचार्यले भने, ‘सर्पले भ्यागुतालाई खाँदा पनि भ्यागुताले झिंगा खान खोज्छ भनेजस्तो भएको छ।‘
उनले सरकारी, निजी क्षेत्र, सहकारी र गैर सरकारी संस्थाको सिप, दक्षता मनिटरी परफरमेन्सले मात्र आर्थिक वृद्धिदर हुन सक्नेतर्फ सचेत गराए।
आचार्यको दुई उदाहरण
आचार्यले २०५१ को मध्यावधि सरकारले बजेट संशोधन गरेर २ अर्ब ५८ करोडको बजेट ल्याउँदा आर्थिक वृद्धिदर ७ दशमलव ९ बाट घटेर २ दशमलव ८ मा पुगेको उदाहरण दिए।त्यस्तै २०६५/२०६६ का लागि अर्थमन्त्री बाबुराम भट्टराईले बजेट सार्वजनिक गर्ने क्रममा सर्प जस्तो घस्रने नभई भ्यागुता जस्तो उफ्रने आर्थिक वृद्धिदर हासिल गर्ने भन्दै बजेटको आकार बढाए पनि नकारात्मक परिणाम आएको उनको भनाई थियो।
उनले त्यतिबेला कूल खर्च २ खर्ब १९ अर्ब बढाइएको बताए।
‘मूल्यवृद्धि २ दशमलव ६ बाट एकैचोटी १२ दशमवल ६ प्रतिशत पुग्यो’, आचार्यले भने, ‘आर्थिक वृद्धिदर घस्रियो, मुल्यवृद्धिदर भ्यागुतो जस्तो उफ्रियो।‘
आचार्यले बजेटमा अहिले पनि पुँजिगत खर्च वृद्धि गरिएको भए पनि खर्च हुने अवस्था नरहेको बताए। ‘मूल्यवृद्धि आकासिने खतरा बढेर गएको छ’, आचार्यले भने, ‘बजेटको साधन स्रोत पनि पत्यारिलो छैन। वैदेशिक ऋण ५८ अर्बबाट १ सय ९५ अर्ब परिचालन गर्ने भनिएको छ, २ सय प्रतिशतभन्दा धेरै वृद्धि गरिएको छ।’
उनले बजेट मूल्यवृद्धि हुने भएकै कारण सामाजिक सुरक्षा भत्तामा गरिएको वृद्धिदर समेत निष्प्रभावी हुने बताए।
उनले पुँजीगत खर्चको नाममा कयौँ परियोजनामा प्रशासनिक खर्च मात्र हुने, गाडी किन्ने जस्ता काम हुने सम्भावना बढेको तर्क गरे।
रविन्द्र अधिकारीको जवाफ
आचार्य लगत्तै एमाले सांसद रविन्द्र अधिकारीले आचार्यलाई जवाफ फर्काए, ‘के आर्थिक वृद्धिदर ० दशमवल ७७ प्रतिशत छ भन्दैमा बजेट र कार्यक्रम पनि त्यही आकारको हुनु पर्थ्यो?’उनले यसअघिको सरकारले ल्याएको बजेटले किन दुई अंकको मूल्यवृद्धि गरायो भन्दै आचार्यलाई प्रतिप्रश्न गरे।
उनले बजेटले उत्तर दक्षिण राजमार्गको परिकल्पना गरेको उल्लेख गर्दै कनेक्टिभिटीले आर्थिक वृद्धि हुने दावी गरे।
अर्थशास्त्रीको आलोचना
एमाओवादीका सांसद सुरेन्द्रकुमार (राम) कार्कीले पनि आचार्यले अर्थशास्त्र नपढेका अर्थमन्त्रीलाई अर्थशास्त्र पढाउन खोजेको भन्दै आरोप लगाए। उनले आर्थिक वृद्धिदर कम रहेको विषयमा टिप्पणी गर्दै भने ‘पछिल्लो २४ वर्षमा १८ वर्ष अर्थ चलाउने कांग्रेस कति जिम्मेवार छ?’उनले अर्थशास्त्रीहरु झापाको व्यापारीको गोदाममा गहुँ हुँदा ढुक्क हुने गरेको उल्लेख गर्दै भने, ‘हामी जनताको घरमा छ कि छैन हेर्छौँ, साँझ तातो खाए कि खाएनन् हेर्छौँ।‘
कार्कीले बजेटको आलोचना गर्न समेत छुटाएनन्। उनले भने – नेपालमा किसानको अध्ययन गर्ने भनिएको छ। के अध्ययन गर्ने? जो दिनभरी काम गर्छ, जो आधा आङ कपडा लगाउँछ। कतिपय आधा पेट खान्छन्, उनीहरु किसान हुन्।‘
उनले उत्पादनको क्षेत्रमा बढी लगानी गर्नुपर्ने तर्क गरे।