PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'महिलालाई बेवास्ता गरिएको' भन्दै आयोजकमाथि लेखकहरुको आक्रोश, रोकियो साहित्यिक बहस



फणीन्द्र संगम

'महिलालाई बेवास्ता गरिएको' भन्दै आयोजकमाथि लेखकहरुको आक्रोश, रोकियो साहित्यिक बहस

काठमाडौं : 'अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी अरे! साहित्य र राजनीति सेसनमा एउटा पनि महिला वक्ता छैन! महिलालाई पुस्तक क्रेताको रुपमा त स्विकार गर्छन् होला। खै महिला साहित्यकारहरुलाई कस्तो लाग्यो तर मलाई कार्यक्रम तालिका हेर्दा आयोजकहरुको मानसिकता हेर्दा लाज लाग्यो!'
 
लेखक अर्चना थापाले बिहान फेसबुकमा पोस्ट गरेको स्टाटसले एकै छिनमा ठूलो तरंग ल्यायो। त्यो तरंग केवल भर्चुअल दुनियाँमा मात्रै सीमित रहेन, भृकुटीमण्डपसम्म पुग्यो। र, दुई बजे निर्धारित एउटा बहसको कार्यक्रम नै स्थगित हुन पुग्यो।


सोही कार्यक्रमलाई लक्षित गरी लेखक नयनराज पाण्डेले लेखे- ‘सोचनीय। लज्जास्पद। मलाई पनि यो प्रवृत्ति मन परेन।’ पाण्डे ‘नेपाली साहित्यमा पछिल्लो ट्रेन्ड’ विषयक उक्त बहस कार्यक्रमका वक्तासमेत तोकिएका थिए।
 
यसपछि कार्यक्रम आयोजना प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आफ्नाे धारणा व्यक्त गर्ने लेखकहरुको लर्को नै लाग्यो।
 
कवि सरिता तिवारीले त ‘कतिन्जेल आईमाई केटाकेटी? हामी मुन्छेमा गनिने कैले हो? साथी हो, मस्त पढम्, कस्सिएर लेखम्! खुलेर बोलम! अबको जुग हाम्रो हो। हामी कस्सिएर लागेपछि कसैले निषेध गरेर हाम्रो बाटो रोकिने छैन’ भन्दै स्टाटस लेखिन्।
 
लेखक साहित्यकारबीचको यही बहस र विवाद सामाजिक  सञ्जालमा तातेपछि आयोजक फिनिक्स बुक्सका गौतम राईले ‘गल्ती औंल्याइँदिने सबैप्रति आभारी छौं' भन्दै नियतवश/प्रवृत्तिवश नगरिएको गल्तीलाई सच्याउनुपर्छ’ भन्दै फेसबुकबाटै स्पष्टीकरण दिए र जानकारी गराए- ‘भृकुटीमण्डपमा जारी पुस्तक प्रदर्शनीमा हुने भनिएको आज १९ गतेको कार्यक्रम स्थगित गरिएको छ।’
 
आजको कार्यक्रम रोकिए पनि बिहीबारदेखि सबै कार्यक्रम तालिकाअनुसार नै हुने उनले बताए।
 

कसरी उठ्यो विवाद?

जेठ १४ गतेदेखि भृकुटीमण्डपमा २०औं अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी चलिरहेको छ, जुन २२ गते सकिँदै छ। तर पुस्तक बिक्रेता र प्रकाशक यसपालि सन्तुष्ट छैनन्। अघिल्ला वर्षको तुलनामा प्रदर्शनीमा आउने पुस्तकप्रेमीको संख्या निकै कम रहेको तिनको गुनासो छ।
 
फाट्टफुट्ट पुस्तक विमोचनका कार्यक्रम भए पनि विविध विषयमा हुने विचार-विमर्श र बहसका कार्यक्रम पोहोरझैं आयोजना गरिएको थिएन। दुई दिनअघि मात्रै फिनिक्स बुक्सले २०औं अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको सहयोगमा भन्दै चार दिनको तालिकासहित बहसका कार्यक्रम सार्वजनिक गर्‍यो। ६ वटा विभिन्न सेसनका लागि निर्धारित २५ जना वक्ता-सहजकर्ता (केही दोहोरिएका पनि छन्) मध्ये एक जनामात्र महिला छिन्- अभिनेत्री ऋचा शर्मा।

अन्तर्राष्ट्रिय भनिएको पुस्तक मेलामा हुने बहस कार्यक्रममा महिलाको सहभागिताप्रति बेवास्ता भएको भन्दै लेखकहरुको असन्तुष्टि आयोजकप्रति पोखिएको हो।
 
‘महिला सहभागिताबारे किन बेवास्ता गर्नुभएको?’ पहिलोपोस्टको प्रश्नमा आयोजक फिनिक्स बुक्सका गौतम राई भन्छन्, ‘हतारमा कार्यक्रम तय गर्नुपर्दा केही त्रुटि भएका छन्, तर यसलाई सच्याएर जानुपर्छ भन्नुको साटो केही मित्रहरु प्रहारमै उत्रिनुभएको छ।’
 
प्रदर्शनीमा आउने पुस्तक क्रेता र दर्शकहरुको संख्या अत्यन्त कम रहेको र प्रकाशक-बिक्रेताबाट गुनासो आएकैले बहस कार्यक्रमको योजना बनाइएको उनको भनाइ छ। ‘यस्तो कार्यक्रमले कम्तीमा पनि माहोल बढ्छ र दर्शक थपिन्छन् भन्ने हाम्रो अपेक्षा थियो,’ उनी भन्छन्, ‘महिलालाई निषेध नै गर्ने हाम्रो मनसाय पनि होइन। तर जुन बहस सुरु भयो यो सही मुद्दाचाहिँ हुँदै हो।’
 
कार्यक्रम तालिका सार्वजनिक गर्नुअघि नै महिला लेखकलाई आग्रह गरे पनि धेरैजसोले व्यस्तता र हतारमा तय गरिएको भन्दै आउन नमानेको उनी दाबी गर्छन्।
 
सामाजिक सञ्जालमा भइरहेको बहसमा ‘जय हो पुरुषवाद’ भन्दै उपस्थिति जनाएकी कवि शकुन्तला जोशी त लिस्टमा महिला नपर्नु नै लज्जास्पद भएको बताउँछिन्। ‘सामान्य कार्यक्रमका आयोजकले पनि महिलालाई राम्रै ठाउँ दिएका हुन्छन्,’ उनी भन्छिन्, ‘पुस्तक किन्न जाने महिलालाई चाहिँ उहाँहरु स्वागत गर्नुहुन्छ तर कार्यक्रमका लागि स्पेस दिनुहुन्न।’
 
काम गर्ने क्रममा त्रुटि हुने गरे पनि यत्रो प्रतिक्रिया आउनुअघि नै सोचेको भए आयोजकलाई फाइदा पुग्ने उनको भनाइ छ।

लेखक अर्चना थापालाई फोन सम्पर्क गर्दा उनको मोबाइल अफ थियो।

सहभागिताको बहस

महिलाको समान सहभागिताबारे बहस उठ्न थालेको लामै समय भइसक्यो। सार्वजनिक कार्यक्रममा मात्र होइन पत्रपत्रिका र पुस्तकमा पनि उनीहरु आफ्नो सहभागिताको अपेक्षा गरिरहेका छन्।
 
तीन महिनाअघि त लेखक मञ्जुश्री थापाले पत्रकार दीपक सापकोटालाई ट्वीटरमा प्रश्न गरेकी थिइन्- '४८ लेखकमा कति जना महिला परेछन्?'
सापकोटाले सम्पादन गरेको निबन्धकृति ‘निर्बन्ध मोन्टाज’ भित्र जम्मा चार जनामात्र महिलाको निबन्ध रहेको प्रति संकेत गर्दै थापाले प्रश्न उठाएकी थिइन्। 'दर्जन बढी महिलाका निबन्ध प्राप्त थिए। प्राप्तमध्ये ४ छाप्नयोग्य ठानियो,’ सापकोटाले जवाफ लेखे, ‘भनिसकियो किताबमा समावेशिता मुख्य शर्त थिएन।’
 
आफू हरेक क्षेत्रमा महिला सहभागिता हुनुपर्छ भन्ने पक्षमा रहे पनि उत्कृष्टताको आधारमा चार महिला मात्र परेको उनको तर्क छ। ‘महिलासँग मागिएको पनि हो र थुप्रै निबन्ध पनि आएको हो,’ उनी भन्छन्, ‘क्वालिटी नै नभएको झ्यास निबन्ध किन छाप्ने?
 
पुस्तक मेलामै भेटिएका लेखक हरि अधिकारीले भने अलि फरक धारणा राखे। ‘आरक्षणमै विवाद छ’ भन्दै कुरा सुरु गरेका उनले आफ्नो मुद्दालाई अघि बढाउन महिलाले पुरुषलाई निषेध गर्न नहुने बताए। ‘यो गल्तीलाई सच्याएर कार्यक्रम गर्न सकिन्थ्यो,’ अधिकारी भन्छन्, ‘छलफल गरेरै समाधान खोज्नुको साटो यति ठूलो बबण्डर गरिरहनु आवश्यक थिएन।’
 
नेपाली लेखनमा ‘गनिने खालका’ महिला लेखक एउटा पनि नआएको तर्क गरेका उनले संख्यामात्र ठूलो नभई क्षमता विकासको बहसलाई अघि बढाउनुपर्ने धारणा राखे।
 
‘कुनै बेला उनीहरुले महिला वक्ता, महिला सहजकर्ता र महिला नै सहभागी गराएर कार्यक्रम गराए भने पुरुषलाई किन बोलाइएन भनेर हामी कराउने?’ उनले भने, ‘एउटा कार्यक्रम रोकिँदैमा आकाश खस्नेवाला छैन। कमजोरी सच्याएर पुन: महिलाहरुलाई बोलाएर अरु कार्यक्रम गरे त सिद्धिहाल्यो।’
 

कसले के लेखे?

कार्यक्रममा महिला वक्तालाई स्थान नदिएको भन्दै आयोजकप्रति खनिएका केही लेखक-साहित्यकारले सामाजिक सञ्जालमा यस्तो लेखे-




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell