PahiloPost

Oct 19, 2025 | ३ कात्तिक २०८२

​ट्रयाक्टर दुर्घटनामा स्कुले किशोरसहित पाँच जनाको मृत्यु



रासस

काठमाडौं : ओखलढुङ्गाको फुलबारी गाविसमा आज दिउँसो ट्रयाक्टर दुर्घटना हुँदा चार स्कुले किशोरसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
 
स्वास्थ चौकीको सामान लिएर चिप्लेघोडाखरीबाट बिलन्दु जाँदै गरेको ना५त २५१२ नम्बरको ट्रयाक्टर फुलबारी गाविस–५ मा दुर्घटना हुँदा खोटाङ च्यास्मिटार–५ का ३५ वर्षीय हिरीबहादुर राई, ओखलढुङ्गा बिलन्दु गाविस–५ का १५ वर्षीय विष्णु बराल, सोही ठाउँका १५ वर्षीय मिलन घिमिरे, १५ वर्षीय अमिर घिमिरे र फुलबारी गाविस–५ का १४ वर्षीय मनिष खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक टीका कार्कीले जानकारी दिए।
 
उनका अनुसार मृतकमध्ये चार जना स्थानीय ज्ञानप्रकाश उच्चमावि चिप्लेघोडाखरीका विद्यार्थी रहेका छन्। उनीहरु उक्त ट्याक्टरमा विद्यालयबाट घर फर्कंदै थिए।
 
दुर्घटनामा परी फुलबारी–४ का ट्रयाक्टर सहचालक २० वर्षीय प्रेम थापा गम्भीर घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरी निरीक्षक कार्कीले बताए। दुर्घटनापछि चालक फरार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell