काठमाडौं : सर्लाहीको हरिवन बजारमा गएराति बसको ठक्करबाट स्वाभिमान अस्पतालका सेक्युरिटी गार्ड गोपाल थापा मगरको मृत्यु भएको छ।
राति १० बजे ना ५ ख ५८३३ नम्बरको बसको ठक्करबाट हरिवन बजारमा रहेको सो अस्पतालमा कार्यरत हरिवन-९ का ४० वर्षीय मगरको ज्यान गएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ। ठक्करबाट घाइते उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। ठक्कर दिने बस चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ।
यस्तै अछाममा भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। हिजो साँझ से १ त ६१२५ नम्बरको ट्रयाक्टर अछामको मङ्गलसेन-४ कैलाश खोला नजिकै अनियन्त्रित भई पल्टँदा सो दुर्घटना भएको हो।
ट्रयाक्टरमा सवार साँफेबजार-९ का ४० वर्षीय एकराज भुल र साँफेबजार-११ का १७ वर्षीय सरोज कुवँरको मृत्यु भएको छ भने चालक सहित चार जना घाइते भएका छन्। भुलको घटनास्थलमै र कुवँरको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो। घाइते चालक सहित अन्यको सोही अस्पतालमै उपचार भइरहेको छ।