
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले ८ महिनाअघि आफैँले निलम्बन गरेको तीन उपाध्यक्ष र एक सदस्यलाई पुनर्बहाली गरेको छ।
अदालतमा मुद्दा चल्दासम्म आनाकानी गर्दै आएको एन्फाले फिफाको निर्देशन भने लत्याउन सकेन र चार पदाधिकारीलाई पुनर्बहाली गर्न बाध्य भएको हो। लगातार तीन बैठकमा अनुपस्थित भएका तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले आर्थिक अनियमितता गरेको र संस्था एकलौटी ढंगले चलाएको भन्दै ती पदाधिकारीले आरोप लगाएका थिए। विभिन्न निकायमा उजुरी दर्ता गरेको भन्दै २०७२ असोज ११ गते एन्फाले उनीहरुलाई बर्खास्त गरेको थियो।
तर २०७३ वैशाख २७ गते फिफाले एन्फालाई पत्र पठाई चार पदाधिकारीलाई पुनर्बहाली गर्न र चाँडै साधारणसभा गरी रिक्त रहेको अध्यक्ष पदमा चुनाव गर्न निर्देशन दियो। त्यसैअनुसार एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजय नारायण मानन्धर, किरण राई र सदस्य पंकज विक्रम नेम्वाङलाई पुरानै पदमा पुनर्बहाली गर्ने निर्णय गरेको हो।
चार पदाधिकारीलाई पुनर्बहाली गर्नुअघि एन्फाले उनीहरुको स्थानमा नियुक्त भएका तीन उपाध्यक्ष मणि कुँवर, सन्तोष बानियाँ र वीरबहादुर खड्का तथा सदस्य अरुणमान जोशीको राजीनामा स्विकृत गरेको थियो। निलम्बन भएका पदाधिकारीको स्थानमा एन्फाले यी चार जनालाई नियुक्त गरेको थियो।
एन्फाले अब सन्तोषलाई मानार्थ उपाध्यक्ष, अरुणलाई मानार्थ सदस्य तथा कुँवर वीरबहादुरलाई सहायक सचिवमा मनोनित गरेको छ। पुरानै पदाधिकारीलाई पुनर्बहाली गरेपछि यसबारे फिफालाई जानकारी गराएको एन्फाको प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले पहिलोपोस्टलाई बताए। यस्तै पुनरावेदन अदालतमा चलेको मुद्दा सहजीकरण गरिदिन एन्फाले पुनर्बहाली गरेका पदाधिकारीसँग आग्रह गरेको छ।
‘अब उक्त चार पदाधिकारी सहितको बैठक बसेपछि साधारणसभा र नयाँ निर्वाचनबारे छलफल गरेर टुङ्गो लगाइनेछ, जसका लागि कम्तीमा तीन हप्ता लाग्नेछ,’ तुलाधरले भने। यदl त्यति बेलासम्म फिफाबाट नयाँ निर्देशन आए आफुहरु सोहीअनुसार अगाडि बढ्ने पनि उनले बताए।
अबको नयाँ अध्यक्ष को होला त भन्ने जिज्ञासामा तुलाधरले भने, ‘हामी कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठलाई नै बाँकी कार्यकालका लागि सर्वसम्मत उम्मेदवार बनाउन चाहन्छौं, आशा छ अरुले पनि यसमा साथ दिनुहुनेछ।’ त्यसो नभएको खण्डमा निर्वाचन विकल्प हुने उनी बताउँछन्। अध्यक्षमात्रै वा उपाध्यक्षको पनि निर्वाचन गर्ने भन्नेबारे पुनर्विचार गर्नुपर्ने उनले बताए।
पुनर्बहालीको स्वागत
यता पुनर्बहाली गर्ने निर्णयलाई आफूहरुले स्वागत गरेको र सर्वप्रथम पुनर्बहाली प्रक्रियालाई सम्पन्न गर्नुपर्ने कर्मा छिरिङ शेर्पाको भनाइ छ।‘एन्फाबाट पुनर्बहाली पत्र प्राप्त भएपछि त्यसलाई अदालतमा पेस गरी मुद्दा फिर्ता लिने कार्यक्रम अगाडि बढाउनेछौं,’ शेर्पाले भने।
बैठक बस्नुअघि अगाडिका एजेन्डाहरुमा छलफल गर्नु जरुरी रहेको उनले बताए। त्यसपछि मात्र एन्फा पदाधिकारी बैठक बसेर साधारणसभा, निर्वाचन लगायतका कुरामा छलफल गर्न सकिने शेर्पाको भनाइ छ। तर फिफाले निर्देशन दिइसकेकाले अध्यक्षको निर्वाचन हुनैपर्नेमा शेर्पाले जोड दिए।
एन्फाले जेठ २९ गतेबाट पूर्व कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा यु १८ प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ। उक्त प्रतियोगितामा ए डिभिजनका क्लब तथा राष्ट्रिय लिग खेलेका मोफसलका क्लबहरुको युवा टीमलाई समावेश गराइने उल्लेख छ। साथै जेठ २९ गते एन्फा परिसरमा श्रेष्ठको अर्धकदको सालिक स्थापना गरिने पनि एन्फाले निर्णय गरेको छ।
फोटो सौजन्य: एन्फा