PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

क्यान्सरपीडित पत्रकार शर्माको निधन



पहिलोपोस्ट

क्यान्सरपीडित पत्रकार शर्माको निधन

काठमाडौं : ब्लड क्यान्सरबाट पीडित नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष शालिकराम शर्माको उपचारमा क्रममा आज बिहान निधन भएको छ।
 
भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनको बिहान ४ बजे निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
 
त्यसअघि पशुपति आर्यघाटमा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले महासंघको झण्डा ओढाएर शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सल्यान क्षेत्र नं २ का सांसद प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोखरेल, नेकपा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापा, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष गोविन्द आचार्य लगायत पत्रकारिता सम्वद्ध संघसंस्थाका प्रमुख, महासंघका पदाधिकारी तथा सदस्यहरू र सञ्चारकर्मीहरुले पनि श्रद्धाञ्जली व्यक्त गरे।
 
आजै एक शोक विज्ञप्ति निकाल्दै नेपाल पत्रकार महासंघले शर्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ।
 
२०१९ कात्तिक १६ गते प्युठानको तुसारामा जन्मिएका शर्माले सल्यानलाई कर्मथलो बनाई पत्रकारिता गर्दै आएका थिए। २०४० सालदेखि पत्रकारितामा सक्रिय उनले ०४६ सालको राजनीतिक परिवर्तनपछि रेडियो नेपालको सम्वाददाता र सल्यानबाट पहिलो पत्रिका सल्यानी सन्देश प्रकाशन गरेका थिए। हाल उनी सोही पत्रिकाको प्रधानसम्पादकको जिम्मेवारीमा थिए।
 
शर्माका आमा, श्रीमती र तीन छोरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell