PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रधानमन्त्रीले भने- 'पद छाड भनेर हप्काउँदै र तर्साउन खोज्दैमा हट्दिनँ'



रासस

प्रधानमन्त्रीले भने- 'पद छाड भनेर हप्काउँदै र तर्साउन खोज्दैमा हट्दिनँ'

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताएका छन्। 

“अहिले मलाई प्रधानमन्त्री पद छाड्नुपर्‍यो भनेर हप्काउने र तर्साउने काम गरिँदै छ, यो मलाई स्वीकार्य छैन, हप्काई र तर्साइबाट तर्सिने मेरो स्वभाव होइन,”  आजदेखि सुरु भएको दुई दिने नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने।

प्रधानमन्त्री ओलीले आफूले प्रम पद छाड्दा देश र जनताको भलो हुन्छ, समस्या एकाएक सबै हल हुन्छन् भने आफूलाई कुर्सीमोह नभएको पनि उनले बताए। 

"म जन्मदा प्रम नै भएर नजन्मेको र मर्दा पनि प्रमपद लिएर जाने होइन, देश र जनताको सेवा गरेका कारण प्रम भएको हुँ, अहिले मलाई कमाउनु छैन, भ्रष्टाचार पनि गर्नुछैन, देश बनाउने समय पाएको छु, जतिदिन प्रम हुन्छु २४ सै घन्टा देश विकासमा लाग्छु," उनले भने। 

प्रम ओलीले आफू अति अप्ठ्यारो अवस्थामा प्रम पद सम्हालेको चर्चा गर्दै तराईको आन्दोलन सेलाउँदै गएको र आर्थिक समृद्धिको बाटोमा मुलुक लम्किन लागेको बताए। 

'तराईको आन्दोलन सेलाइसक्यो'

नयाँ संविधानप्रति असन्तुष्टि राखी तराई मधेस केन्द्रित दलले जारी राखेको आन्दोलनप्रति इङ्गित गर्दै प्रम ओलीले सडकमा तमासा नदेखाउन र केही असन्तुष्टि भए वार्तामा आउन ती दललाई आग्रह गरे। उनले भने “तराईको आन्दोलन सेलाइसकेको छ, मैले तातिसकेको भाँडोलाई विस्तारै सेलाउने काम गरेँ, भारतीय गतिरोध पनि अन्त्य भएको छ ।” 

'काँध फेर्ने कुुरा नगर' 

प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग सत्ता हस्तान्तरणसम्बन्धी कुनै सहमति नभएको बताए। बजेटपछि सरकारको नेतृत्व फेर्ने भद्र सहमति भएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बताइरहँदा उनले यस्तो बताएका हुन्। 

उनले प्रश्न गरे, “सत्ता हस्तान्तरणसम्बन्धी तीनबुँदे सहमति कहाँ भयो ? लौन मलाई देखाइदिनुस् । मैले त माओवादीसँग नौबुँदे सहमति मात्र गरेको हुँ । म ती पक्षलाई आग्रह गर्छु, काँध फर्ने कुरा नगर्नुहोस्, केपी ओलीको काँध थाकेको छैन।” 

'बजेट छरेकै हो' 

प्रधानमन्त्री ओलीले विनियोजन शब्दको अर्थ छर्नु भएको बताए। "पैसा पोको पारेर कहाँ विकास हुन्छ ? शिक्षा, स्वास्थ्य, ग्रामीण पूर्वाधार, यातायात जस्ता क्षेत्रमा छरे पो विकास हुन्छ, यही विकासका लागि पैसा छरेको हो", उनले भने। 

प्रम ओलीले सिंहदरबारमा पैसा पोको पारेर राखेर देश विकास नहुने भन्दै चर्चा गर्दै लगानी गरे पो प्रतिफल आउँछ भने। 

विगतका सरकार तरकारी बारीका बुँख्याचा 

प्रधानमन्त्री ओलीले विगतका सरकारलाई तरकारी बारीको बुँख्याचाको सङ्ज्ञा दिँदै सामाजिक लोक कल्याणकारीमा लगानी गर्न डराएको आरोप लगाए। “बूढाबूढीका योगदानका कारण देश अहिलेको अवस्थामा आइपुगेको हो, त्यसैले उनीहरुलाई दिइने भत्ता बढाइदिएको हुँ” उनले भने। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell