काठमाडौँ : नेकपा माओवादी केन्द्रले अर्को कीर्तिमान राखेको छ। आज बसेको पोलिटब्युरो बैठकले १ हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ। त्यसमा एक सय जनाको स्थान भने रिक्त राखिएको प्रवक्ता पम्फा भुसालले बताइन्।
त्यस्तै माओवादीले २५५ सदस्यीय पोलिटब्युरो कमिटी र ८५ जनाको सचिवालय समिति बनाएको छ। बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थायी समिति ७५ सदस्यीय बनाउने निर्णय गरेको थियो ।
पार्टी एकता प्रक्रियामा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी र नयाँ शक्ति अभियानको ठूलो हिस्सा समावेश हुने भन्दै महाधिवेशन आयोजक समितिमा थप एक सय सदस्य खाली राखिएको माओवादीले जनाएको छ।
‘‘सबै विचार तथा समूहलाई जिम्मेवारी दिएर जनताको तहसम्म पु¥याउनका लागि महाधिवेशन आयोजक समिति ठूलो बनाइएको हो । पार्टी सङ्गठन विस्तार गर्नका लागि मात्रै ठूलो बनाइएको हो । समिति महाधिवेशनसम्मका लागि हो । महाधिवेशनमा अध्यक्षदेखि सबै सदस्य निर्वाचित हुनुपर्ने भएकाले हाल ठूलो वा सानो हुनुले केही प्रभाव पार्दैन’’ – प्रवक्ता भुसालले भनिन्।
बैठकमा केही नेताले भने महाधिवेशन आयोजक समिति ठूलो बनाउन नहुने धारणा राखेका थिए। उनीहरुले सङ्गठनात्मक संरचना ठूलो बनाउँदा काम गर्न समस्या पर्ने भन्दै चुस्त र दुरुस्त बनाउन आग्रह गरेका थिए।
बैठकले देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम चलाउने र पार्टीको एकता प्रक्रियालाई जनस्तरसम्म पुर्याएउने निर्णयसमेत गरेको छ। सोही निर्णयअनुसार आज प्रदेश नं ३ को प्रशिक्षण कार्यक्रम राखिएको छ। राससको सहयोगमा