PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

राजस्व र विदेशी सहायता अनुमान उचित : गोकर्ण विष्ट, एमाओवादी भन्छ- बजेटमा प्रादेशिक सन्तुलन मिलेन



पहिलोपोस्ट

राजस्व र विदेशी सहायता अनुमान उचित : गोकर्ण विष्ट, एमाओवादी भन्छ- बजेटमा प्रादेशिक सन्तुलन मिलेन

काठमाडौँ : राजस्वको लक्ष्यभन्दा चालु खर्च बढी रहेको बजेटको नेपाली कांग्रेससहित सत्तारुढ दलले आलोचना गरिरहँदा एमाले सचिवसमेत रहेका सांसद गोकर्ण बिष्ट बिहीबार बजेटको कडा प्रतिरक्षामा उत्रिए।

तथ्यांकसहित संसदको रोस्टममा उक्लिएका बिष्टले भने, '६९/७० भन्दा ७०/७१ मा २१ प्रतिशतले राजस्व वृद्धि भएको थियो। अहिले २२ प्रतिशत वृद्धि हुने अपेक्षा गर्नु कसरी जायज होइन?'
 
अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गरेको बजेटमा ५ खर्ब ६५ अर्बको राजस्व लक्ष्य राखिएको छ। बजेटमा चालु खर्चको शीर्षकमा नै ६ खर्ब १७ अर्ब छुट्याइएको छ।

बिष्टले वैदेशिक ऋणको अपेक्षा धेरै गरिएको भन्ने आरोपको समेत खण्डन गरे। बजेटमा ३ खर्ब बराबरको वैदेशिक सहायताको लक्ष्य राखिएको प्रति कांग्रेसले आलोचना गर्दै आएको छ।

संसद बैठकमा कांग्रेस सांसद प्रकाशशरण महतले विदेशी सहायता अहिले पनि अनुमानभन्दा कम आएको अवस्थामा ठूलो लक्ष्य राखिएको टिप्पणी गरे।

'हामीले विदेशी सहायता तीन गुणा बढाउने लक्ष्य राखेका छौं। विदेशी सहायतामै विकास निर्माण गर्छौँ भनेका छौँ। तर त्यसमा चाहिने म्याचिङ फण्ड कहाँबाट राख्नुहुन्छ?' महतले प्रश्न गरेका थिए।

तर बिष्टले बजेटको बचाउ गर्दै वैदेशिक सहायताको अनुमान ठूलो नभएको तर्क गरे। उनले अहिले ७१ प्रतिशत आन्तरिक स्रोत २९ प्रतिशत वैदेशिक सहयताबाट आउने आँकलन गरिनु जायज रहेको बताए।

'सन् २००९ र २०१० मा २७ प्रतिशतको वैदेशिक सहायता अनुमान गरेको थियो। सन् २००८ र २००९ मा २ खर्ब ३६ अर्ब बजेटमध्ये ६६ अर्ब अर्थात् २८ प्रतिशत वैदेशिक सहयता प्रस्ताव अनुमान गरिएको रहेछ', बिष्टले भने, 'विगतमा २८ प्रतिशतले वैदेशिक सहयताको अनुमान गरिएको थियो भने यसपटक २९ प्रतिशतले अनुमान गर्ने कुरा असम्भव देखिँदैन।'

६ दशमवल ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यसमेत सही रहेको दाबी गरेका बिष्टले ६ दशमवल ५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपणमा निराशाजनक ढंगले कुरा राखिएको भन्दै उनले बेखुसी प्रकट गरे।

'अहिले शून्य दशमलव ७७ रहँदा कसरी ६ दशमवल ५ भनिरहनुभएको छ? तर चीनको ६ दशमवल ५ र भारतको ७ दशमवल ५ प्रतिशत छ। सन् २०२२ मा अति कम विकसित राष्ट्रबाट अल्पविकसित राष्ट्रमा फड्को मार्ने लक्ष्य राख्दा यो असम्भव हुन सक्दैन', बिष्टले भने, 'सन् २००८ मा नेपालकै अर्थतन्त्र ५ दशमवल ३ प्रतिशतले वृद्धि भएको छ।  मनुसनमा सुधार, पुनर्निर्माणमा तीव्रता र समयमा आएको बजेटको अख्तियारी लगायतका प्रक्रिया समयमा सम्पन्न भए ६ दशमवल ५ प्रतिशत आर्थिक वृद्धि विल्कुल सम्भव छ।'

उनले पुनर्निर्माणमा २ लाख रोजगारी प्रदान गर्ने अवस्था रहेको दाबीसमेत गरेका छन्।

एमाओवादीका सांसद जनार्दन शर्माले भने बजेटमा क्षेत्रीय असन्तुलन भएको धारणा राखे। कर्णाली क्षेत्रको आवाजलाई बजेटले सम्बोधन नगरिएको भन्दै उनले असन्तुष्टि जनाए।

'विगतमा नुवाकोट केन्द्र भयो। त्यसो हो भने कर्णालीका मानिसलाई रुपन्देही र झापामा बसाइँ सराइ गरियोस्। नत्र विवेकपूर्ण क्षेत्रीय सन्तुलनबिनाको बजेट काम छैन', उनले प्रश्न गरे, 'पछिपरेको ठाउँमा क्षतिपूर्तिसमेत छैन। योजनाको नाम पनि नलिने? एउटा हाइड्रो पावरको नाम लिन किन सकिँदैन?’

लक्ष्य राम्रो भए पनि बजेटमा प्रादेशिक सन्तुलन नभएको भन्दै उनले असन्तुष्टि राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell