काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हकअधिकार प्राप्तिका लागि दलित समुदायले गर्दै आएको आन्दोलन महत्त्वपूर्ण रहेको बताएका छन्।
लामो कालखण्डदेखि दलितहरु ज्ञान, शिक्षा, चेतना र साधनस्रोतबाट वञ्चित हुनुका साथै हारको जिन्दगी व्यहोरेर आएको भन्दै ओलीले राजनीतिक हक–अधिकार प्राप्तिको आन्दोलनमा समेत दलित समुदायको त्याग र बलिदान महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस दिवसले जातीय भेदभाव तथा छुवाछूत अन्त्यको सामाजिक जागरण सिर्जना गर्न प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
‘जातीय छुवाछूतको युगीन दासत्व र अन्यायमा बाँचेका नेपालका दलित समुदायका सम्बन्धमा राज्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धिहरूमा हस्ताक्षर गरी जातीय भेदभाव तथा छुवाछूत हटाउने प्रतिबद्धता जाहेर गरेको म यस अवसरमा स्मरण गर्न चाहन्छु,’ प्रधानमन्त्रीले दिएको सन्देशमा उल्लेख छ।
संविधानले सबै जातजाति, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गरेको भन्दै प्रधानमन्त्रीले राज्यले जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने विषय संविधानको प्रस्तावनामा नै उल्लेख गरेको स्मरण गरेका छन्।
२०६३ साल जेठ २१ गते सरकारले जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो। हरेक वर्षको जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस रुपमा मनाउने गरिन्छ।