युरो कप जेठ २८ गते देखि फ्रान्समा सुरु हुँदैछ। छनोट भएका २४ देशका हरेक खेलाडीको सपना हुन्छ, युरो कपको उपाधि जित्ने। तर सबै खेलाडी यो गौरवको हकदार हुन सक्दैनन्। कोही खेलाडी यस्ता पनि हुन्छन्, जो युरो कप अगाडि नै चर्चामा छन् र प्रतियोगितामा चम्किन सक्ने खेलाडीका रुपमा चिनिएका छन्।
युरोमा चम्कन सक्ने २१ वर्ष मुनिका खेलाडी

रेनाटो सान्चेज (पोर्चुगल)
पोर्चुगलका यी युवा खेलाडी भर्खर १८ वर्षका मात्र भए। मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने सान्चेजले पोर्चुगलका लागि ३ खेल मात्र खेलेका भएपनि वेनफिकालाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले आँखा लगाएपनि सान्चेज २८ मिलियन पाउण्डमा जर्मन क्लब वायर्न म्युनिखमा आवद्ध भएका छन्। उनी पोर्चुगलका सबैभन्दा कान्छा खेलाडी हुन्।

ब्रिल इम्बोलो (स्विजरल्याण्ड)
इटालियन फरवार्ड मारियो बालाटेलीलाई आफ्नो आदर्श मान्ने इम्बोलो फरवार्ड पोजिसनबाट खेल्ने गर्छन्। १९ वर्षे उनी घरेलु क्लब बासेलबाट खेल्ने गर्छन्। उनले बास्लका लागि ८६ खेलमा ३० गोल गरिसकेका छन्। स्विट्जरल्याण्डका तर्फबाट इम्बोलोको खेल हेर्न लायक हुनेछ।
किंग्सले कोमन (फ्रान्स)
१९ वर्षे किंग्सले कोमन युवा समयमै तीन फरक राष्ट्रको मुख्य लिग जितिसकेका छन्। पेरिस सेन्ट जर्मेनबाट लिग वान, युभेन्ट्स बाट सिरी ए र वायर्न मयुनिख बाट जर्मन बुण्डेसलिगाको उपाधि जितिसकेका छन्। उनी युभेन्ट्सबाटै लोनमा म्युनिख गएका हुन्। विङ्सबाट खेल्ने कोमनलाई वर्तमान समयमा युरोपकै उत्कृष्ट युवा खेलाडीको रुपमा हेरिएको छ।

मार्कुस रासफोर्ड (इंगल्याण्ड)
७ महिनाअघि म्यानचेष्टर युनाइटेडको युथ टीमबाट खेल्ने रासफोर्डको परिचय अहिले फेरिएको छ। १८ वर्षे रासफोर्ड इंगल्याण्डमा अहिले सबैभन्दा बढी कुरा गरिने खेलाडीमा पर्छन्। म्यानचेष्टरका लागि १८ खेलमा ८ गोल गरेका उनी रोए हड्शनको नजरमा पर्न सफल भएका हुन्। वायन रोनी, जेमी भार्डी, ह्यारी केन जस्ता फरवार्ड लाइन भएको इंगल्याण्डको लागि राशफोर्डले खेल्ने मौका पाए त्यो हेर्न लायक हुनेछ। उनी इंगल्याण्डका लागि डेब्यु खेलमै गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी समेत बनेका छन्।

डिभोक ओरिगी (बेल्जियम)
२१ वर्षे ओरिगी इंग्लिस कलब लिभरपुलबाट खेल्दै आएका छन्। गत सिजन दोस्रो हाफमा उनले लिभरपुलका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। तर चोटका कारण अन्तिम महिना भने उनले खेल्न सकेनन् र सेभिया विरुद्धको युरो लिग फाइनल गुमाएको थिए। बेल्जियमका लागि ओरिगीले १६ खेल खेलिसकेका छन्।

जोर्डन लुकाकु (बेल्जियम)
रोमेलु लुकाकुका भाइ हुन २१ वर्षीय जोर्ड लुकाकु। ओस्टेण्डेबाट लेफ्ट ब्याकमा खेल्ने लुकाकुले गत वर्ष बेल्जियमबाट युरो छनोटमा डेब्यु गरेका गरेका थिए। उनलाई रोमेलु खेलिरहेको इंग्लिस कलब एभरटनले किन्ने प्रयास गरिरहेको छ।

इम्रे मोर (टर्की)
ओजन तुफानलाई टर्कीको चम्किला खेलाडीको रुपमा हेरिएको छ तर यदी मोरले फ्रान्समा खेल्न पाए उनको खेल हेर्न लायक हुने अपेक्षा गरिएको छ। डेनिस क्लब नोर्डजालेण्डबाट लिग फुटबल खेल्ने उनको खेल उत्कृष्ट रहँदै आएको छ। विङ्सबाट खेल्ने मोरलाई इंग्लिस क्लब म्यानचेष्टर सिटीले आँखा लगाउँदै आएको छ।

हेक्टर बेलेरिन (स्पेन)
फ्रान्समा हुने युरोका लागि चम्किन सक्ने अर्का डिफेन्डर हुन बेलेरिन। २१ वर्षे बेलेरिनलाई अन्तिम समयमा स्पेनको टोलीमा समावेश गरिएका हुन्। गत सिजन आर्सनलका लागि सबै खेल खेलेका उनलाई डानी कार्भाजलको स्थानमा टोलीमा राखिएको हो।

कारोल लिनेट्टी (पोल्याण्ड)
लेक पोजनानबाट क्लब फुटबल खेल्ने कारोल भर्सटायल मिडफिल्डर हुन्। २१ वर्षे कारोललाई इंग्लिस क्लबहरु लेस्टर सिटी, टोटनहम हट्सपर, म्यानचेष्टर सिटीले आँखा लगाउँदै आएको छ।

डेले अली (इंगल्याण्ड)
२० वर्षे डेले अली भर्सटायल खेलाडी हुन्। गत वर्ष एमके डन्सबाट टोटनहम पुगेका अलीले टोटनहमलाई इपिएलमा तेस्रो स्थान दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए। पासिङ र सुटिङमा उत्कृष्ट रहेका अली डिफेन्सको अगाडी देखि फरवार्डसम्म खेल्न सक्छन्। गत सिजन अली पिएफए योङ प्लेअर अफ दि इअर घोषित भएका थिए।

एन्टोनी मार्सिएल (फ्रान्स)
गत सिजन फ्रान्सेली क्लब मोनाकोबाट इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले मार्सिएललाई ३६ मिलियन पाउण्डमा खरिद गरेको थियो। जहाँ उनले उत्कृष्ट प्रदर्शन गर्दै ४९ खेलमा १७ गोल समेत गरेका थिए। २० वर्षिय मार्सिएलसँग हरेक खेल जिताउने स्किल र टेक्निकल क्षमता रहेको छ।