काठमाडौँ : संविधान घोषणासँगै पार्टीबाट अलग रही संसद सदस्यबाट समेत राजीनामा दिएका डा. बाबुराम भट्टराईले जेठ ३० गते गर्न लागेको पार्टी स्थापना घोषणा कार्यक्रमको टेलिभिजन विज्ञापन बनाएका छन्।
आज सार्वजनिक गरिएको टेलिभिजन विज्ञापनमा सेतो सर्ट र खरानी रङ्गको कोटसहित भट्टराईको सुकिलो रुप देखिएको छ। सहरका धनाढ्यहरुको जस्तो देखिने घरको इन्टेरियरलाई पृष्ठभूमिमा राखिएको छ, जहाँ बाबुराम हिँड्दै आर्थिक समृद्धि गर्नुपर्ने बताउँछन्।
भूकम्पले भत्किएको घरको पृष्ठभूमिमा रोइरहेकी एक महिला र वैदेशिक रोजगारीमा जान लागेका युवा विमानस्थलमा लाम लाग्दै गरेको बाहेक ५१ सेकेन्डको विज्ञापनमा उनै 'सुकिलामुकिला' बाबुराम मात्रै देखिन्छन्।
पार्टी स्थापना घोषणा कार्यक्रमका लागि बाबुरामको नयाँ शक्ति पार्टीले पर्चा, पोस्टर नटाँसी टेलिभिजन, रेडियोमा विज्ञापन दिनुका साथै दैनिक पत्रिकाहरुमा 'ज्याकेट एड' (अगाडिको पेज पूरै विज्ञापन) दिने तयारी समेत गरेको छ।
राजनीतिक दलले यसअघि चुनावको बेलामात्रै विज्ञापन बजाउने गरेका थिए।
यस्तो छ विज्ञापन-