
काठमाडौं : बजेटको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकारका विषयमा चिन्ता नलिन सांसदहरुलाई आग्रह गरेका छन्।
बजेट प्रणालीका आधारभूत सिद्धान्त र मूल्य मान्यताअनुरुप नै बजेट निर्माण गरिएको भन्दै मन्त्री पौडेलले कार्यान्वयन चुनौतिपूर्ण हुनेतर्फ आफू सचेत रहने बताए।
‘विगतका अनुभवलाई आगामी वर्षको बजेट कार्यान्वयनको आधार नबनाउन म आग्रह गर्दछु,’ व्यवस्थापिका संसदमा बोल्दै उनले भने, ‘बजेट तर्जुमा गर्दा मैले सजिलो लक्ष्यमात्र होइन मुलुकको समृद्धिका लागि सहयोग हुने आयोजना छनोट गरेको छु।’
भूकम्प र नाकाबन्दीले खस्किएको अर्थतन्त्रलाई आधार बनाएर आकार निर्धारण गर्दा अर्थतन्त्रमा सुधार नआउने भएकाले नै यो आकारको बजेट प्रस्ताव गरिएको उनले प्रस्ट पारे। करिब ६ महिना लामो नाकाबन्दीका बावजुद लक्ष्यअनुरुपको राजस्व उठाउन आधार तयार पारेको मन्त्री पौडेलले दाबी गरे।
‘भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा चालु आर्थिक वर्षको भन्दा ५० करोड बढाएको छु। चालु खर्चको हिस्सा ५८ दशमलव ९ प्रतिशत छ,’ उनले भने, ‘चालु खर्च बढी देखिए पनि पुँजी निर्माण हुने नै छ। प्रशासनिक सुधारबाट राजश्व बढ्ने भएकाले २३ प्रतिशत राजस्व वृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ।’
विगतको ५ दशमलव ८ प्रतिशत आर्थिक वृद्धिको शिक्षाबाट ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हुनेमा शंका नगर्न पनि उनले आग्रह गरे। बजेट कार्यान्वयनका लागि सबै सरकारी निकायलाई प्रभावकारी तुल्याइने भन्दै मन्त्री पौडेलले बजेट फ्रिज नहुने व्यवस्था मिलाउन छुट्टै निकाय बनाइनेसमेत संसदमा जनकारी गराए।