
काठमाडौं : संसदमा सरकारले प्रस्तुत गरेको बजेटको विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ। छलफलको अन्तिम दिन आज सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिएका छन्। अर्थमन्त्रीको जवाफ चित्त नबुझेका सांसदहरुले पुनः स्पस्टीकरण लिएका छन्।
एक मिनेटको समय पाएका सांसदहरुले यस्ता स्पस्टीकरण सोधे-
राजेन्द्रप्रसाद पाण्डे : राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजनाका लागि बजेटमा १२ अर्ब व्यवस्था गर्नुभयो, जबकि आयोजना प्रभावित क्षेत्रका जनतालाई दिने मुआब्जाका लागि मात्र ६० अर्ब लाग्छ। त्यस हिसाबले त ५ वर्ष मुआब्जका लागि लाग्ने भयो। आवश्यक जति पनि बजेट दिन्छु भनेर अर्थमन्त्रीले नै प्रतिबद्धता जनाउनुपर्यो।
डिल्ली प्रसाद काफ्ले : ६० वर्ष पुगेका मजदुर र किसानलाई पेन्सनको व्यवस्था किन गरिएन?
दिपक गिरी : दाङ र चितवनलाई किन तराईमा पार्नुभएन? नगरपालिकालाई दिइने ५० करोड अनुदानका लागि मात्र किन छुटे दुई जिल्ला?
दिपक खड्का : विराटनगर-जोगवनी-किमाथाङ्का जोड्ने मार्गलाई मार्गलाई सुशील कोइराला मार्ग राखिनुपर्छ भनेको थिएँ किन जवाफ आएन?
अमरसिंह पुन : त्यत्रा एयरपोर्ट बनाउने कार्यक्रम राख्दा रोल्पामा एउटा एयरपोर्ट पनि किन राखिएन?
भरतकुमार शाह : रामशरण महतले अर्थमन्त्री हुँदा गत वर्ष अर्को आर्थिक वर्षदेखि ५ करोड निर्वाचन क्षेत्र विकास कार्यक्रम दिने प्रतिबद्धता जनाउनुभएको थियो त्यो किन योपटक काटियो?
प्रेम सुवाल : बजेटमा चालु खर्च धान्ने राजस्व उठाउन किन व्यवस्था भएन?
अनुराधा थापामगर : शिक्षामा बजेट घटाइयो। यो त राणाकालीन शैली भएन र? दुई वर्षभित्र लोडसेडिङ अन्त्य भएन भने को जिम्मेवार हुन्छ?
श्याम श्रेष्ठ : मजदुर हडतालमा प्रतिबन्ध लगाउने निर्णय कहाँबाट आयो?
बुद्धिराम भण्डारी : सुर्खेत-दाङ मार्गलाई किन बजेटमा राखिएन?
योगेन्द्र चौधरी : बजेटको ८८ नम्बरमा तराईका सहरलाई विकास गर्न सदरमुकामा विकासका लागि बजेट छ, दाङलाई किन छुटाउनुभयो?
सुवोधकुमार पोखरेल : यौन तथा प्रजनन् स्वास्थ्य सुधार र लोकमार्गमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउने कुरा रातो किताब नपाउँदै बजेट अधिवेशन कसरी सकियो?
गीता क्षेत्री : संस्थागत विद्यालयहरुले निर्देशिका पालना नगरेको कुरा उठाएकी थिएँ, निर्देशिका संशोधनको आवश्यकता पर्छ कि पर्दैन?
जयदेव जोशी : बजेट विनियोजन क्षेत्रीय सन्तुलन मिलाउने व्यवस्था संविधानले गरेको छ। के यो बजेट संविधानसम्मत छ? हिजो रातो किताबमा परेका योजनाले पूर्णता पाए वा हटाउने औचित्य छ?