PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

द्वन्द्वपीडित देखाउन होडबाजी : नारायणकाजीले म सबैभन्दा बढी द्वन्द्वपीडित भन्दा हलमा हाँसो



रमेश वाग्ले

द्वन्द्वपीडित देखाउन होडबाजी : नारायणकाजीले म सबैभन्दा बढी द्वन्द्वपीडित भन्दा हलमा हाँसो

काठमाडौँ : शुक्रबार काठमाडौको धुम्बाराहीस्थित इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज सेन्टरमा द्वन्द्वपीडित राष्ट्रिय समाजको आयोजनामा द्वन्द्वपछिको नेपालका मुद्दा र न्याय तथा मेलमिलाप विषयक कार्यशाला चलिरहेको थियो। त्यही कार्यशालाका प्रमुख अतिथि थिए कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र विशिष्ट अतिथि थिए एमाओवादी केन्द्रका पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठ।

नेपाली कांग्रेसका वरिष्ठ नेता कुलबहादुर गुरुङ अध्यक्ष रहेको द्वन्द्वपीडित राष्ट्रिय समाजको कार्यक्रममा धेरैजना द्वन्द्वपीडितहरु नै सहभागी थिए भने द्वन्द्व व्यवस्थापनका क्षेत्रमा काम गरिरहेका बालानन्द शर्मा, सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ सहितका व्यक्तिहरु पनि सहभागी थिए।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख अतिथिको भाषणमै आफू पनि द्वन्द्वपीडित भएको बताए। 'म पनि द्वन्द्वपीडित हुँ। मेरो घर माओवदीहरुले भत्काइ दिएका थिए' देउवाले आक्रोस पोख्दै भने, 'मलाई कैलालीमा मार्नलाई नै माओवादीले आक्रमण गरेका हैनन्?' उनले त्यस्ता विषयहरु पनि बेवास्ता गरेर संकटकाल लगाएको विषयमा मात्र आरोपित गर्ने गरेको बताए।

पालो आयो समाजका अध्यक्ष कुलबहादुर गुरुङको। गुरुङले द्वन्द्वका क्रममा धेरै नेपालीले अनाहकमा दुःख पाएको भन्दै धेरै माओवादी नेताहरुलाई नै द्वन्द्व किन चलेको थियो  र कोबाट परिचालित थियो भन्ने विषय थाहा नभएको दावी गरे।

उनले इलाममा आफ्ना विरुद्ध माओवादीले गरेको अत्याचार र गलत आरोप अनि द्वन्द्वको विकासको स्मरण गरे। इलाममा एक माओवादीले त्यहाँका व्यापारीलाई 'अब केबी गुरुङलाई सिद्ध्याउने हो' भनेपछि व्यापारीले किन सिध्याउने प्रश्न सोध्दा उनले भनेछन् 'केबी सामन्ति हो, उसको इलामबजारमा, पशुपतिनगरमा, दार्जिलिङमा र काठमाडौमा घर छ।'

उनले फरक यथार्थ पनि भने, 'इलाम बजारमा मेरै घर हो, पशुपतिनगरमा कुवेर गुरुङको घर रैछ। दार्जिलिङमा पनि एक स्कुलका हेडमास्टर रहेछन् केबी गुरुङ। उनले भने, 'पछि मेरो घरमा भित्र्याइएको धान लुटेर लगियो। सायद म त्यहीँ भएको भए मारिन्थे होला।'

उनले पार्टी नेतृत्वप्रति पनि गुनासो गरे। 'म त्यतिबेला कांग्रेसको महामन्त्री थिए, मेरै पार्टी सभापतिले कोनी कति बुँदे गर्नुभयो। त्यसपछि पनि द्वन्द्वपीडितले न्याय पाउन सकेनन्।

कांग्रेसको पालामा द्वन्द्वपीडितलाई राहत दिन नसकेको र त्यसपछिको माओवादी सरकारले पनि द्वन्द्वपीडितलाई मनलाग्दै पैसा बाँडेको आरोप लगाए।

उनले आफू पीडित भएको बताउँदै गर्दा मन्चमै बसेका नारायणकाजी श्रेष्ठ एकाएक बोले, 'सबैभन्दा धेरै द्वन्द्वपीडित त म हुँ। केबी गुरुङ बोल्न रोकिए। तर नारायणकाजीले आफ्ना कुरा राख्न थाले।

'सरकारी पक्षले माओवादी भनेर अनुसन्धान गर्ने, माओवादीले पनि आफूसित आएन भनेर आक्रमण गर्न खोज्ने' उनले भने, 'त्यसकारण सबैभन्दा द्वन्द्व पीडित त म हुँ म।' हलमा हाँसो छायो। त्यति भनेर श्रेष्ठले आफ्नो भनाई सकाए।   

गुरुङले श्रेष्ठको जवाफ फर्काएनन्। उनले थपे, 'त्यस्तो अवस्था गुजारेर हामी आयौँ। तर नेपाली कांग्रेसको सरकारले क्षतिपूर्ति समेत नदिएर धेरै द्वन्द्वपीडितहरु समस्यामा रहेको बताए। '५२ सालमा धानको मूल्य कति थियो, घरको मूल्य कति थियो भनेर राष्ट्र बैकसँग विवरण मागेर बस्यो कांग्रेसको सरकार' उनले भने, 'तर एमाओवादीले द्वन्द्वपीडित र लडाकुका नाममा लिएको अरबौँ पैसाको हिसाब समेत देखाएको छैन।' उनले आफू बाहिर बसेर कम पीडित भएको व्यक्तिको यस्तो अवस्था रहेको भन्दै वास्तविक पीडितको अवस्था अहिले पनि कहाली लाग्दो भएको बताए।

'द्वन्द्व पीडितलाई न्याय दिन दुईवटा आयोग पनि बनेका छन् तर आयोगले पनि केही नगर्ने हो भने यो विषय कहाँसम्म पुग्छ' उनले भने, 'तर आयोगले पनि न्याय दिन  नसक्ने जस्तो कुरा आएको छ।' त्यसो भनिरहँदा सत्यनिरुपण तथा मेलमिलाप आयोगकका अध्यक्ष सूर्यकिरण गुरुङ मन्चमै बसेर सुनिरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell