
सयौं वर्षगाँठको अवसर पारेर आयोजना गर्न लागिएको कोपा अमेरिका सेन्टेनारियो शुक्रबारदेखि अमेरिकामा सुरु हुँदैछ। पहिलो पटक ल्याटिन अमेरिकी राष्ट्र बाहिर हुन लागेको प्रतियोगितामा सहभागी संख्या पनि बढाएर १६ पुर्याइएको छ।
उद्घाटन खेलमा समूह ए मा रहेका आयोजक अमेरिका र कोलम्बिया बीच प्रतिस्पर्धा हुँदैछ। खेल क्यालिफोर्नियास्थित लेभिज स्टेडियम सान्टा क्लारामा अमेरिकी समयअनुसार शुक्रबार बेलुका ९ः३० बजे सुरु हुँदैछ। नेपाली समय अनुसार शनिबार बिहान ७ः१५ बजे खेल सुरु हुनेछ।
अमेरिका आयोजकको हैसियतमा जितका साथ प्रतियोगिताको सुखद सुरुवात गर्ने दाउमा हुनेछ भने कोलम्विया पनि जित हात पार्ने योजनामा हुनेछ। अमेरिकी कप्तान माइकल ब्राड्लीले कोपा अमेरिकाको विशेष संस्करणको लागि आफ्नो सहकर्मीहरु तयार रहेको बताएका छन्।
तर फिफा वरियतामा २८ स्थान माथि रहेको कोलम्विया विरुद्धको खेल अमेरिकाको लागि सजिलो भने हुने छैन। कोलम्विया फिफाको पछिल्लो वरियता अनुसार तेस्रो स्थानमा छ भने अमेरिका ३१ औं स्थानमा छ। यी दुई मध्ये जित हात पार्ने राष्ट्र समूह ए को विजेता बन्ने अभियानमा अगाडि बढ्नेछ पराजित हुनेले बाँकी दुई खेल जित्नैपर्ने हुन्छ। यस समूहमा पाराग्वे र कोस्टारिकासमेत रहेका छन् ।
कोलम्वियाका जेम्स रोड्रिग्वेज, जुवान क्वोड्राडो, कार्लोस बाक्का जस्ता युरोपियन लिगमा खेल्ने खेलाडीहरु रहेका छन्। गत सिजन च्याम्पियन्स लिग जितेको रियल मड्रिडबाट पहिलो रोजाईमा नपरेका रोड्रिग्वेज कोलम्वियाका लागि भने मुख्य हतियार हुन्। कोलम्वियाका अर्जेन्टाइन प्रशिक्षक जोसे पेकरम्यानले रोड्रिग्वेज टोलीको मुख्य खेलाडी रहेको बताएका छन्।
यता अमेरिकाको लागि भने युवा खेलाडी नै मुख्य खेलाडीको रुपमा रहेका छन्। जर्मन क्लब बोरुसिया डर्टमण्डबाट खेल्ने १७ वर्षिय क्रिस्टियन पुलिसिक हेर्न लायक खेलाडीका रुपमा रहनेछन्।
अमेरिका र कोलम्विया अहिलेसम्म १७ पटक आमनेसामने भएका छन् जसमा कोलक्वियाले ११ पटक जित हात पार्दा अमेरिकाले भने ३ पटक मात्र जित हासिल गरेको छ। ३ खेल भने बराबरीमा सकिएको थियो। पछिल्लो पटक सन् २०१४ मा भएको मैत्रिपुर्ण खेलमा कोलम्वियाले अमेरिकालाई २–१ ले पराजित गरेको थियो।
मार्च २५ मा ग्वाटेमाला विरुद्ध २–० को हार बेहोरेको अमेरिका त्यसपछिको चार खेलमा अपराजित रहेको छ। यता कोलम्वियाले पनि गत नोभेम्बरमा अर्जेन्टिा विरुद्ध १ ० को पराजयपछि लगातार तीन खेल जितेको छ।