PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

मथुरामा तनाव, झडपमा २ सुरक्षाकर्मीसहित २१ को मृत्यु



पहिलोपोस्ट

मथुरामा तनाव, झडपमा २ सुरक्षाकर्मीसहित २१ को मृत्यु

मथुरा : सरकारी जग्गा कब्जा गरेकालाई हटाउने क्रममा बिहीबार २१ जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागेर १९ जना प्रदर्शनकारीको मृत्यु भयो भने एक एसपी र एक एसएचओको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादवले घटनाको अनुसन्धानका लागि निर्देशन दिएका छन्।

एसपी सिटी मुकुल द्विवेदी र एसएचओ फराह सन्तोष यादवसँगै अन्य १९ जनाको मृत्यु भएको आगरा डिभिजनका कमिसनर प्रदीप भटनागरले शुक्रबार भने। उनले म्याजिस्ट्रेल कमिटीले पनि अनुसन्धान थालेको बताए।

गैर कानुनी रुपमा कब्जा गरिएको भूभागलाई खाली गर्न खोज्दा हिंसा भड्किएको थियो।  

लखनउमा मुख्य मन्त्री अखिलेश यादवले मथुराका डिभिजनल कमिसनरलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिएको सरकारी प्रवक्ताले जनाकारी दिए।

उत्तर प्रदेश सरकारले मारिएका परिवारका सदस्य र प्रहरीको परिवारका लागि जनही २० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
मथुरामा घटनाले तनावको स्थिति कायमै राखेको छ।

भारतका गृह मन्त्री राजनाथ सिंहले मथुराको अवस्था अध्ययन गरिरहेको जनाएका छन्। 'मैले उत्तर प्रदेशका मुख्य मन्त्रीसँग यसबारे कुरा गरेको छु र मथुराको अवस्था समीक्षा गरिरहेको छु,' उनले भने, 'मैले उनलाई केन्द्रबाट सबैखाले सहयोग उपलब्ध गराउने जानकारी दिएको छु।'

सरकारी कदम विरुद्ध उत्रिएकाहरुले आफूलाई सत्याग्रही रहेको दावी गरेका छन्।

आफूलाई सत्याग्रही बताउने समूहले दुई वर्षदेखि जवर वाग क्षेत्रमा रहेको उद्ययन कब्जा गरेर बसेको थियो। २ सय ६० एकड भूभाग रहेको जमिनको मूल्य करोडौं पर्छ।

सत्याग्रहीले भारतका सबै चुनाव बदर हुनुपर्ने माग गरेका छन्। जसमा राष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचनसमेत समावेश छ। उनीहरुले डिजेल ६० र पेट्रोल ४० रुपैयाँमा प्रतिलिटर पाउनुपर्ने माग राखेका छन्। अहिलेको भारतको मुद्रासमेत विस्थापित हुनुपर्ने उनीहरुको माग छ।

यो संगठनका नेता राम वृकेष यादवबाहेक अरुको जानकारी प्रहरीलेसमेत पाउन सकेको छैन।

आगामी वर्ष हुने उत्तर प्रदेशको निर्वाचनका लागि सत्तारुढ दल समाजवादी पार्टीका लागि घटना दुर्भाग्यपूर्ण हुनसक्छ।

मथुराकी सांसद हेमा मालिनीले घटनाप्रति आश्चर्य प्रकट गर्दै दुई वर्षसम्म प्रहरी के हेरेर बसेको थियो भन्ने प्रश्न गरेकी छिन्।

'यो धेरै दुखद् र अप्रत्यासित हो,' उनले भनिन्, 'मैले थाहा पाएअनुसार उनीहरुले दुई वर्षदेखि ठाउँ ओगटिरहेका थिए।'

उनले घटनाको जिम्मेबारी उत्तर प्रदेश सरकारले लिनुपर्ने बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell