PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

आश्वासन दिनमा प्रचण्डको ओलीलाई चुनौती, भन्छन्- ​प्रम भए भूकम्पपीडितलाई ५ लाख दिन्छु



पहिलोपोस्ट

आश्वासन दिनमा प्रचण्डको ओलीलाई चुनौती, भन्छन्- ​प्रम भए भूकम्पपीडितलाई ५ लाख दिन्छु

काठमाडौँ : आश्वासन बाँडिरहने प्रधानमन्त्री केपी ओलीलाई चुनौति दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भए भूकम्पपीडितलाई ५ लाख अनुदान दिने बताएका छन्। 

चरिकोटमा आयोजित नेकपा (माओवादी केन्द्र) दोलखा जिल्ला एकताको चौथो सम्मेलनलाई सम्बोधन गर्दै उनले भने,  ‘बाइ दि वे प्रधानमन्त्री भएँ भने पहिलो काम निर्ब्याजी ऋण भनिएको ३ लाखलाई अनुदानमा परिणत गर्छु।‘

‘कांग्रेसको कुरा ठीक’ 

प्रचण्डले स्थानीय चुनावका विषयमा प्रमुख प्रतिपक्षी कांग्रेसले उठाएका विषय ठीक भएको बताए। पार्टी एकीकरणपछि दोलखा जिल्लाको अधिवेशन उद्घाटन गर्न पुगेका अध्यक्ष प्रचण्डले लोकप्रिय कुरा गरेर मात्र नहुने बताए। 

‘हामी स्थानीय चुनावकै पक्षमा छौँ, स्थानीय चुनाव गर्नुपनि पर्छ’ प्रचण्डले भने, ’तर अस्ति प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा कांग्रेसले भन्यो, स्थानीय निकाय पुनर्संरचना आयोग बनिसकेको छ। त्यसले फागुनसम्म प्रतिवेदन दिन्छ। त्यसैले त्यसको प्रतिवेदनपछि स्थायी स्थानीय निकायको चुनाव गरौँ।’ 

उनले कांग्रेसले राखेको प्रस्ताव उपयुक्त भएको बताए। 

‘कांग्रेससँग एकतिहाई भन्दा बढी मत छ, उसलाई साथमा नलिइकन संविधानको कार्यान्वयन हुन सक्दैन’ दाहालले भने, ’त्यसकारण स्थानीय चुनावमा उसले उठाएका विषय बेवास्ता गरेर लोकप्रियताका लागि मात्र कुरा गर्नु उपयुक्त हुँदैन।’ उनले स्थानीय निकाय पुनसंरचना आयोगको प्रतिवेदनपछि मात्र स्थानीय चुनाव गर्नुपर्ने बताए। 

दाहालले पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले स्थानीय, प्रादेशिक र संघीय निर्वाचन एकै पटक गर्न सकिने र खर्च पनि कम हुने कुरा उठाएको भन्दै त्यसमा पनि समर्थन जनाए। ‘उहाँको कुरा मलाई ठीक लागेको छ’ उनले भने, ’म यो प्रस्ताव प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, मधेसी नेताहरु र राप्रपा नेपालसमक्ष पनि राख्ने छु।’

दाहालले केही दिनअघि विज्ञप्ति जारी गरेर आफू प्रधानमन्त्री बन्न नभएर राष्ट्रिय सहमतिको प्रयासमा जुटेको बताए। उनले विगतमा पनि राष्ट्रिय सहमतिको प्रयास असफल भएको भन्दै अब राष्ट्रिय एकता मजबुत बनाउनुको विकल्प नरहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell