PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

विदेश जाउँला, पढ्दै कमाउँला : बुझ्दै नबुझी सपना देख्दा यसरी ठगिए विजय



सविन ढकाल


२५ वर्षीय विजयराज श्रेष्ठको एउटा सपना थियो - पढ्न विदेश जाउँला, अनि राम्रै कमाउँला। बाँकी जीवन सुखी बनाउँला। सपनालाई विपनामा बदल्न उनले विदेश गएर पढ्ने अनि सँगै काम पनि गर्ने निधो गरे। विदेश जानको लागि कागजपत्र बनाए। सबै आफैले गर्न सक्ने जस्तो नलागेपछि खोजीमा लागे राम्रो कन्सल्टेन्सीको।  

काठमाडौंको तीनकुनेमा रहेको बर्नहार्ट कन्सल्टेन्सीमा उनको आँखामा पर्‍यो।  भविष्यको खोजीमा आतुर पैतालाहरु त्यतैतिर लम्किए। 

तीन महिनासम्म रसियाको कल्पनामा डुब्दै देशमै हराइरहे उनी। तीन महिनापछि कन्सल्टेन्सीले 'तपाईँको काम भइरहेको छ। अबको केही दिनमा नै उड्नुहुन्छ' भन्दा विजयले विजयानुभूति नै गरे। सपना जो साकार हुँदै थियो उनको। 

कन्सल्टेन्सीले उनीसँग केही रकम माग्यो। विदेशको सपनाका सामु यसलाई बाधक बनाउन चाहेनन्। चर्को ऋणमा रकमको जोहो गरे। १ लाख ७० हजार रुपैयाँको पोको उनले त्यही कन्सल्टेन्सीमा बुझाए। 

रकम बुझाएपछि यसपछि उनी उडानको अन्तिम तयारीमा जुटे। एकदिन बित्यो, दुई दिन बित्यो। क्रमश: साता बित्यो, उड्ने दिन आएन। 

अति भएपछि उनी कन्सल्टेसीमै पुगे। उनी त्यतिबेला छाँगाबाट खसे जस्ता भए जतिबेला पहिलेको ठाउँमा रहेको कन्सल्टेन्सी नै देखेनन्। 

सम्पर्क गर्न खोजे, सम्पर्कमा कोही आएनन्। त्यसपछि उनले ठगिएको चाल पाए।

कहाँ जाउँ? कस्लाई के भनुँ ? 'घर जाउँ घरकै डर, वन जाउँ वनकै' भनेजस्तो भयो। एउटा स्वर्णिम सपना एकाएक खरानी भए झैँ भयो।

उनी वैदेशिक रोजगार विभागमा उजुरी दिन पुगे। विभागले उजुरी नै लिएन। निन्याउरो अनुहार अनि झिनो आशाका त्यान्द्रा बोकेर उनी करिब ११ बजे वैदेशिक रोजगार विभाग पुगेका थिए। उनले हातमा भएको कागजपत्र देखाउँदै त्यहाँका कर्मचारीलाई आफू ठगिएको कुरा दबिएको स्वरमा सुनाए। 

कर्मचारीले भने,  'यहाँ उजुरी हुँदैन। प्रहरी कि त वकिलकहाँ जानुहोस्।' 

एउटा आशाको त्यान्द्रो त्यहीँ टुट्यो। 

मलिन अनुहार लगाउँदै उनले भने, 'अब कहाँ जाने, के गर्ने? सबै खत्तम भयो।'

त्यसपछि महानगरीय प्रहरी परिसरमा उजुरी दिन पुगे। आजै उनको उजुरी दर्ता भएको छ।

विजयराज श्रेष्ठ त एक प्रतिनिधि पात्र मात्र हुन् विदेशको सपनाले सताइएकाहरुबीच। उनी जस्तै कन्सल्टेन्सीले ठगेका उजुरीको वैदेशिक रोजगार विभाग र प्रहरीकहाँ चाङ नै लागेको छ। विभागमा गत वर्ष परेका १ हजार ४ सय ५५ उजुरी मध्ये १० प्रतिशत उजुरी कन्सल्टेन्सीको ठगी नै रहेका छन्। 

विभागकी निर्देशक रमा भट्टराईका अनुसार विभिन्न कन्सल्टेन्सीले रसिया, जापान, अमेरिका, अस्ट्रेलिया लैजाने भन्दै ठगी गर्ने विरुद्ध उजुरी आउने क्रम बढेको छ। 

वैदेशिक रोजगार विभागमा मात्र होइन महानगरीय अपराध अनुसन्धान महाशाखामा पनि महिनामा ३० देखि ४० वटा कन्सल्टेन्सीले ठगेको उजुरी पर्छ। महाशाखाका एसपी सहकुलबहादुर थापाले भने, 'राजधानीमा मात्र १२ देखि १५ सय कन्सल्टेन्सी छन्। यीमध्ये ५० प्रतिशत पनि दर्ता भएका छैनन्।'

दर्ता नभई संचालनमा आएका कन्सलटेन्सीका कारण सपनाको व्यापारमा चर्को ठगी जारी छ। गत वर्ष महाशाखाले ४३ वटा उजुरी परेका कन्सल्टेन्सी मध्ये ४४ जनालाई पक्रेर कारबाही गर्योल। आर्थिक वर्ष ७२/७३ मा उजुरीको क्रम बढेको श्रेष्ठले बताए।  

बुझ्दै नबुझी हतारमा निर्णय गर्ने अनि फुर्सदमा पछुताउनेहरु धेरै छन् अहिले।  राजधानीमा रहेका र पढेलेखेका भन्नेहरु त यस्ता कन्सल्टेन्सीबाट ठगिन्छन् भने निरक्षर र थोरैमात्र साक्षर वैदेशिक रोजगारमा जानेको हालत के होला ?

प्रतिकात्मक फोटो साभार : nomadicmatt.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell