PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

​कान्तिपुर गाथा : लाग्यो चार्ली कतारतिर



किशोर नेपाल

​कान्तिपुर गाथा :  लाग्यो चार्ली कतारतिर

संसदमा बजेट भाषण भएको दिनदेखि कनिका र चार्लीको भेट भएको थिएन। झगडा परेर होइन, कुनै लफडा भएकोले पनि होइन। त्यसो भएको भए दुवैले दुवैलाई मिस गर्दैनथे। उनीहरुले एक अर्कालाई मिस गरिरहेका थिए। तैपनि, एकअर्कालाई मिसकल भने दिएका थिएनन्। चार्ली सोच्दै थियो, ‘कनिकासँग भेटन पाए यो मन हलुंगो हुन्थ्यो कि?’ कनिका सोच्दै थिइ, कतै मभन्दा राम्री केटीसँग फ्रेन्डसिप भयो कि? दुवै एक अर्कालाई सम्झिरहेका थिए। नजिक भएर पनि सम्पर्कमा थिएनन्। चार्लीको हालत खराब थियो। उसको मोवाइल वान वे भएर बन्द पनि भइसकेको थियो। मान्ना कफीमा केही महिना काम गरेको थियो चार्लीले। दुई महिनाको पे लिन बाँकी नै थियो। त्यहाँसम्म जाने गाडी भाडा पनि थिएन ऊसँग।

बजेट भाषणको भोलिपल्ट बिहान ऊ घरैमा बसेर मोबाइल खेलाइरहेको थियो। नेटसँग नजोडिएको मोबाइलमा खेलाउने एप्स के नै हुन्छ र? उसले अचानक सुन्यो। पापा कराउँदै छ मामुसँग, ‘यत्रो महंगी बढेको छ, उसमाथि सरकारले कर्मचारीको तलव बढाइदिएको छ। अब बजार भाउ झन चुलिन्छ। तेरो त्यो राजकुमार कामसाम केही गर्दैन, आवारागर्दी गर्दै हिंडछ। अस्ति पनि एउटी नखरमाउलीलाई बाइकमा हालेर दौडिँदै थियो रे। भन्दे त्यो पाजीलाई, आजदेखि त्यसका लागि बाबुको होटलमा भात पाक्दैन।’

चार्लीलाई पापाको कुरा बुझ्न बेर लागेन। भुईंचालो गएदेखि उनको व्यापार घटेको छ। टन्न पैसा कमाउँदा कहिले केही भनेनन्। अहिले चिडचिडो भएका छन्। प्रेसरको ओखती खान थालेका छन्। कहिलेकहीं पड्किन्छन्। चार्ली पापाको पडकाइमा त्यति ध्यान दिँदैनथ्यो। तर, पापाको आजको पडकाइले उसको चित्त ढुंगामा बेस्सरी ठोक्किएको छाती जस्तै दुख्यो। पापाले खाएको भातसम्म कुरा ल्याएकोले उसलाई दिक्क लाग्यो। मनमनै भन्यो, आजैदेखि घरमा भात खानै छाडिदिन्छु।

केही बेरपछि उसले चाल पायो, पापा घरबाट निस्किए। ऊ विस्तारै मामुको नजिक पुग्यो। मामुलाई देखेर ऊ भक्कानिएर रोयो। बीए पास गरेको लक्का जवान छोरोको आँखाबाट भलभल आँसु बगेको देखेर मामुको मन कटक्क काटियो। उनले चार्लीको टाउको सुमसुम्याउँदै भनिन्, चित्त नदुखा। पापालाई निकै टेन्सन छ। त्यसैले जंगिएका हुन्। हिंड खाना खान।

चार्लीले भन्यो, ‘खान्न। म अब कतार जान्छु। मेरो साथीले बोलाएको छ। त्यहाँको कफी स्टोरमा काम गर्ने। पैसा कमाउन। यहाँ बसेर जति काम गरे पनि त्यही दश–पन्ध्र हजार कमाउने हो। त्यही पनि आफना मान्छे कोही छैनन्। कसले दिन्छ काम मलाई? मेरा साथीहरु पनि सबै उतै गै सके। अब म पनि उतै जान्छु।’

मामुले आत्तिदै भनिन, ‘के रे के रे। कतार जाने रे ? के भयो तेरो पढे लेखेको बुद्धि? किन दुःख दिन्छस् मलाई तँ ? पर्दैन जान त्यस्तो अनकण्टारमा। भो, चाहिएन पैसा–सैसा।’

चार्ली गम्न थाल्यो, किन चाहिन्न पैसा ? पैसा भएको भए पापाले त्यस्तो वचन लाउने नै थिएनन्। उसले कतार जाने निश्चय गरिसकेको थियो। उसलाई थाहा थियो, मामुले जे भने पनि यो त आमाको मन बोलेको हो। एकछिनसम्म ऊ केही बोलेन। आमाको अनुहार हेरिरह्यो क्वार्कार्ती। त्यसपछि बोल्यो, ‘मामु, मसँग त मोबाइल चार्ज गर्ने पैसा पनि छैन। बाइकमा तेल पनि छैन।’

उसले भन्यो, ‘अहिले त खानै मन लागेको छैन। पछि खान्छु।’

छोराको पिटपिट्याउँदो अनुहार हेरिन् मामुले। त्यसपछि कोठामा पसिन् र हातमा दुई हजार लिएर निस्किइन्। पैसा चार्लीको हातमा राखिदिँदै भनिन, ‘पुर्याकएर खर्च गर्नु। तेरो पापाले थाहा पाए भने फेरि कराउन थाल्छन्।’

‘लभ यू मामु’ चार्लीले बाइक निकाल्यो । नजिकैको बौचा–मैचा शपिङ सेन्टरमा गएर मोबाइल रिचार्ज गरायो। त्यो भन्दा परको छिम्केश्वरी पेट्रोल पम्पमा गएर बाइकमा तेल हाल्यो । त्यसपछि कनिकालाई कल गर्योा, ‘कहाँ छ्यौ ?’

उसको आवाज सुनेर कनिका फुर्किदै बोली, ‘मी होम वन्ली। तिमी नि?’

उसले जवाफ दियो, ल सेम प्लेसमा आऊ। मी वेटिंग बेबी।’

त्यसपछि उ सेम प्लेसमा पुग्यो । मृग जस्तै फुत्रुक फुत्रुक उफ्रिँदै कनिका आई। दायाँबायाँ केही नहेरी ऊ लिपिक्क टाँसिइ चार्लीसँ । साथका लागि खरिएका थिए दुवै। एकछिनपछि कनिकाले भनी, लेट्स मुभ।

चार्लीले आँखाले सोध्यो, व्हेयर ? 

दुवै केही बोलेनन्। कनिकाको डेस्टिनेशन चार्ली थियो। मात्र चार्ली। जहाँसुकै लगोस् चार्लीले उसलाई मतलब थिएन। चार्लीले बाइक मोड्यो बौद्धतिर। केही बेरमा उनीहरु स्तुपा क्याफेमा थिए।

चार्लीको मनमा औडाह छुटेको थियो। ऊ कनिकालाई आफूले देश छाड्न लागेको सुनाउन चाहन्थ्यो। कहाँ बाट शुरु गर्ने? उसले बिगिनिङ पोइन्ट फेला पार्न सकेको थिएन। क्याफेमा कनिका चार्लीको काखमा टाउको राखेर लुपुक्क सुतेकी थिइ। उसको इमोसनले मौन एक्सप्रेसन पाएको थियो। 
चार्लीले आफना भावनाहरुलाई ठूलो ढुंगाले थिचेर भन्यो, ‘कोनी, आइ हायभ डिसाइडेड टू मुभ आउट अफ दि कन्ट्री ।’

सुनेर कनिका उत्तेजित भइ, ‘ह्वाट, ह्वाट, ह्वाट ? बट ह्वाई ?’

चार्ली केही बोलेन । किनभने, ऊ आफनो कथा सुनाएर कनिकालाई दुःख दिन चाहँदैनथ्यो। रोजगारीको अवसर वढाउने सरकारी भाषण सुनेर ऊ दिक्क भै सकेको थियो। उसका यही शहरमा बस्ने आधा दर्जनभन्दा बढी साथी विदेशिइ सकेका थिए। ती मध्ये एउटा साथीको मद्दतले कतार हानिन थालेको थियो। 

उसले भन्यो, ‘हो कोनी, आइ एम फ्लाइङ्ग नेक्स्ट वीक वन्ली ।’

कनिका ट्वाल्ल परेर उसको अनुहारमा हेर्न थाली। उनीहरुले मगाएको कोल्ड कफी टेवलमा राखेको राख्यै रनक्क तातिसकेको थियो।

​​(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा) 

यो सिरिजका अन्य गाथा- 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell