PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

​कर नतिर्नेमा औद्योगिक घरानाकै व्यवसायी, दुगड र गोल्छा समूह कालोसूचीमा



रासस

पथरी (मोरङ) : राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ।
 
नगर क्षेत्रमा रहेर घर, जग्गा कारोबार र व्यवसाय कर नतिर्ने ठूला करदातालाई कालोसूचीमा राखेर कारबाही सुरु गरिएको हो। १० वर्षदेखि कर नतिर्ने करदाताको घर, जग्गा रोक्का गर्न जिल्ला मालपोत कार्यालयमा कार्यालयले आवश्यक पत्रचारसमेत गरिसकेको छ।
 
कर नतिर्नेमा औद्योगिक घरानाका व्यवसायी बढी देखिएका छन्। विराटनगर–८ स्थित दुगड निवासका किसनलाल दुगडले ९ वर्षदेखिको घरजग्गा र व्यवसाय कर गरी रु १५ लाख र विकास दुगडले ५ वर्षदेखिको रु ८ लाख, नमस्कार होटल विराटनगरका कृष्ण गोपाल श्रेष्ठले १५ वर्षदेखिको १० लाख, गोल्छा समूहका दिवाकर गोल्छाले ५ वर्षदेखिको १० लाख तिर्न बाँकी देखिएको छ।
 
यस्तै साना, ठूला गरी सयौँ करदाताले घर, जग्गा र व्यवसाय कर गरी २ करोडभन्दा बढी राजस्व तिरेका छैनन्।
 
वित्तीय व्यवस्थापन प्रमुख थपलियाले दुगड, गोल्छालाई पटकपटक पत्रचार गरेर वक्यौता रकम बुझाउन आग्रह गरिए पनि उनीहरुले कार्यालयको पत्र नै नबुझेर फिर्ता पठाएको बताए। पत्र नबुझेका करदातालाई कालोसूचीमा राखिएको उनको भनाइ छ।
 
यस्तै सरकारको स्वामित्वमा रहेको कृषि सामग्री संस्थानले ४ वर्षदेखिको घर, जग्गा कर २० लाख, नेसनल ट्रेडिङले ४ वर्षदेखिको घर, जग्गा कर गरी २० लाख तिरेका छैनन्। ठूला र साना करदाताले कर समयमै चुक्ता नगर्दा उपमहानगरपालिकाको राजस्व असुली प्रभावित हुने देखिएको छ।
ठूला करदाताले राजस्व नतिर्दा नगरपालिकाले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन। उपमहानगपालिका वित्तीय व्यवस्थापन प्रमुख अर्जुन थपलियाले नगर क्षेत्रमा सडक, बिजुली, खानेपानी तथा अन्य पूर्वाधार चाहने तर कर नतिर्ने ठूला करदातालाई कारबाही सुरु गरिएको बताए।
 
उपमहानगरपालिकाले चालु आव ०७२/७३ मा रु २२ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। चालु आवको जेठ २० गते सम्ममा १४ करोड २५ लाखमात्र राजस्व संकलन भएको छ। ५ महिना लामो मधेस आन्दोलनले पनि राजस्व असुलीलाई प्रभाव पारेको उपमहानगरपालिकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell