PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

वन मिस्टेक, लाइफ फिनिस्ड : राजधानी टु रारा राइड, एउटा अकल्पनीय यात्रा विवरण

वन मिस्टेक, लाइफ फिनिस्ड : राजधानी टु रारा राइड, एउटा अकल्पनीय यात्रा विवरण

समर्थ रञ्जित/पहिलोपोस्ट


अधिकांश व्यवसायिक क्षेत्रसँग जोडिएका प्रोफेसनलहरु। बिजनेसमा 'ह्याक्टिक लाइफ' भोगिरहेकाहरुको सौख भने दु:ख पाउने गरी यात्रा गर्ने। प्रोफेसनल करिअरबाहेक सौख बाइकिङको।  एकतर्फी लक्ष्य १ हजार ४० किलोमिटर। फर्किँदा उत्तिकै दुरी। सबैका साथमा महँगो ३५० र ५०० सीसीका रोयल इनफिल्ड। यो हो मिसन काठमाडौं टू मुगु। मोटरले नछोएको भर्जिन रारामा बाइकसँग सेल्फी लिने रहरसँगै सामाजिक सेवाको एउटा यात्रा। आउनुस् सँगै यात्रा गरौं। 

बुद्ध पूर्णिमाबाट सुरु भएको मोटरसाइकल यात्रा लुम्बिनीबाट हिँड्दा २६ रोयल इन्फिल्ड, एउटा 'ब्याकअप' फोर ह्विलर र ३२ साहसिक यात्रु एउटा अद्‍भुत यात्राका लागि जुटेका थियौं। काठमाडौं र पोखराबाट लुम्बिनीमा एक भएको टोलीको नेतृत्व गरेका थिए प्रकाश लिम्बु (३५) ले। पूर्वको ताप्लेजुङका उनी पश्चिमको विकट गाउँतिरको यात्रामा गाइड गरिरहेका थिए। 

पूर्व पश्चिम हाइवेमा लस्करै नेपाली झन्डा फहराउँदै गुटुटुटु चलेको मोटरसाइकले बेग्लै रिदम निकालिरहेको थियो। बन्दूकको 'बुलेट' झै निस्कने आवाजले बाइकरहरुलाई रोमाञ्चित बनाउनु स्वभाविक थियो। पूर्व पश्चिम हाइवेलाई छाडेर सुर्खेत पुगेको मोटरसाइकलको क्याराभान अब सास्तिपूर्ण यात्राका लागि तयार थियो। यो सास्तीलाई रोमाञ्चक रुपमा ग्रहण गर्न हामी ३२ भाइ तयार थियौं।

कर्णाली राजमार्ग। माओवादीको सशस्त्र युद्धको समयमा नेपाली सेनाले खुलाएको ट्र्याकमा बनेको यो सडकलाई मृत्यु मार्गसमेत भन्छन् धेरैले। सडकका किनाराबाट मोटरमात्र होइन मोटरसाइकलसमेत भिरतिर गुल्टिएका छन् पटकपटक। गुल्टिएका मोटरसाइकलका अवशेषहरु सडक किनारामा झुन्ड्याएर चालकलाई सचेत गराइएको छ। सचेत गराएजस्तै सडकलाई सुरक्षित बनाउने प्रयास भने झिनो लाग्छ यात्रा गर्दा। 
बुलेटको क्याराभानमा जुटेका केहीले सबैभन्दा लामो दुरीको यात्रा यसअघि नै गरिसकेका थिए। मेरो भने यो पहिलो थियो। ताप्लेजुङसम्म मोटरसाइकलमा पुगेकाका लागि कर्णाली राजमार्गको बाटो दुरीका हिसाबले छोटो भए पनि त्रासका हिसाबले डरलाग्दो रह्यो, मेरा लागि नितान्त नौलो। आँखा छिसिक्क भयो कि ज्यान गयो। 

'वान मिस्टेक लाइफ फिनिस्ड,' राइडरसमेत रहेका नासाका अध्यक्ष प्रकाश लिम्बुले सुनाए, 'धेरै यात्रा गरे पनि यति थ्रिलिङ कहिल्यै भएको थिएन।' उनले काठमाडौंमा अनुभूति सेयर गरिहँदा म भने यात्राको पूर्वस्मृतिमा पुगिरहेको थिएँ। साँच्चै मोटरसाइकलको पछाडि बस्दासमेत सिरिङ्ग भएको थिएँ म। 

पहिरो कुरेर कटेको रात

काठमाडौंबाट हिँडेको तेस्रो दिन। बाइकको लस्कर सुर्खेतबाट सिंजाको दूरी तय गर्ने लक्ष्य थियो। दिउँसो कर्णाली राजमार्गको यात्रा ठप्प पार्ने गरी सडकभन्दा माथिबाट पहिरो झर्‍यो। 

३ बजे पहिरो झरेर बाटो ठप्प। बाटो कहिले खुल्ला भनेर पर्खनुको विकल्प थिएन। यात्रामा रहेका सबै बीचमै अलपत्र। माथिबाट ढुंगा खसिरह्यो। तलतिर सुसाउँदो कर्णाली अनि माथितिर अजङ्गका ढुंगा बोकेका पहरा। न खाजा खाने ठाउँ न ओत लाग्न सक्ने अवस्था। 'सुर्खेतबाट माथितिर लागेपछि बस्ने र खाने कुनै ठाउँ नै रहेनछ,' प्रकाश भन्छन्, 'त्यसमाथि पहिरोले रोकेपछि अलपत्र नै परियो।' 

उनले यसो भनिरहँदा सम्झनामा डोजर चलाउने मानिसको याद आयो। रक्सी पिएका उनलाई नराम्ररी झपारेपछि मात्रै काम गर्न थाले। 

दिउँसो ३ बजेदेखि रोकिएको बाटो खुल्न राति १ बज्यो। मध्यरात १२ बजेसम्म डोजर लगाएर पहिरो पन्छाएपछिमात्र मोटरसाइकल यात्रा अघि बढ्यो। सिंजा उपत्यका पुग्ने लक्ष्यलाई कालिकोटको मान्माले नै रोक्यो हामीलाई। निस्पट अँध्यारोमा बिहानको २ बजे मान्मा पुगेपछि खाना खाएर सुत्दा ३ बजेको थियो।

एक दिन ढिलो भइसकेको यात्रा पुरानै 'सेड्युल'मा फर्काउनु अनिवार्य थियो। ३ बजे सुतेका बाइकर्सहरु भोलिपल्ट बिहान ६ बजे त्यहाँबाट हिँडिसक्नुपर्ने थियो। रातभर पहिरो कुरेर बसेका उनीहरु ३ घन्टा निदाए। अनि फेरि जुटे मिसन मुगुका लागि। उनीहरुका यात्राका तस्बिर मेरा लागि रोमाञ्चक बनाउनेखाले थिए। 


सिंजामा भब्य स्वागत

यो भेगमा गुटुटुटु आवाज निकाल्ने मोटरसाइकलको लस्कर यसभन्दा पहिले कसैले देखेका थिएनन्। बुलेटको साइलेन्सरले छाडेको आवाज कर्णाली हाइवेको नाग्माबाट कच्चीतिर लाग्यो र रोकियो सिंजा पुगेर। नाग्मादेखि अफरोड हिल यात्रा आफैँमा कठिन, थकाउने र जोखिमपूर्ण थियो। 

सिंजा पुग्दा हामीले अप्रत्यासित स्वागत पायौं। सिंजालीले बाजागाजासहित स्वागत गरे। गाउँलेहरु जुटे र स्कुलमा सुत्ने ठाउँको जोहो गरिदिए। घरघरबाट ब्ल्याङ्केट बटुलेर ल्याए। ती सबै नयाँ जस्ता लाग्थे। अनिँदो रात बिताएका बाइकरहरु स्कूलमा लाम लागेर निदाए। कतिपय त बस्दाबस्दै उँगिरहेका हुन्थे। स्थानीयको न्यानो स्वागत, त्यहाँको स्कुले बालबालिकाका लागि दिन सकेको थोरै भएपनि सहयोगले सन्तोषको निन्द्रा दियो सबैलाई। त्यसमाथि लखतरान थाकेका हामी। 

सिंजा नेपाली भाषाको लागि महत्वपूर्ण ठाउँ भए पनि यहाँका मानिसको आर्थिक अवस्था र विकासको स्थिति दयनीय नै थियो। तर, उनीहरुको स्वागत थकित यात्रीका लागि स्वर्गानुभूति गराउनेखाले थियो। 

धन्न पानी परेन

भोलिपल्ट सिंजाबाट ६ बजे फेरि मोटरसाइकलले थ्रिलिङ आवाज निकाल्दै मुगुतिरको यात्रा थाल्यौं। कतै सहज त कतै असहज बाटा। मोटरसाइकल चलाउनेले त जोखिम मोलेर ड्राइभ गरिरहेकै थिए तर पछाडि बस्नेहरु पनि उत्तिकै थ्रिल फिल गरिरहेका थियौं। यतिसम्म कि उनीहरुको ब्याकअपका लागि लगिएको फोर ह्विलरमा बस्नेहरु पनि भित्तातिरमात्रै हेर्थे। तलतिर हेर्ने हिम्मत समेत हुन्थेन। कारण थियो डरलाग्दो भीर। 

'कोही खस्यो भने खोज्न समेत नसकिने रहेछ,' प्रकाशले सुनाए, 'धन्न पानी परेन। परेथ्यो भने न अगाडि जान सकिने न पछाडि फर्कन नै। न त बीचमै अडिरहन सकिने!' 

बेलाबेलामा म मोटरसाइकलको पछाडिको सिट छाडेर गाडीमा बस्थेँ। तर, गाडीमा बस्दा उत्तिकै त्रास। गाडीका चालकले बडो रमाइलो कुरा गरे। भने, 'मलाई डर चाहिँ लागेन। तर मेरो शरीर कामिरह्यो।' 

लामा लामा दुरीमा बाइकिङ गरेका प्रकाशका लागि यो जति एडभेन्चर कतै भएको थिएन। थकित, गलित र जोखिममले त्रसित हुँदै हामीहरु दिउँसो २ बजे ताल्ता पुग्यौं। मुगुको ताल्चा विमानस्थल भर्खरै कालोपत्रे भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट मोटरसाइकल सहित रारा पुग्नका लागि अनुमतिपत्र काठमाडौंबाटै लगिएको थियो। ताल्चा पुगेपछि स्थानीय प्रशासनले बाइकरहरुका लागि तीन जना प्रहरीसमेत उपलब्ध गरायो। 

रारा कि अप्सरा

'सुर्खेतभन्दा माथि लागेपछि एउटै पनि राम्री युवती देखिएन,' प्रकाशले त्यहाँको सामाजिक-आर्थिक अवस्थाको चित्रण गर्दै सुनाए, 'सानैमा बिहे भएका र चाउरिएकाहरु देखिए।' 

कर्णाली आफैँमा एउटा दु:खी ठाउँ। विकासको हिसाबले सबैभन्दा पिछडिएको। आर्थिक-सामाजिकरुपमा विपन्न समाज। शैक्षिक अवस्थाको हिसाबले पनि मुलुकका अन्य भूगोलबाट धेरै अन्तर भोगिरहेको राराको सुन्दरता भने अद्‍भुत। 

ताल्चाबाट मिलिचौरसम्म त कच्ची बाटो थियो नै, सजिलै पुग्यौं। तर, त्यहाँबाट थियो यात्राको कठिनतममध्येको मार्ग। बाटो थिएन अगाडि। गोरेटो नभएको होइन, तर मोटरसाइकल चलाउन सकिने अवस्थाको थिएन। साना खोल्साहरुमा फाटक त थिए तर त्यसमा मानिस हातगोडा टेकर पार गर्दा रहेछन्। मोटरसाइकल लिएर त्यसैबाट पार गर्नु सहज हुने भएन। त्यसैले हिडेर २ घन्टामा पार हुने दुरी मोटरसाइकलले त्‍यति अवधिमा पनि तय गर्न सकेन। मोटरसाइकलको एक चक्का अटाउने साँघुबाट जँघार तर्नु कति जोखिम होला! अनि अनुमान गर्नुस् मेरो हालत। एक हातमा क्यामरा लिएको म अर्को हातले मोटरसाइकल पनि धकेलिरहेको थिएँ। 

कति ठाउँमा त एउटा मोटरसाइकल पार गराउन ६ जना मानिस लाग्नुपर्ने। लामो दुरीमा मोटरसाइकलले बाइकर्सलाई बोक्यो। अनि यस्ता जोखिमपूर्ण ठाउँमा बाइकर्सले बाइक बोके। असिन पसिन हुँदै नभएको बाटोबाट बाटो निकाल्दै २ घन्टाभन्दा लामो संघर्ष गरेपछि २६ मोटरसाइकल राराको किनारामा पुग्यो।

त्यहाँ पुगेपछि एक्कासी सबै चिच्याउन थाले। म पनि के कम- चिच्याइहालेँ। टिसर्ट खोलेँ र पानीमा हामफालिहालेँ। चिसो राराको पानीले मेरो सबै थकाई पखाल्यो। हाम्रो चिच्याहटबाट काठमाडौंदेखि रारासम्म पुग्दाका दु:खहरु रिलिज भइरहेको अनुभूति भयो। 'सबै थकाइ एकैपटक भुलियो,' प्रकाशले सुनाए, 'साच्चै रारा कि अप्सरा भनेको सहि रहेछ।' मेरो अनुभूतिसँग उनको र अरुको पनि मिल्यो।

रारा पुग्न हामीले जति कठिनाइ भोग्यौं त्यो सबै राराको रुपले बिर्स्यायो।

आफ्नो बाटो आफैँ बनाउँ

यहाँबाट हामीहरु बस्ने होटल पुग्न आधा घन्टाको दुरी तय गर्नुपर्ने थियो। त्यहाँ मुस्किलले ३० जना अटाउने रहेछन्। त्यसबाहेक अरु विकल्प छैन। भोलिपल्ट हाम्रो समूह दुई भागमा विभाजित भयो। 

एउटा ग्रुप काठमाडौंदेखि स्कुले बालबालिकाका लागि दिन लगिएको सहयोगका पोकाहरु बोकेर अढाइ घन्टा टाढाको स्कुलतिर लाग्यो। आधाजति फर्किने बाटो बनाउन जुटे।

'पुग्न त पुगियो तर फर्किने कसरी?,' प्रकाशले भने, 'मोटरसाइकल लिएर उकालो लाग्न सक्ने स्थिति नै थिएन।'

आफ्नो बाटो आफै बनाउने भनेर समूह जुट्यो र त्यहाँ साथ दियो नेपाली सेनाले। मोटरसाइकल पार गराउन कठिन पर्ने भागमा सेनाको सहयोग लिएर आफ्ना लागि बाटो आफैँ बनाउन जुट्यौं। दिनभरिको मेहनतले फर्किने कसरी भन्ने पीरलाई केही हदसम्म कम बनायो हाम्रो मेहनतले। 


रारा टु जुम्ला : वैकल्पिक बाटोले पारेको जोखिम

राराबाट हामी बैकल्पिक बाटो जुम्ला जाने तय भयो। सिंजाको बाटो छाडेर मुगुकै बुलबुलेतिरको बाटो समात्यौं। तर, यो बाटो झन कठिन रहेछ। 'कठिनमात्रै हो र ? ज्यानमार!,' प्रकाशले भने, 'हामी ढुंगे युगमा २१ औं शताब्दीको मोटरसाइकल चलाइरहेका छौं जस्तो लाग्यो।'

बाटो पार गर्दै जाँदा एउटा खोला बाटोमा पर्‍यो। हेर्दा सानो लागे पनि कम्मर कम्मर आउने पानी रहेछ। त्यहाँबाट मोटरसाइकल पार गराउनु कम सकसपूर्ण थिएन। 

अजिङ्गरको आहरा दैवले जुटाउँछन् भने झै भयो यसपाला। गाउँलेहरु सडक निर्माणको मिटिङमा जुटेका रहेछन्। उनीहरुको गाउँमा अप्रत्यासित रुपमा मोटरसाइकलको लर्को लागेको देखेपछि उनीहरु जुटिहाले। गाउँले पानीभित्र पसे र मोटरसाइकलाई पार लगाए। पार लगाउनासाथ हत्तनपत्त उनीहरु दौडिहाले। बाटो बनाउने मिटिङमा सहभागी हुनु जो थियो। 'गाउँले र सेनाले गरेको सहयोगलाई कसै गरे पनि हामीले भूल्न सक्दैनौं,' प्रकाशले भने, 'यात्राको नेतृत्व मैले गरेकाले मलाई सबैभन्दा बढी तनाव थियो। कसैलाई केही भयो र यात्रा गडबड भयो भने म जिम्मेवार हुने थिएँ।' 

त्यसपछि हामीले जुम्लामा रात काट्यौं। बिहान हिड्नुअघि स्थानीयले सम्मान गरे। त्यसपछि काठमाडौंका लागि हानियो यो टोली।

'काठमाडौं आइपुगेपछिमात्रै लाग्यो : के हामी गएकै हो त?,' रारा पुगेर फर्केको सपनाजस्तै बनेको थियो सबैका लागि।


ट्रेन्डिङ पोस्ट

Ncell