
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास, विद्यालय र स्वास्थ्य चौकी पुनर्निर्माणका लागि पेश भएका परियोजना प्रस्तावलाई स्वीकृत गरेको छ।
विभिन्न गैरसरकारी संस्थाहरुले पेश गरेको ६ हजार ७ सय ५९ निजी आवास, १ सय ३३ वटा विद्यालय र २ वटा स्वास्थ्य चौकी पुनर्निर्माण प्रस्तावलाई प्राधिकरणले पास गरेको हो।
गैरसरकारी संस्था परिचालन सम्बन्धी कार्यविधि २०७२, दफा ९ को उपदफा ९६० अनुसार ती प्रस्ताव परेका थिए। प्राधिकरणको सिफारिस समितिले स्वीकृत गरेबमोजिम सम्बन्धित विज्ञ सदस्यको समन्वयमा अब त्रिपक्षीय सम्झौता गर्नुपर्छ। यसका लागि सम्बन्धित संस्था, क्षेत्रगत मन्त्रालय र प्राधिकरणबीच त्रिपक्षीय सम्झौता हुने कानुनी व्यवस्था रहेको छ।
निजी आवास, विद्यालय र स्वास्थ्य चौकी लगायत पुनर्निर्माणका लागि १२ अर्ब २८ करोड १८ लाख ७७ हजार ९ सय ८१ हजार रुपैयाँ प्रस्ताव गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए।