PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

नेपाली पक्षले बहिस्कार गरेपछि एकतर्फी आइसीपी सञ्चालन गर्ने भारतीय प्रयास असफल



पहिलोपोस्ट

नेपाली पक्षले बहिस्कार गरेपछि एकतर्फी आइसीपी सञ्चालन गर्ने भारतीय प्रयास असफल

  • राधेश्याम पटेल 
वीरगन्ज : एकपक्षीय रुपमा एकीकृत जाँच चौकी (इन्टीग्रेटेड चेक पोस्ट, आइसीपी) सञ्चालन गर्ने भारतीय प्रयास नेपाली पक्षको असहमतिपछि असफल भएको छ। रक्सौलबाट सात किलो मिटरको दुरीमा बनेको यो आइसीपी शुक्रबारदेखि सञ्चालनमा ल्याउन खोजिएको थियो।
 
नेपालतर्फको पूर्वाधार नबन्दासम्म आइसीपीबाट जाँचपास सुरु नगर्न आयातकर्ताले आग्रह गरे पनि परीक्षणस्वरुप भन्दै भारतीय पक्षले एकपक्षीय रुपमा शुक्रबार सफ्ट ट्रायल गर्‍यो। तर, नेपाली पक्षले उद्घाटन नै बहिस्कार गरेपछि भारतीय पक्ष पछि हटेको हो।
 
भारतीय भन्सार अधिकारीहरुले आइसीपीको उद्घाटन कार्यक्रममा सहभागी हुन भन्दै वीरगन्ज भन्सार प्रमुख, प्रहरी प्रमुख र वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीलाई निम्त्याएका थिए। एकपक्षीय रुपमा सञ्चालनमा ल्याउन लागिएकोमा विरोधस्वरुप नेपाली पक्ष उद्घाटन कार्यक्रममा सहभागी भएन।
 
यसअघि रक्सौलस्थित भारतीय भन्सारबाट जाँचपास हुँदै आएको मालसामान सात किलोमिटर दुरीमा अवस्थित नयाँ भन्सार (आइसीपी) बाट जाँचपास गर्दा ढिलो र झन्झटिलो भएपछि भारतीय भन्सार अधिकारी पछि हटेका हुन्।
 
‘नेपालतर्फको पूर्वाधार नबन्दासम्म जाँच चौकी सञ्चालनमा नल्याउन भारतीय अधिकारीहरु पनि सहमत भए,’ वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले भने, ‘शुक्रबारको परीक्षणपछि उनीहरुले अप्ठ्यारा राम्ररी बुझ्न पाए।’ भारतीय कष्टम प्रमुख दीपक सिन्हाले तत्कालका लागि पुरानै स्थान (रक्सौल भन्सार) बाटै जाँचपास नियमित गरिने जानकारी गराएको केडियाले बताए।
 
यसअघि उद्योग वाणिज्य संघले दुवैतर्फको पूर्वाधार निर्माणपछि मात्र आइसीपी सञ्चालनमा ल्याउन सुझाव दिए पनि पूर्वतयारी भन्दै भारतीय पक्षले सञ्चालनमा ल्याएको हो। आइसीपीको पूर्वाधार तयार भइसकेको कारण जनाउँदै परीक्षणस्वरुप शुक्रबारदेखि भारतीय पक्षले भन्सार जाँचपासको काम आइसीपीबाटै गरेको थियो। नेपालतर्फ आइसीपी पूर्वाधार निर्माणको काम ७० प्रतिशत मात्र सकिएको छ। बाँकी काम सक्न थप ६ महिना लाग्ने अनुमान छ।
 
भारतले बनाएको नयाँ आइसीपीबाट शुक्रबार दिनभरमा जम्मा चार वटा मालबाहक ट्रकको जाँचपास सम्भव भएको थियो। यी ट्रक नौकाटोला वायरलेस टावरदेखि पनटोका सिवान टोलासम्म सात किलोमिटर दुरी तय गरेर भारतीय आइसीपीमा पुगेका थिए।
 
नेपालतर्फको आइसीपीको पूर्वाधार तयार नभएकाले भारततर्फको आइसीपीमा जाँचपास गरिएको मालसामान पुनः रक्सौल भन्सार नाका हुँदै वीरगन्ज भन्सारमा जाँचपासका लागि ल्याउनुपर्छ। यो प्रक्रिया झन्झटिलो हुँदा जाँचपासमा समेत ढिला हुन्छ। वीरगन्जको अलौंमा नेपालतर्फको आइसीपी निर्माणाधीन छ।
 
वीरगन्ज नाकाबाट दैनिक दुई सयदेखि तीन सय वटा ट्यांकर र टिपर तथा एक सय मालबाहक ट्रक भित्रिने गरेका छन्।
 
भन्सार बिन्दुबाट मालसामान आयात–निर्यात गर्दा आवश्यक पर्ने सम्पूर्ण प्रक्रया पूरा गर्न र सरोकारवाला सम्पूर्ण कार्यालयहरुको सेवा एकै परिसरमा उपलब्ध गराउने उद्देश्यले भारतीय योजनामा नेपालको मुख्य नाकाहरुमा जाँच चौकी निर्माण कार्य भइरहेको छ। यीमध्ये सबैभन्दा पहिले वीरगन्जमा निर्माण सुरु भएको हो। विराटनगर, काँकडभिट्टा, भैरहवा, नेपालगन्जसहित छ नाकामा भारतीय लगानीमा जाँच चौकी निर्माण कार्य जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell