PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

अचेत अवस्थामा रहेका संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार



पहिलोपोस्ट

अचेत अवस्थामा रहेका संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार

काठमाडौं : भेन्टिलेटरमा राखेर उपचार गराइरहेका वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा केही सुधार आएको छ।
 
मंगलबार राति काठमाडौंको ग्रान्डी इन्टरनेशनल अस्पताल भर्ना गरिएका गुरुङको श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार बिहान भेन्टिलेटरमा राखिएको थियो। बेहोस अवस्थामा रहेका उनी हल्का चलमलाउन थालेको र स्वास्थ्य रिपोर्ट पनि ठिकै देखिएको लेखक प्रकाश सायमीले जानकारी दिए। ‘भेन्टिलेटरमा ७२ घन्टा राख्न चिकित्सकले भनेका छन्,’ उनले भने, ‘हिजोभन्दा केही सुधार देखियो। निधारमा औंलाले प्याटप्याट पार्दा चलमलाएझैं गर्न थाल्नुभएको छ।’
 
आन्द्रामा राखिएको स्टेन्ट फुस्किएपछि मंगलबारदेखि उनी ग्रान्डी अस्पतालमा उपचार गराइरहेका छन्। आन्द्रा साँघुरिएर खाना नजाने समस्या भएपछि यसअघि नै उनको आन्द्रामा स्टेन्ट राखिएको थियो।
 
उनको स्वास्थ्यलाभको कामना गर्दै शुक्रबार साँझ ग्रान्डी अस्पतालमा दीप प्रज्ज्वलनसमेत गरिएको थियो।
 
अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा राखिएका गुरुङको उपचारमा क्रिटिकल केयर मेडिसिनका चेयरम्यान तथा कन्सल्ट्यान्ट फिजिसियन, इन्टरनल मेडिसिन, पल्मोनोलोजी तथा क्रिटिकल केयर प्रा.डा. अर्जुन कार्कीको टिमसँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. विवेक शर्मा, कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा. राजु पौडेल लगायतका डाक्टरहरु संलग्न छन्।
 
खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या देखिएपछि गुरुङलाई अस्पताल पुर्‍याइएको थियो। उनलाई एस्पिरेसन न्युमोनिया, पेट तथा अन्ननलीको रक्तश्राव (युजिआई ब्लिडिङ) पार्किन्सोनिज्म, उच्च रक्तचाप तथा मधुमेहको समस्या छ।
 
भारतको मेदान्त अस्पतालमा उपचार गराएर उनी गएको चैत १७ गते नेपाल फर्किएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell