
४५ औं संस्करणको कोपा अमेरिका सेन्टेनारियो अन्तर्गत भोलि आइतबार बिहान तीन खेल हुँदैछन्। पहिलो खेल समूह ए का कोस्टारिका र पाराग्वेबीच हुँदैछ।
समूह ए अन्तर्गत यसअघि भएको उद्घाटन खेलमा कोलम्वियाले आयोजक अमेरिकालाई २–० ले पराजित गरेको थियो। त्यसैले दोस्रो चरण प्रवेशका लागि कोस्टारिका र पाराग्वे स्पष्ट जितको खोजीमा छन्।
पाराग्वेले पछिल्ला पाँचमध्ये एक खेलमा मात्र जित हात पारेको थियो भने दुई बराबरी तथा दुईमा हार बेहोरेको थियो। यसलाई सुधार गर्दै पाराग्वे राम्रो सुरुवात गर्ने दाउमा हुनेछ। यता पछिल्ला पाँचमध्ये तीनमा जित हात पारेको कोस्टारिका विजयी सुरुवात गर्ने योजनामा छ। २०१४ को ब्राजिल विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटर फाइनलसम्म पुगेको कोस्टारिका उक्त प्रदर्शन दोहोर्याउने दाउमा छ। रियल मड्रिडलाई ११ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताएका गोलरक्षक केइलर नाभास कोस्टारिकाका मुख्य खेलाडीका रुपमा रहनेछन्।
कोस्टारिका र पाराग्वे बिच कोपा अमेरिकामा अहिलेसम्म एक पटकमात्र प्रतिस्पर्धा भएको छ। सन् २००४ मा पेरुमा भएको उक्त खेल पाराग्वेले १–० ले जितेको थियो। यस्तै गतवर्ष भएको मैत्रिपूर्ण खेलमा यी दुई टीमले गोलरहित बराबरी खेलेका थिए।
कोस्टारिका र पाराग्वेबीचको खेल नेपाली समयअनुसार बिहान २:४५ बजे ओर्लान्डोस्थित क्यापिङ वर्ल्ड स्टेडियममा हुनेछ।
यस्तै भोलि नै समूह बीका दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ५:१५ बजे हाइटी र पेरु तथा दोस्रो खेल बिहान ७:४५ बजे ब्राजिल र इक्वेडरबीच हुनेछ।
हाइटीको यो पहिलो कोपा अमेरिका सहभागिता हो भने पेरु दुई पटकको विजेता। हाइटी आफ्नो पहिलो खेललाई यादगार बनाउने पक्षमा हुनेछ भने पेरु विजयी सुरुवात गर्ने तयारीमा। ब्राजिल र इक्वेडर समेत रहेको समूहमा पहिलो खेद जिते पेरुको दोस्रो चरण प्रवेश प्रवेश गर्ने सम्भावना बलियो हुनेछ।
हाइटी र पेरुबीच सन् २००२ मा भएको पछिल्लो मैत्रिपूर्ण खेलमा पेरु ५–१ ले विजयी भएको थियो। हाइटीले पछिल्ला पाँच खेलमा जित हात पार्न सकेको छैन। चार खेल हारेको उसले एक खेल मात्र बराबरी गरेको थियो। यता पेरु पछिल्ला दुई अपराजित रहेको छ।
हाइटी र पेरुबीचको खेल वासिंटनको सिएटल स्थित सेन्चुरी लिंक फिल्डमा हुनेछ।
यता समूह बी अन्तर्गत नै भोलि बिहान ब्राजिल र इक्वेडरबीच खेल हुनेछ।
आठ पटकको विजेता ब्राजिल पहिलो पटक स्टार खेलाडी बिना नै मैदान उत्रिँदैछ। ब्राजिलका मुख्य खेलाडी तथा कप्तान नेमार कोपा खेल्ने टीममा समावेश छैनन् भने डुग्लास कोस्टा, काका, लुइस गुस्ताभो, रफिन्ना, रिकार्डो ओलिभिएरा, एडरसन जस्ता खेलाडी चोटका कारण ब्राजिलियन टोली छाडेका छन्।
उनीहरुको अनुपस्थितिमा गान्सो, लुकास मउरा, जोनास, वालेस, विलियम प्रशिक्षक डुङ्गाको टीमका मुख्य खेलाडी बन्न सक्छन्। तर इक्वेडरसँगको पछिल्ला पाँच खेलमा अपराजित रहेको ब्राजिल नयाँ युवा खेलाडीहरुको मद्धतमा उत्कृष्ट सुरुवात गर्ने दाउमा हुनेछ।
कोपा अमेरिकामा पनि ब्राजिलको इक्वेडरसँगको इतिहास राम्रो छ। खेलेका १३ मध्ये ब्राजिलले १२ खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो।
यस्तै पछिल्ले पटक २०११ मा भएको प्रतियोगितामा ब्राजिलले इक्वेडरलाई ४–२ ले हराएको थियो भने २०१४ मा भएको मैत्रिपूर्ण खेलमा पनि ब्राजिल १–० ले विजयी भएको थियो।
ब्राजिल र इक्वेडर बिचको खेल क्यालिफोर्नियास्थित रोस बोल स्टेडियममा बिहान ७:४५ बजे हुनेछ।