काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल भूतपूर्व सैनिक सङ्घको नयाँ नेतृत्व चयन भएको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार राति अबेर सकिएको मतगणनाको नतिजाअनुसार पाल्पाका कर्णेल धनबहादुर मास्की राना अध्यक्षमा निर्वाचित भएका छन्। उनले निवर्तमान अध्यक्ष नारायणप्रसाद कोइरालालाई १०८ मत अन्तरले पराजित गरेका मत गणनामा संलग्न प्रतिनिधि योगेश्वर भण्डारीले जानकारी दिए।
निर्वाचनमा रानाले २०१ मत प्राप्त गरेका थिए भने कोइरालाले ९३ मत प्राप्त गरे। सङ्घको कुल मतदाता तीन सय ९९ मध्ये ३०५ मत खसेको थियो।
यही २१ र २२ गते भएको पाँचौं अधिवेशनले महासचिवमा मेघराज टन्डनलाई निर्विरोध निर्वाचित गरेको छ भने कोषाध्यक्षमा शिवलाल भुसाललाई हराउँदै टोपबहादुर मल्ल निर्वाचित भएका छन्।
कुल ७३ सदस्यीय केन्द्रीय समितिमा ४९ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत चयन गरिएको भण्डारीले जानकारी दिए। अन्य पदाधिकारीमा भने पछि मनोनयन गर्ने व्यवस्था रहेको छ।