
अमेरिकामा चलिरहेको ४५ औं संस्करणको कोपा अमेरिका सेन्टेनारियो प्रतियोगितामा पहिलो पटक चौथो सब्स्टिच्युट खेलाडी पनि प्रयोग गर्न पाइने भएको छ।
कोपा अमेरिका सेन्टेनारियो आयोजकले गत शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा उक्त नियम लागू गर्ने निर्णय गरेको हो। इन्टरनेशनल फुटबल एशोसिएशन बोर्डले गत साता मात्र २०१६/१७ को ल अफ गेम सार्वजनिक गरेको थियो, जसमा विभिन्न परिमार्जित नियमहरु समावेश गरिएको छ।
यसै अनुसार कोपा अमेरिकामा नयाँ नियम लागु गर्न लागिएको हो र उक्त नियम लागू गर्ने कोपा अमेरिका सेन्टेनारियो पहिलो प्रतियोगिता समेत भएको छ। यसअघि फुटबल खेलमा ३ जना खेलाडी मात्र परिवर्तन गर्न पाइने नियम थियो।
तर यो नियम फाइनल खेलमा मात्र लागू हुनेछ। यदि खेल अतिरिक्त समयमा पुगेको खण्डमा मात्र चौथो सब्सिच्युटको प्रयोग गर्न पाइनेछ। कोपा अमेरिकामा फाइनल खेल मात्र अतिरिक्त समयमा खेलाइन्छ। त्यसभन्दा अघिका खेलमा निर्धारित समयको खेल बराबरीमा सकिए सिधै पेनाल्टी सुटआउटबाट छिनोफानो गरिन्छ।
पहेँलो कार्डको सम्बन्धमा पनि नयाँ नियम लागू हुनेछ। यदि खेलाडीले समूह चरणको दुई खेल वा क्वार्टरफाइनलमा पहेँलो कार्ड पाए त्यसपछिको सेमिफाइनल खेल खेल्न पाउने छैन। तर क्वार्टरफाइनल खेल सकिएपछि भने सेमिफाइनल र फाइनलका लागि नयाँ नियम तय गर्ने आयोजकले जनाएको छ।
यस्तै पेनाल्टी प्रहार गर्नु अघि गोलरक्षक छिटो अगाडि बढेमा गोलरक्षकलाई समेत पहेँलो कार्ड दिइनेछ भने पेनाल्टी पुन प्रहार गरिनेछ। अफसाइडको सम्बन्धमा पनि नियम परिवर्तन भएको छ। यदि खेलाडीको हात अफसाइडमा देखिएको छ भने त्यसलाई अफसाइड मानिने छैन किनकी खेलाडीले हातले गोल गर्न पाउने छैनन्।