काठमाडौं : ६६ वर्षीय रामकृष्ण भट्ट आइतबार परेको झरी छिचोल्दै त्रिभुवन विमानस्थलमा पुगे। उनको हातमा थियो एउटा सजाइएको फूलको गुच्छा। बिहान १० बजेको समय। उनी नुवाकोटको विदुर ७ को पिपलबोटबाट आइतबार बिहानै हान्निएर काठमाडौं आएका रहेछन्।
रामकृष्ण भट्ट (बीचमा)
६३ किलोमिटरभन्दा बढी दूरी पार गरेर उनी विमानस्थल पुग्नुको एउटै मात्र कारण थियो - पूर्व राजा ज्ञानेन्द्र शाहको 'दर्शन गर्नु'। झापा जिल्लाका विभिन्न तीर्थस्थलको दर्शन गरेर पूर्वराजा शाह बिहान ११ बजे विमानस्थल ओर्लिने कार्यक्रम थियो। राजतन्त्र समर्थकहरुले केही दिनअघिदेखि नै उनको स्वागतका लागि विमानस्थल जाऔँ भन्दै फेसबुकमा आह्वान गरिरहेका थिए। उनले पनि जानकारी पाए र 'दर्शन गर्न' आइपुगे।
उनको गोजीमा थियो एउटा 'टुथ ब्रस'। 'घर पुग्ने ठेगान छैन, आफ्नो व्यवस्था त गर्नुपर्यो,' उनले कारण सुनाए।
भारी वर्षाले विमानस्थलमा अवतरण सहज भएन। करिब सवा घन्टा ढिलो भएको खबर विमानस्थलमा सुनियो। रामकृष्णजस्तै राजसंस्थाप्रति विश्वास राख्नेहरु हातमा माला, फूल र खादा लिएर विमानस्थलमा देखिन थालेका थिए। उनले यताउता राजसंस्था र राजनीतिक गफ गर्दै प्रतीक्षाको समय कटाइरहेका थिए।
उनको हातको गुच्छा ताजै देखिन्थ्यो। बिहान ७ बजे हतार हतार नुवाकोटबाट हिँडेका उनले खाना खानसमेत भ्याएका रहेनछन्। भन्दै थिए, 'राजसंस्थाप्रति मेरो ठूलो आस्था छ। बरु खाना छोडिन्छ, सरकारको दर्शन छोड्दिन।'
६६ वर्षका उनी पूर्व राजा राजधानीबाट कतै जाँदा वा फर्किँदा विमानस्थल पुग्न छुट्दैनन्। स्वागत गर्नेहरुको भिडमा काभ्रेका रामराज ठकुरी पनि थिए जसको उद्देश्य रामकृष्णको जस्तै थियो। करिब ४० जना अरु पनि समान उद्देश्य लिएर विमानस्थल पुगेका थिए। ११ बजे भनिए पनि शाह फर्कने समय १ बजेमात्र हुने भयो। दर्शन गर्न आतुर बनेका उनीहरु विमानस्थलमा लामवद्ध भए। हातमा फूल, बुके र खादा सजिएका थिए।
पूर्वराजा आउने गाडी विमानस्थलको आन्तरिक टर्मिनल रहेको धावनमार्ग तिर छिर्यो। सबै 'सरकारको सवारी हुन लाग्यो' भन्दै विनम्र मुद्रामा उभिए। हातमा भएको फूल, माला र खादा ज्ञानेन्द्रलाई दिन पाए उनीहरुको यहाँसम्मको यात्रा सार्थक हुन्थ्यो। नभन्दै पूर्वराजा आए। उनीहरुको आँखा झनै उघारिए, फूल समातेका हात गाडीतिर तन्किए।
विडम्वना ! ज्ञानेन्द्रले गाडीभित्रैबाट नमस्कार गरे। फूल समात्नु त परै जाओस्, गाडीका सिसासमेत खुलेन।
एकाएक माहौल स्तब्ध बन्यो। हातको फूल हातमा नै रह्यो। रामकृष्णको नुवाकोटदेखिको यात्रा अनि हातको फूल दुवै निरर्थक भए। रामराज ठकुरीको फूल पनि काभ्रे नै फर्किने भयो। उनी झोलामा फूल हाल्दै मलिन अनुहार लिएर फर्किए। धेरैका फूल पूर्वराजाको प्रतीक्षामा नै ओइलाए।