PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

पत्रकारमैत्री बजेट नभएको विरोधमा उपत्यकाका तीन जिल्ला शाखाको विज्ञप्ति



पहिलोपोस्ट

काठमाडौँ : नेपाल पत्रकार महासंघको काठमाडौँ उपत्यकाका तीन जिल्ला शाखाले यस वर्षको बजेट पत्रकारमैत्री नभएको भन्दै दबाबमूलक कार्यक्रम गर्ने जनाउ दिएका छन्। 

संयुक्त विज्ञप्तिमा आफूहरुले राखेको तर पूरा नभएको मागहरुको फेहरिस्त राखिएको छ-

  • नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनको अंक वृद्धि,
  • पत्रकारद्वारा सञ्चालित साना लगानी र स्थानीय तहका सञ्चारमाध्यमको संरक्षणको लागि विशेष ध्यान दिन
  • सरकारी विज्ञापनको समानुपातिक वितरण प्रणाली तत्काल लागू गर्न
  • अशक्त एवं जेष्ठ पत्रकार सम्मान वृत्ति कोषको घोषणा र आवश्यक बजेट व्यवस्था गर्न
  • अहिले शुरु भएको दुर्घटना विमालाई उपचार बिमामा बदल्न 
  • पत्रकारको दक्षता अभिवृद्धिका लागि स्वतन्त्र, स्वायत्त र प्राज्ञिक स्तरबाट व्यावसायिकरूपमा सञ्चालन हुने गरी राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना
  • आमसञ्चार संग्रहालय तथा अध्ययन प्रतिष्ठान स्थापना गरी यसलाई प्रान्तस्तरसम्म विस्तार गर्ने गरी आवश्यक बजेटको व्यवस्था गर्न 

'तर यी कुनै पनि योजना सरकारले घोषणा गरेको बजेटमा प्राथमिकतामा पर्न सकेनन्', विज्ञप्तिमा भनिएको छ,  'सरकार पत्रकारमैत्री बन्न नसकिरहेको सन्दर्भमा सरकारलाई दबाबको सिर्जना गर्ने एक मात्र विकल्प कलमजीवीहरुले पनि रोज्नु पर्ने बाध्यता आउनु आफैमा दुःख लाग्दो पक्ष सिर्जना हुन पुगेको अवगत गराउन चाहन्छौं।' 

वक्तव्यमा सरकारी अस्पतालहरुमा पत्रकारहरुका लागि ५० प्रतिशत उपचार खर्चमा छुटको ब्यवस्था गर्नुलाई भने सकारात्मक काम भनिएको छ।

विज्ञप्तिमा ललितपुर जिल्ला शाखका अध्यक्ष लेखनाथ न्यौपाने, काठमाडौँ जिल्ला शाखाका सचिव रामकृष्ण अधिकारी र भक्तपुर जिल्ला शाखाका अध्यक्ष अमर भुजुको हस्ताक्षर छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell