PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अब तीनवटा मात्र कर्मचारीका संगठन, बाँकी थ्रेस होल्डको शिकार



रमेश वाग्ले

काठमाडौं : निजामती कर्मचारी ट्रेड युनियनको चुनावपछि केन्द्रमा तीन वटा संगठन मात्र सीमित भएका छन्। १० प्रतिशतको थ्रेस होल्ड पार गर्न नसकेर अन्य संगठनहरु प्रतिनिधित्वबिहीन भएपछि नेकपा एमाले निकटको निजामती कर्मचारी संगठन्, नेपाली कांग्रेस निकटको निजामती कर्मचारी युनियन र नेकपा माओवादी (केन्द्र) निकटको राष्ट्रिय कर्मचारी संगठन निजामतीको मात्र प्रतिनिधित्व सुनिश्चित भएको हो।
 
त्यही निजामती ट्रेड युनियनमा ५० प्रतिशत कर्मचारी युनियनले न्युनतम मत प्राप्त गर्न नसक्दा प्रतिनिधित्वविहीन भएका छन्। १० प्रतिशत थ्रेसहोल्ड पार गर्न नसक्दा राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी संगठन प्रतिनिधित्व विहीन भएका हुन्। त्यसमध्ये पनि राष्ट्रिय कर्मचारी संगठन भने जिल्लामा समेत प्रतिनिधित्वविहीन भएको भएको छ। बाँकी संगठन भने केन्द्रमा प्रतिनिधित्वविहीन भए पनि केही जिल्लामा प्रतिनिधित्व पाउन सफल भएका हुन्।
 
पहिलो भएको निजामती कर्मचारी संगठनले ४४.३९ दोस्रो भएको निजामती कर्मचारी युनियनले ३४.१६ प्रतिशत मत पाएका छन् भने तेस्रो भएको नेकपा माओवादी केन्द्र निकटको राष्ट्रिय कर्मचारी संगठन निजामतीले १०.५७ प्रतिशत मात्र मत पाएर केन्द्रमा आफ्नो प्रतिनिधित्व जोगाएको छ। 
 
१० प्रतिशत थ्रेसहोल्डको व्यवस्था गरिएको चुनावमा उसले ०.58 प्रतिशत मतले मात्र आफ्नो प्रतिनिधित्व जोगाउन सफल भएको हो। ऊ भन्दा तीन प्रतिशत कम अर्थात् ७.४८ प्रतिशत मत ल्याएको मधेसी निजामती कर्मचारी मञ्चले भने थ्रेसहोल्ड पार गर्न नसकेका कारण केन्द्रमा प्रतिनिधित्वको अवसर गुमाएको हो।
 
अन्य संगठनहरुले भने क्रमश: नेपाल राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले ३.२१ प्रतिशत मत प्राप्त गरेको थियो भने राष्ट्रिय कर्मचारी संगठनले भने ०.१९ प्रतिशत मत मात्र प्राप्त गर्दै प्रतिनिधित्व सुनिश्चित गर्न असफल भएको हो।
 
निजामती कर्मचारी आधिकारीक ट्रेड युनिएन निर्वाचन कार्यालयहरुले विभाग र जिल्लाको मतका आधारमा प्रतिनिधित्वमा परेका संगठनहरुले प्राप्त गरेका पदको विभाजनसहित नाम पठाउन संम्बन्धित संगठनहरुलाई पत्रचार गरिसकेको छ।
 
'हामीले जिल्ला र विभागमा प्राप्त मतका आधारमा पद विभाजन गरेर पत्राचार गरिसकेका छौं र वेबसाइटमा प्रकाशित पनि गरिसकेका छौं,' प्रवक्ता गिरीले भने, 'अब सम्बन्धित विभाग वा जिल्लाका युनियनहरुले मत प्राप्त गरेका आधारमा आफूले पाएको पाएको पदमा सम्बन्धित समितिको बहुमतको हस्ताक्षरबाट सिफारिस गर्नुपर्नेछ।' उनले ती संगठनहरुलाई सिफारिसका लागि सात दिनको समय दिइएको पनि जानकारी दिए। 
 
केन्द्रीय निर्वाचन समितिले केन्द्रको भने पद विभाजन गर्न सकेको छैन। 'मोडिफाइड सेन्टलग मेथोडका आधारमा प्राप्त मत र पदहरुलाई हेरेर विभाजगन गरिन्छ, त्यसका लागि विज्ञ टोलीको गठन समेत भइसकेको छ,' प्रवक्ता गिरीले भने।
 
निर्वाचनबाट प्राप्त मतअनुसार केन्द्रीय समितिमा पदको विभाजन गर्न तथ्यांक विभागका निर्देशकको नेतृत्वमा गठन भएको टोलीले प्रतिवेदन दिएपछि निर्वाचन समितिले संम्बन्धित संगठनहरुलाई मतका आधारमा प्राप्त पदका लागि प्रतिनिधित्व गर्ने उम्मेद्वार सिफारिस गर्न १५ दिनको म्यादसहित पत्राचार गर्ने छ। विज्ञ टोलीमा तथ्यांक विभागका निर्देशक देवेन्द्र रंजीतकार संयोजक छन् भने निर्वाचन आयोगका शाखा अधिकृत लक्ष्मीराम भुसाल र श्रम तथा रोजगार मन्त्रालयका शाखा अधिकृत अनुज गौतम सदस्य छन्।
 
निजामती कर्मचारी ट्रेड युनियन निर्वाचन नियमावलीले पहिलो हुने युनियनले अध्यक्ष र कोषाध्यक्ष दोस्रो हुनेले महासचिव तेस्रो हुनेले उपाध्यक्ष तथा चौथो हुनेले सचिव पद पाउने र त्यही मतका आधारमा सदस्यहरुको भागवण्डा पाउने व्यवस्था गरेको छ। तर केन्द्रमा चौथो मत प्राप्त गर्ने संगठनले थ्रेसहोल्डमा नै प्रवेश नपाएकाले सचिव र उपाध्यक्ष पद कसरी मिलाउने भन्ने अन्योल पैदा भएको छ।
 
'तीन वटा संगठनको मात्र प्रतिनिधित्व भयो पद विभाजनमा चौथोलाई पनि भाग लगाइएको छ,' निजामती ट्रेड युनियन केन्द्रीय निर्वाचन समितिका प्रवक्ता सन्तोषकुमार गिरीले भने, 'त्यसैले निर्वाचन नियमावलीको दफा ११७ को उपदफा १२ को ग अनुरुप निर्णय गरिने छ।'
 
निजामती ट्रेड युनियनको केन्द्रीय समितिमा ५ पदाधिकारी र १६ सदस्य सहित २१ सदस्य रहने छन् भने विभाग र जिल्लास्तरीय समितिमा पाँच पदाधिकारी र ६ सदस्यसहित ११ सदस्य रहन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell