
४५ औं संस्करणको कोपा अमेरिका सेन्टेनारियो अन्तर्गत सोमबार समूह सी का दुई खेल हुँदैछन्। सोमबार बिहान ५:४५ बजे मेक्सिको र उरुग्वेबीच खेल हुनेछ। उरुग्वे प्रतियोगिताको सर्वाधिक उपाधि जित्ने टोली हो। यता अहिलेसम्म कोपा अमेरिकाको उपाधि जित्न नसकेको मेक्सिको पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै अमेरिका पुगेको छ।
दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने तयारीमा रहनेछ। मेक्सिकोले कोपा अमेरिकाको वार्मअप खेलमा साविक विजेता चिलीलाई हराएको थियो। यससँगै जुवान कार्लो ओसोरिओको प्रशिक्षण मेक्सिकोले अपराजित खेल संख्या १९ पुर्याएको छ। यस्तै ओस्कार तावारेजको प्रशिक्षणमा रहेको उरुग्वे पछिल्लो समयम ठूला प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्दै आइरहेको छ।
यी दुई राष्ट्रबीच कोपा अमेरिकामा अहिलेसम्म ५ पटक प्रतिस्पर्धा भएको छ जसमा मेक्सिकोले दुई खेलमा जित हात पर्दा उरुग्वेले १ खेलमा मात्र जित हात पारेको थियो भने दुई खेल बराबरीमै सकिएको थियो। पछिल्लो पटक सन् २०११ मा भएको भेटमा भने उरुग्वेले मेक्सिकोलाई १–० ले पराजित गरेको थियो।
लुइस सुवारेज, एडिनसन काभानी, डिएगो गोडिन, जोस गिमिनेज जस्ता स्टार भएको उरुग्वेलाई प्रतियोगिताकै दाबेदार मानिएको छ भने जाभिएर हर्नान्डेज मेक्सिकोका मुख्य खेलाडीका रुपमा रहेका छन्।
मेक्सिको र उरुग्वेबीचको खेल अरिजोनास्थित फोएनिस्क स्टेडियममा हुनेछ।
यस्तै सोमबार बिहानै समूह बी अन्तर्गत नै भेनेजुएला र जमैकाबीचको खेल पनि हुनेछ। लेस्टर सिटीलाई पहिलो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जिताएका वेस मोर्गानको नेतृत्वमा रहेको जमैकन टोली भेनेजुएला विरुद्ध सुखद् सुरुवात गर्ने दाउमा छ।
जमैकाको कोपा अमेरिकामा यो दोस्रो सहभागिता हो भने भेनेजुएलासँग पहिलो पटक खेल्न लागेको हो। सन् २०१५ मा पहिलो पटक कोपा खेलेको जमैका समूह चरण अर्जेन्टिना, उरुग्वे र पाराग्वेसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको थियो। भेनेजुएला भने सन् २०११ को संस्करणमा चौथो भएको थियो। त्यो नै उसको सबैभन्दा राम्रो प्रदर्शन हो।
जमैका र भेनेजुएलाबिचको खेल सोमबार बिहान २:४५ बजे सिकागोस्थित सोल्जर फिल्ड स्टेडियममा हुनेछ।