PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

एमालेले एकै दिन दुई वटा वक्तव्य जारी गरी भत्सर्ना गर्नुपर्ने के समाचार छापियो पत्रिकामा?



पहिलोपोस्ट

एमालेले एकै दिन दुई वटा वक्तव्य जारी गरी भत्सर्ना गर्नुपर्ने के समाचार छापियो पत्रिकामा?

काठमाडौँ : आइतबार एमालेबाट दुई वटा वक्तव्य मिडियामा आयो। एउटा वक्तव्य सचिव प्रदीपकुमार ज्ञवालीको थियो भने अर्को एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईको थियो। 

दुवै विज्ञप्तिले सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेको छ तर कुन समाचार भनेर स्पष्ट पारिएको छैन। 

ज्ञवालीको विज्ञप्तिमा 'केही सञ्चार माध्यममा अमेरिका र भारत सरकार परिवर्तनमा लागेको भन्ने प्रधानमन्त्री ओलीको धारणा थियो भन्ने समाचार मित्रराष्ट्रसँग नेपालको सम्बन्धलाई बिगार्ने सुनियोजित उद्देश्यले प्रेरित देखिएको' उल्लेख छ। 

त्यसैगरी भट्टराईले जारी गरेको विज्ञप्तिमा 'प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र अमेरिकाका सम्बन्धमा भन्नुभएको भनी कतिपय सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आजको पार्टीको स्थायी समिति बैठकले भत्सर्ना गरेको' उल्लेख छ। 

दुवै विज्ञप्तिमा प्रधानमन्त्री ओलीले त्यस्तो अभिव्यक्ति नदिएको जिकिर गरिएको छ। भट्टराईको विज्ञप्तिमा भनिएको छ, “देश अत्यन्त संवेदनशील अवस्थामा रहेका बेला निराधार कुरा प्रकाशित गरी अन्तर्राष्ट्रिय जगतमा समेत यस्तो भ्रम सिर्जना गर्ने यस्तो नियोजित र दुराशयपूर्ण कार्यको यो बैठक भत्र्सना गर्दछ ।”

खासमा के समाचार छापिएको थियो त सञ्चार माध्यममा?

आइतबारको अन्नपूर्ण पोस्टको मुख्य समाचारमा बालकुमार नेपालको बाइलाइनमा 'भारत-अमेरिका एमालेविरुद्ध देखिए : ओली' शीर्षकमा समाचार छापिएको छ। यही समाचार अरु मिडियाले पनि साभार गरेका थिए। 

समाचारमा स्रोतलाई उल्लेख गर्दै राखिएका दुई अनुच्छेद यस्ता छन्-

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकार र एमालेविरुद्ध भारत र अमेरिका रहेको खुलासा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी समिति बैठकमा बोल्दै ओलीले यस्तो खुलासा गरेका हुन्।

उनले यस्तो अवस्थामा पार्टीको आन्तरिक एकता र देशमा रहेका सबै राजनीतिक दलहरूलाई समेत साथ लिएर अगाडि बढ्नुपर्नेमा जोड दिएको स्रोतले बतायो। 'अहिले राष्ट्रियता संकटमा छ, भारत र अमेरिकासमेत एमाले र सरकारविरुद्ध देखा पर्दैछन्। यस्तो अवस्थामा पार्टीको आन्तरिक एकतालाई मजबुत बनाएर सहमतिसाथ अगाडि बढ्नुपर्छ। यसलाई असर पार्ने गरी कमरेडहरूबाट आएका भनाइले हामीलाई बालियो बनाउँदैन,' ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो।बैठकले समेत यसलाई घुमाउरो पाराले पुष्टि गर्ने गरी औपचारिक निर्णय गरेको जारी विज्ञप्तिबाट प्रस्ट हुन्छ। बैठकले देशको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै दलहरूलाई आग्रह गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell