PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​सुआरेजबिनाको उरुग्वे मेक्सिकोसँग पराजित



पहिलोपोस्ट

​सुआरेजबिनाको उरुग्वे मेक्सिकोसँग पराजित

कोपा अमेरिका सेन्टेनारिया अन्तर्गत समूह सीको खेलमा उरुग्वेलाई मेक्सिकोले ३–१ ले पराजित गरेको छ। अमेरिकाको अरिजोनास्थित फोएनिक्स स्टेडियममा भएको खेलमा मेक्सिकोले अन्तिम ५ मिनेटमा दुई गोल गरेर खेल आफ्नो पक्षमा पार्‍यो।

खेलको चौथो मिनेटमा उरुग्वेका अल्भारो परेइराले आत्मघाती गोल गरेपछि मेक्सिकोले अग्रता लिएको थियो। पहिलो हाफको अन्त्यतिर उरुग्वेलाई अर्को झड्का लाग्यो।

माटिएस भेसिनो दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि उरुग्वे दश खेलाडीमा सीमित भयो। ७३ औं मिनेटमा जोस गोर्डाडोले दोहोरो पहेँलो कार्ड खाएपछि मेक्सिको पनि दश खेलाडीमा सीमित भयो।

स्ट्राइकर लुइस सुआरेज बिना मैदान उत्रिएको उरुग्वेको कप्तान डिएगो गोडिनले ७४ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। दुवै टीम दश खेलाडीमा समेटिँदा खेल बराबरीतर्फ लम्किरहेको थियो तर अन्तिम ५ मिनेटमा मेक्सिकोले दुई गोल थप्यो।

८५ औं मिनेटमा कप्तान राफेल मार्केजले गोल गर्दै मेक्सिकोलाई २–१ को अग्रता दिलाए। अन्तिम समयमा हेक्टर हेरेराले गोल गर्दै मेक्सिकोको ३–१ को जित सुनिश्चित पारे।

जितसँगै मेक्सिकोले समूह सी मा ३ अंक जोडेको छ र अंक तालिकाको शीर्ष स्थानमा छ। पराजित उरुग्वे भने अन्तिम स्थानमा छ। समूह चरणको दोस्रो खेलमा मेक्सिकोले अब जमैका तथा उरुग्वेले भेनेजुएलासँग खेल्नेछ। अघिल्लो चरण प्रवेशका लागि उरुग्वेले बाँकी दुवै खेलमा दबाब बढ्नेछ।

यस्तै सोमबारै भएको पहिलो खेलमा भेनेजुएलाले दश खेलाडीमा समेटिएको जमाइकालाई पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ। सिकोगोस्थित सोल्जर फिल्ड स्टेडियममा भएको खेलमा भेनेजुएलालो जमैकालाई १–० ले पराजित गर्‍यो।

भेनेजुएलाको जितमा १५ औं मिनेटमा जोसेफ मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो। २४ औं मिनेटमा जमाइकाका रोडोफ अस्टिन रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। तर त्यसको फाइदा भेनेजुएलाले उठाउन सकेन र १–० अन्तरको जित हात पार्‍यो। 

फोटो: एपी/रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell