
विश्व नम्वर एक सर्वियन खेलाडी नोभाक जोकोभिचले चारवटै ग्राण्डस्लामको उपाधि जित्दै क्यारियर ग्राण्डस्लाम पुरा गरेका छन्। पहिलो पटक फ्रेन्च ओपन टेनिसको उपाधि जित्दै जोकोभिचले यस्तो सफलता हात पारेका हुन्।
यस्तो उपलब्धी हात पार्ने जोकोभिच आठौं खेलाडी बनेका छन्। आइतबार राती भएको फाइनल खेलमा विश्व नम्बर एक जोकोभिचले ब्रिटिस खेलाडी एण्डी मुरेलाई ३–१ को सेटमा पराजित गर्दै सन् २०१६ को दोस्रो उपाधि समेत जितेका छन्।
दोस्रो वरियताका मुरेले पहिलो सेट ६–३ ले आफ्नो पक्षमा पारेपनि त्यसलाई निरन्तरता दिन नसक्दा जोकोभिच खेलमा फर्कन सफल भए। जोकोभिचले त्यसपछिका सेट ६–१, ६–२ र ६–४ ले जिते।
महिलातर्फको उपाधि भने गार्विन मुगुरुजाले जितिन्। करियरकै पहिलो ग्राण्डस्लाम उपाधि जित्ने क्रममा उनले विश्व नम्वर एक अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पराजित गरेकी हुन्। फ्रेन्च ओपनको उपाधिसँगै जोकोभिचको ग्राण्डस्लाम उपाधि संख्या १२ पुगेको छ।
उनले अष्ट्रेलियन ओपन ६ पटक, विम्वलडन ओपन ३ पटक र युएस ओपन २ पटक जितिसकेका छन्। यस्तै जोकोभिच लगातार चार ग्राण्डस्लामको उपाधि जित्ने तेस्रो खेलाडी समेत बनेका छन्। जोकोभिचले गत वर्ष विम्वलडन र युएस ओपनको उपाधि जितेका थिए।
यसअघि सन् १९३८ मा डन बज तथा १९६२ र १९६९ मा रोड लेभर उक्त सफलता हासिल गरेका थिए। डन बजले आफ्नो समयमा लगातार ६ ग्राण्डस्लाम जितेका थिए।
ग्राण्डस्लाम टेनिसको सर्वाधिक उपाधि भने स्विस रोजर फेडेररको नाममा छ। उनले १७ पटक ग्राण्डस्लाम उपाधि जितेका छन्। त्यसपछि पिट साप्रास र राफेल नाडलले समान १४ पटक उपाधि जितेका छन्।