PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

एभ्री लास्ट चाइल्ड अभियान सुरु



पहिलोपोस्ट

एभ्री लास्ट चाइल्ड अभियान सुरु

काठमाडौं : सेभ द चिल्ड्रेनले नेपाली बालिकाहरुको लागि 'एभ्री लास्ट चाइल्ड' नामक विश्वव्यापी अभियान सुरु गरेको छ। यो अभियान बालिकाहरुको शिक्षा, स्वास्थ्य र संरक्षणको अधिकारको उपभोग गर्न सहयोगी बन्ने संस्थाको दावी छ। 

दुई वर्ष लामो यस अभियानको पहिलो चरण नेपालका सप्तरी, कपिलवस्तु, अछाम बाजुरामा केन्द्रित हुनेछ। सेभ द चिल्ड्रेनले १३ देखि १९ वर्ष उमेर समूहका बालिकाहरुलाई विद्यालयमा नियमित बनाइराख्न, गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउन र घर/समाज भित्र संरक्षण दिलाउन विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ। 

सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक डेलाइला बोर्जाका अनुसार किशोरीहरुलाई विद्यालयमा नियमित बनाउन, उनीहरुको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र सुरक्षित राख्न राष्ट्रिय नीतिहरु बनोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो।

निर्देशक बोर्जाले भनिन् ,’बालबालिकाको हित विरुद्ध हुने सामाजिक र संस्कृतिक प्रचलन घटाउने व्यक्तिगत तहबाट पनि यो अभियान मार्फत आह्वान गर्न चाहन्छौँ।‘

यस विषयमा जानकारी दिन शनिबार आयोजित कार्यक्रममा कलाकार सीताराम कट्टेल, समृद्दि राई, बिनिता बराल, साहित्यकार नारायण ढकाल, सुबिन भट्टराई लगायतले नेपालका किशोरीहरुको हितमा योगदान गर्ने प्रतिज्ञा गरे। कार्यक्रम अन्तर्गत चिया चौतारी नामको सेसनमा करिव १५ बालबालिकाले बालिका तथा युवतीहरुको स्वास्थ्य, शिक्षा र संरक्षणबारे अन्तर्क्रिया गरे। 

सेभ द चिल्ड्रेनको यो विश्वव्यापी अभियानले ३ लाख बालबालिकाको मृत्यु रोक्ने र ५ करोड बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने प्रतिवद्दता गरेको छ। साथै यसै अभियान मार्फत सेभ द चिल्ड्रेन बाल अधिकार पाउनबाट बंचित सबै बालबालिकासम्म पुगेर उनीहरुको हक अधिकारको लागि काम गर्ने बताइयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell