
नेमार ब्राजिलको कप्तान हुन् र कोपा अमेरिकामा नेमारले खेल्छन् भन्ने फ्यानहरुलाई लागेको थियो। तर बिडम्बना कोपा अमेरिका खेल्ने ब्राजिलियन टोलीमा उनी परेनन्। नेमार पूर्ण रुपमा फिट छन् र फर्ममा पनि छन्।
गत सिजन स्पेनी क्लब बार्सिलोनालाई ला लिगा र कोपा डेल रे को उपाधि जिताउन नेमारको पनि महत्वपूर्ण भूमिका रहेको थियो। तर अहिले तेही बार्सिलोनाका कारण नेमार कोपा अमेरिका खेल्न असमर्थ भए।
आखिर किन त? कारण यस्तो छ – कोपा अमेरिका पछि ब्राजिलले आगामी अगष्टमा ओलम्पिक आयोजना गर्दैछ। जसमा फुटबल पनि समावेश हुन्छ। बार्सिलोनाले ब्राजिलियन फुटबल संघलाई यी दुईमध्ये एक प्रतियोगितामा मात्र नेमारलाई खेल्न दिने प्रस्ताव गर्यो। यसै अनुसार नै ब्राजिलले नेमारलाई कोपामा भन्दा ओलम्पिकमा महत्व दियो र कोपा अमेरिका खेल्ने टीममा सहभागी गराएन।
किनकी ब्राजिलले घरेलु भुमिमै हुने ओलम्पिकमा फुटलमा स्वर्ण जित्न चाहन्छ, जुन ब्राजिलले अहिलेसम्म जित्न सकेको छैन। त्यसैले यसका लागि ब्राजिलले नेमारको विकल्प देखेन। तर कोपा अमेरिकामा ब्राजिललाई नेमारको अभाव खट्किएको छ। आइतबार भएको खेलमा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो।