काठमाडौ : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले विदेशी शक्तिले नेपाली कांग्रेससहित दलहरुलाई प्रयोग गर्न प्रयत्न गरिरहेको खुलासा गरेका छन्। नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं ४ र बुटवल नगर समितिले गरेको कार्यकर्ता भेलामा नेता कोइरालाले कांग्रेससहित हरेक पार्टीका नेता विशेषलाई भेटेर विदेशीले प्रधानमन्त्री पद बाँडिरहेको बताए।
'अहिले केही विदेशी शक्तिहरू खुलेर हरेक पार्टीका व्यक्ति विशेषलाई प्रधानमन्त्री बनाउँछौं भनेर हिड्न थालेका छन्,' कोइरालाले भने, 'नेपाली कांग्रेस जस्तोसुकै परिस्थिति आए पनि कुनै विदेशी शक्तिको गोटी बनेर सत्तामा जाँदैन।' उनले नेपालका वामपन्थी दलहरुको भने विदेशीसँग साँठगाँठ रहेको बताए।
'अहिले नेपालका वामपन्थी र विदेशी शक्तिको घाँटी जोडिएकै कारण मुलुक बर्बादीको बाटोमा प्रवेश गरेको छ,' कोइरालले भने, 'त्यसैले कांग्रेस आफ्नै बलबुताले सरकार परिवर्तन गर्ने कुरामा लागिरहेको छ।'
कम्युनिष्टहरुले कांग्रेस सरकार परिवर्तनको खेलमा लागेको बताउँदै भ्रम छरेको भन्दै भ्रममा नपर्न कार्यकर्तालाई सुझाव दिए। उनले यो सरकार परिवर्तनको अपरिहार्यता भए पनि विदेशीले नै टिकाइदिएको बताए।
सरकार परिवर्तन अत्यावश्यक भएको भन्दै प्रचण्डले नै सरकार परिवर्तनको प्रस्ताव ल्याउनुभएको थियो,' उनले भने, 'तर विदेशीको आकाशवाणी भएपछि एकाएक प्रचण्डले बाटो परिवर्तन गरेकाले नयाँ सरकार गठन हुन नसकेको हो।'
उनले विदेशी शक्तिकै कारण सरकार परिवर्तमा लागेका पुष्पकमल दाहाल त्यही सरकारमा बस्न तयार भएकाले केही दिन सरकारको आयु लम्बिएको बताए।